काठमाडौं। अहिलेको समयमा यो एउटा कथाजस्तो लाग्न सक्छ। चीनको एउटा गरिब परिवारमा जन्मिएका एक जना बालक संसारकै अग्रणी विद्युतीय गाडी बिवाईडीका संस्थापक बन्न पुगे। ती व्यक्ति हुन् बिवाईडीका संस्थापक वाङ चुआनफु।
बिवाइडीका गाडीहरू अहिले ६० भन्दा बढी देशहरूमा बिक्री भइरहेका छन्। कम्पनीले केही दिन अघिमात्रै विश्वकै नम्बर एक रहेको विद्युतीय सवारी टेस्लालाई उछिनेको छ। गतवर्ष बिवाईडीले टेस्लाकोभन्दा ४२ हजार बढी कार बेचेको थियो।
वाङ चुआनफुको कथाले हामीलाई बिवाईडीको करिब ३० वर्षको इतिहासमा उनको रणनीतिक सोच, दृष्टिबारे ज्ञान दिन्छ।
सन् १९६६ मा पूर्वी चीनको कृषि प्रधान आन्हुइ प्रान्तमा जन्मिएका चुआनफुका आमाबुवा धान किसान थिए। चुआनफु सानै हुँदा उनका आमाबुबाको निधन भएपछि उनलाई आफ्नो दाइले हुर्काए। उनी पढाईमा सानैदेखि अब्बल थिए। हाइस्कुल पासपछि उनले सेन्ट्रल साउथ युनिभर्सिटीमा केमिस्ट्री पढ्नका लागि छात्रवृत्ति पाए, जुन त्यसबेला सेन्ट्रल साउथ इन्डस्ट्रियल युनिभर्सिटी भनेर चिनिन्थ्यो।
त्यसपछि उनले बेइजिङ नन–फेरस मेटल जनरल रिसर्च इन्स्टिच्युटबाट ब्याट्री टेक्नोलोजीमा मास्टर डिग्री गरे। जुन अहिले ‘जिआरआईएनएम’ समूह भनेर चिनिन्छ। अध्यनपछि चुआनफु सरकारी अनुसन्धानकर्ताको रूपमा सेन्जेन पुगे। केही समय सरकारी काम गरेका उनले २९ वर्षको उमेरमा भाइ लु सियांग्याङ सँग मिलेर मोबाइलको ब्याट्री उत्पादन गर्ने कम्पनी स्थापना गरे र यसको नाम बिवाईडी राखे। चुआनफुले एक अन्तर्वार्तामा भनेका थिए ‘यो नाम त्यतिबेला कुनै कुराको संकेतका लागि राखिएको थिएन तर अहिले यो नामले दुईवटा उपयुक्त पाएको छः ‘बुल्ट योर ड्रिम’ र ‘ब्रिङ्ग योर डलर’।’
वालस्ट्रिट जर्नलका अनुसार उनका भाईले कम्पनीका लागि ३ लाख डलर लगानी गरे। ४ महिनाभित्र उनीहरूले कार्यालय भवन र कारखाना बनाए। बिवाईडीको सुरुवातदेखि नै एउटा रणनीति थियो ‘सफल हुने उत्पादन छान्ने र मूल्य सकेसम्म कम राख्ने’।
उनीहरूको उद्देश्य टोयोटा, सान्यो, सोनीको जस्तै ब्याट्री उत्पादन गर्ने थियो। तर मूल्य भने जापानी ब्याट्रीभन्दा कम राख्ने रणनीति थियो।
चुआनफुले उत्पादनका लागि महंगो मेसिनको सट्टा सस्ता मजदुरलाई करारमा राखे। जसले उनको उत्पादन लागत न्यून हुन गयो।
२००२ सम्म, बिवाईडीले रिचार्जेबल ब्याट्री बजारमा प्रभुत्व जमायो। मोटोरोला, नोकिया, सोनी एरिक्सन र सामसङजस्ता ठूला कम्पनीलाई बिवाईडीले ब्याट्री बेच्न थाल्यो। उनको व्यापार यति बढ्यो कि उनले फोर्ब्सको चिनियाँ धनाढ्यहरूको सूचीमा स्थान बनाउन सफल भए। उनको नजर ब्याट्रीमा मात्र सीमित थिएन। अर्को वर्ष चुआनफुले असफल कार निर्माता सिन्चुआन अटोमोबाइल किने र यसलाई बिवाईडी अटो नामकरण गरे। सन् २००५ मा बिवाईडी अटोले पहिलो पटक ‘एफ३’ मोडलको सेडान गाडी बजारमा ल्यायो।
