काठमाडौं। दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। आजदेखि सुरु भएको थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद् मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ निर्वाचित भएका हुन्।
जापानले उपाध्यक्ष श्रेष्ठलाई मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो। उनलाई बंगलादेश र श्रीलंकाली प्रतिनिधिले समर्थन गरेका थिए।
उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपछि कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद दिएको आयोगले जनाएको छ।
मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेन्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षाका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदै छ। चार दिनसम्म चल्ने छलफल दिगो विकास लक्ष्य १, २, १३, १६ र १७ मा केन्द्रित रहने आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए।
छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाईमा हुने संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुनेछ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा ५३ सदस्य राष्ट्र तथा ९ वटा अन्य संस्था आबद्ध छन्। मञ्चमा हुने छलफलमा सदस्य राष्ट्रका सरकारका प्रतिनिधिका अतिरिक्त नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, युवा, बालबालिका, किसानलगायत बहुसरोकारवाला सहभागी छन्।