काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने औंल्याएका छन्।
अध्यक्ष ढकालले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पहुँचले मात्र सामाजिक न्यायको अनुभूति हुने भएकाले निजी क्षेत्र यसप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।
विश्व सामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
‘सामाजिक न्यायप्रति बढ्दो चासो र आवश्यकता सम्बन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको छ’, उनले भने।
कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारे पनि चर्चा गरे। उनले अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गीय, जातीय विविधतायुक्त देशमा सामाजिक न्यायको प्रवर्द्धन र सुनिश्चितता चूनौतीपूर्ण रहेको जानकारी दिए।
नेपालमा पछिल्ला वर्षमा सामाजिक न्यायका लागि थुप्रै काम भएको उनको भनाइ छ। ‘सामाजिक न्याय प्रवर्द्धनका लागि सुरु भएका विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको र राज्यसँग सहकार्य गर्न प्रतिबद्ध छ’, उनले भने।
अध्यक्ष ढकालले सामाजिक न्यायका लागि नीतिगत सुधार, कानुन निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको उल्लेख गरे। उनले कार्यान्वयन पक्षमा देखिएका कमी कमजोरी हटाउन सकिए सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने धारणा व्यक्त गरेको महासंघले जनाएको छ।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्रले सामाजिक न्याय प्रवर्द्धन गर्ने कार्यलाई पनि जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए।
‘रोजगारदाता र श्रमिकबीच सहकार्य र समझदारीबिना श्रम सम्बन्ध दिगो हुन सक्दैन। दिगो श्रम सम्बन्ध नभई सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुँदा सहकार्य र संवादलाई संस्थागत र बलियो बनाउन संयुक्त रुपमा काम गर्ने उद्देश्यले हालै एफएनसीसीआई÷जेटीयूसीसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ’, उनले भने।