काठमाडौं । सडक विभागले ‘रोड कटिङ’ को स्वीकृती नदिँदा राजधानीका मुख्य केन्द्र रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्रलाई भूमिगत (अन्डरग्राउन्ड) को काम अघि बढाउन समस्या परेको छ ।
पुस १ गतेदेखि नै दुबै वितरण केन्द्र क्षेत्रमा पर्ने ठाउँमा पहिलो चरणमा तार अन्डरग्राउन्डको काम सुरु गर्ने भनेपनि सडक विभागले सडक प्रयोगका लागि अनुमति नदिँदा तार भूमिगत गर्ने काम अघि बढ्न नसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।
प्राधिकरणले स्वीकृतीका लागि सम्पूर्ण आवेदनहरु सडक विभागमा पठाए पनि स्वीकृती नभएकाले तार भूमिगतको काम सुरु गर्न नसकिएको बताए ।
उनले तार भूमिगत गर्ने काम विभागबाट स्वीकृती आए लगत्तै अघि बढ्ने बताए । उनले १५ देखि १ महिना भित्र काम सुरु गर्न सकिने बताए । ‘सडक काट्नका लागि सडक विभागको अनुमति नचल्दासम्म काम सुरु गर्न सकिएन् ।
हामीले यसअघि नै सबै आवेदनहरु पेश गरिसकेको छौं । तर, स्वीकृती पाएका छैनौं’ उनले भने, ‘विभागले स्वीकृती दिए लगत्तै काम अघि बढ्छ । काम सुरु हुन कम्तीमा १५ दिनदेखि १ महिना लाग्न सक्छ ।’
दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन् । विद्युत वितरण प्रणालीलाई अन्डरग्राउन्ड गर्न सर्भे भइसकेको छ ।
विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ ।
अन्डरग्राउन्ड प्रणालीका लागि सबैजसो उपकरण तथा मेसिनहरु आयात भइसकेको प्राधिकरणका प्रवत्ता अधिकारी बताउछन । रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनको क्षेत्र पनि हो । यसले विद्युत् वितरण प्रणाली मात्र नभएर विभिन्न सेवाप्रदायक तथा कम्युनिकेसनका तारहरु एउटै पाइपबाट अन्डरग्राउन्ड हुनेछ ।
‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ ठाउँमा प्वाल पारेर तार अन्डरग्राउन्ड गरिनेछ । जसका कारण सबै सडक खन्नु पर्दैन । दुवै केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्न भारतको केइआइ कम्पनीले ठेक्का पाएको छ ।
विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नु पर्दैन ।
यस्तै विद्युत प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई बर्ष अर्थात २०७८ मंसिरसम्म अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । अरु केन्द्रमा पनि अन्डरग्राउन्ड गर्नका लागि बोलपत्र आह्वान भई मुल्यांकन भइरहेको छ ।