यो हेर्दा टोयोटा कोरोला जस्तो भए पनि मूल्य भने निकै सस्तो थियो। एफ३ चीनमा सबैभन्दा धेरै बिक्री हुने सेडान बन्यो। सन् २००० को दशकको उत्तरार्धमा, वारेन बफेटले चीनमा कारहरूको बढ्दो मागलाई पूँजीकरण गर्न खोजिरहेका थिए। त्यही बेलामा उनलाई आफ्ना साझेदार चार्ली मुंगेरले बिवाईडी र चुआनफुबारे बताए। ‘यो मान्छे थोमस एडिसन र ज्याक वेल्चको संयोजन हो। प्राविधिक समस्याहरू समाधान गर्नमा एडिसनजस्तै, र आफूले गर्नुपर्ने कामहरू सम्पन्न गर्न वेल्चजस्तै। मैले यस्तो मान्छे कहिल्यै देखेको छैन,’ मुंगेरल बफेटलाई भनेका थिए। त्यसपछि बफेटको ध्यान बिवाईडीमा गयो। लगानीकर्ताको भ्रमणको क्रममा, चुआनफुले उनीहरूलाई प्रभाव पार्न र आफ्नो ब्याट्रीहरू कत्तिको सफा छ भनेर प्रमाणित गर्न ब्याट्री फ्लुइडको एक चुस्की लिए।
एक टेलिभिजन कार्यक्रममा मस्कलाई पत्रकारले बिवाईडी प्रतिस्पर्धी हुनसक्छ भन्ने प्रश्नमा मस्कले हाँस्दै उनीहरूसगँ टेस्लाको जस्तो उत्पादन नै नभएको बताएका थिए। त्यसको ठिक १२ वर्षपछि टेस्लालाई उछिनेर बिवाईडी संसारको सबैभन्दा लोकप्रिय इभी ब्राण्ड बनेको छ।
सन् २००८ मा बफेटको कम्पनी वर्कशायर ह्याथवेले बिवाईडीमा २ सय ३२ मिलियन डलर लगानी गर्यो। त्यसपछि बिवाईडीमा अन्य लगानीकर्ताको पनि ध्यान जान थाल्यो र बिवाईडीले रफ्तार लिन थाल्यो। सन् २००९ मा उनको सम्पत्ति ५.१ बिलियन पुग्यो र उनी फोर्ब्स चाइनाको सूचीको अग्रस्थानमा पुगे। सफलता चुमे पनि हालसम्म उनी विश्वका धनाढ्य एलन मस्क र ज्याकमाभन्दा फरक, आफूलाई लाइमलाइटबाट टाढै राख्छन्। बीचमा केही समय बिवाईडीको बिक्रीमा ह्रास पनि आयो तर उनले फेरि त्यसलाई लयमा ल्याउन सफल भए।
हाल बिवाईडी ठूला विद्युतीय बसमा विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी पनि हो। संसारभर ५० हजारभन्दा धेरै बस र अमेरिकाको सडकमा गुडिरहेका १ हजारभन्दा धेरै विद्युतीय बसमा बिवाईडीको ब्याट्री प्रयोग भएका छन्। सन् २००९ देखि चीन सरकारको सहुलियतका कारण पनि बिवाईडीलगायत चिनियाँ अटो निमार्ताहरूले धेरै लाभ उठाउन पाए। 'ब्लुमबर्ग अर्बपति इन्डेक्स'का अनुसार चुआनफुको कुल सम्पत्ति १४.८ बिलियन डलर छ। सोअनुसार उनी धनाढ्यको सूचीमा १३२औं स्थानमा छन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार कोरोना महामारीको समयमा मास्क उत्पादन गर्न थाल्ने पहिलो चिनियाँ व्यवसायीहरूमध्ये चुआनफु एक महिनाभित्र विश्वकै सबैभन्दा ठूलो उत्पादक बनेका थिए। सन् २०११ मा एलन मस्कले टेस्ला सार्वजनिक गर्दा बिवाईडीलाई प्रतिस्पर्धी नै मानेका थिएनन्। एक टेलिभिजन कार्यक्रममा मस्कलाई पत्रकारले बिवाईडी प्रतिस्पर्धी हुनसक्छ भन्ने प्रश्नमा मस्कले हाँस्दै उनीहरूसगँ टेस्लाको जस्तो उत्पादन नै नभएको बताएका थिए। त्यसको ठिक १२ वर्षपछि टेस्लालाई उछिनेर बिवाईडी संसारको सबैभन्दा लोकप्रिय इभी ब्राण्ड बनेको छ। अब भने मस्क बिवाईडीको नाम सुनेर पक्कै हाँस्ने छैनन्। -एजेन्सी