काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको विज्ञप्ति निकालेको छ। राष्ट्र बैंकले आज विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण सुरक्षित रहेकाले ढुक्कसँग कारोबार गर्न आग्रह गरेको हो।
बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको, नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न कानुनले स्पष्ट जिम्मेवारी आफूलाई सुम्पिएको राष्ट्र बैंकले प्रस्ट पारेको छ।
सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्याससमेतका आधारमा केन्द्रीय बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको अवस्था, कर्जा निक्षेप अनुपात अवस्था एवं तरलता अवस्थासम्बन्धी परिसूचक राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको बताइएको छ।
‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायत अन्य विषयमा कुनै समस्या देखिए केन्द्रीय बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले उनीहरुलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’, विज्ञप्तिमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंक विज्ञप्तिमार्फत आग्रह गरेको छ।