काभ्रे। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा फागुन ४ देखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ।
बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए।
प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए। महोत्वस अवलोकन गर्न विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उनले बताए।
किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उनले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरे।
‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्’, उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई दबाब दिनेछ।’
जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्य रूपमा सम्पन्न भएको बताए।
महोत्सव किसानको समस्या र उनीहरुका उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी थलोको रूपमा विकास भएको उनको भनाइ छ। महोत्सवमा दुई सय वटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएका थिए।–रासस