काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र चलायमान हुँदै गएको दाबी गरेका छन्। मंगलबार ललितपुरको गोदावरी कांग्रेस महासमिति बैठकमा पार्टीको आर्थिक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रका मुख्य अवयव पर्यटन, घरजग्गा, सेयर बजार, निर्माण र सेवालगायतका क्षेत्रमा सुधार हुँदै गएको बताएका हुन्।
पार्टी प्रवक्तासमेत रहेका मन्त्री महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि अर्थतन्त्रबारेका सूचक समेटेर तयार पारेको प्रतिवेदन महासमिति बैठकमा पेस गरेका हुन्।
अर्थमन्त्रीले महतले महासमिति भेलामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरिएको छ। महासमिति बैठकमा उनले पेस गरेको प्रतिवेदनअनुसार अर्थ मन्त्रालय सम्हालेपछि खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतमा सुधार भएको जिकिर गरिएको छ।
‘नेपाली कांग्रेसका तर्फबाट वर्तमान गठबन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्। मैले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषय कार्यान्वयनका क्रममा छन्,’ महतले गत वर्ष २०७९ चैत १७ मा अर्थमन्त्रीको कार्यभार सम्हालेका महतले भनेका छन्।
उनले पर्यटक आगमन, होटल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए। यस्तै, विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केही चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दो क्रममा रहेको उनको प्रतिवेदनमा उल्लेख छ।
‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील छौं। हाल बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकाले लगानीको लागत कम भई उत्पादन वृद्धि हुने अपेक्षा छ। जलविद्युत्, पर्यटन, कृषिमा व्यवासायीकरण र सूचना प्रविधि उद्योगलाई संभावनाका क्षेत्रको रुपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकाले दूरदराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुनेछन्,’ महतको आर्थिक प्रतिवेदनमा भनिएको छ।
कांग्रेस बैठकमा आज पाँच वटा प्रतिवेदन पेस गरिएका छन्। आजको बैठकमा पाँचवटा प्रतिवेदन पेस गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार बैठकमा उपसभापति पूर्णबहादुर खड्काबाट प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस गरे।
पार्टी प्रवक्ता एवं अर्थमन्त्री महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गरेको कांग्रेस सञ्चार तथा प्रचार विभाग संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।
कांग्रेसको आम्दानी साढे ३ करोड , साढे ८ करोड खर्च
सत्तारुढ कांग्रेस घाटामा चलेको प्रतिवेदन सार्वजनिक भएको छ। ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेस महासमिति बैठकको बन्दसत्रमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेबाट प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको हो।
कांग्रेसले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी गर्दा खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ थियो। कांग्रेसले चन्दाबापत २०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार उठाएको थियो। तर, आर्थिक वर्ष २०७९/८० मा चन्दा सहयोग घटेर २ करोड ६५ लाख ६४ हजार ५७७ मा झरेको छ।
कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेबी बुझाउनेको संख्यामा ह्वात्तै कमी आएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षणअनुसार कांग्रेसमा सदस्यता, लेबी र नवीकरण शुल्क बुझाउनेको संख्यामा ठूलो गिरावट आएको हो। यद्यपि कति संख्याले लेबी बुझाएनन् र क–कसले चन्दा दिए भन्नेबारे बोलिएको छैन।
घाटामा रहेको कांग्रेसमा पछिल्लो समय चन्दा पनि घटेको छ। प्रतिवेदनअनुसार ०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार सहयोग भएकामा पछिल्लो आवमा २ करोड ६५ लाख ६४ हजार ५७७ मात्रै चन्दा संकलन भएको छ।
कांग्रेसले आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा क्रियाशील सदस्यता नवीकरण, लेबी शुल्क र चन्दा सहयोगलाई देखाएको छ। राजनीतिक दलहरुले सदस्यता वितरण, नवीकरण र लेबी, चन्दा तथा सहयोग, ब्याज र प्रकाशन बिक्रीबापत रकम आर्जन गर्छन्। यसबाहेक कांग्रेसको ब्याजबापत हुने आम्दानीसमेत घटेको छ। प्रकाशन बिक्रीबापत उठ्ने रकममा समेत ठूलो गिरावट आएको प्रतिवेदनमा उल्लेख छ।
महासमिति भेलामा अर्थमन्त्री महतबाट प्रस्तुत प्रतिवेदनका मुख्यमुख्य बुँदा
पर्यटन, घरजग्गा, पुँजीबजार, निर्माण, सेवा क्षेत्रका गतिविधि चलायमान हुँदै गएका छन्।
चालू आर्थिक वर्षमा आर्थिक वृद्धि सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण रहेको छ। नेपालको आर्थिक वृद्धि सन २०२३ र २४ मा ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण र सन् २०२५ मा ५ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ।
मुद्रास्फीति ६.५ प्रतिशतको वार्षिक लक्ष्यभित्रै रहेको छ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ।
बाह्य क्षेत्र सन्तुलन कायम भएको छ। साथै, विदेशी विनिमय सञ्चिति पर्याप्त छ।
चालू आर्थिक वर्षमा ९०० मेगावाट बराबरको जलविद्युत् उत्पादन थप हुने अनुमान रहेको छ। यसबाट आर्थिक गतिविधि थप गतिशील हुँदै जाने अपेक्षा रहेको छ।
सन् २०२३ मा पर्यटक आगमन ६५.२ प्रतिशतले वृद्धि भई १० लाख नाघेको छ, जुन कोभिडपछिकै उच्च हो। साथै, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ।
वैदेशिक लगानी प्राप्तिमा सुधार हुँदै गएको छ। चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ३ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा यस्तो लगानी ४३ करोड मात्रै रहेको थियो।
प्रभावकारी मागको सिर्जना गर्न सरकारी खर्च बढाउने, लगानीका साधनको पर्याप्तता सुनिश्चित गराउने र निजी क्षेत्रको मनोवल बढाउने गरी नीतिगत तथा संस्थागत प्रयास भएका छन्।
अर्थतन्त्रले गति लिई आर्थिक क्रियाकलापमा बिस्तार भएकोले मध्यमकालमा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिको आधार तयार भएको छ।
निजी क्षेत्रसँगको निरन्तर संवाद र सुधारका प्रयासले यस क्षेत्रको मनोबलमा क्रमशः सुधार भएको छ।
बजेटअनुशासन कायम गर्न लिइएको प्रयासले साधनको प्राथमिकतापूर्ण परिचालनमा सहयोग पुगेको छ।
मौद्रिक नीतिमा हाल गरिएको सुधारले आर्थिक वृद्धिलाई सहयोग पुग्ने अनुमान छ। वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी पर्याप्त अवस्थामा रहेको छ, यसले आर्थिक वृद्धिलाई सघाउ पु¥याउने अपेक्षा छ।
उत्पादनमा आधारित अनुदान प्रणालीले अनुदानको उपयोगलाई सही दिशातर्फ निर्देशित गरेको छ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालनमा नेपालको पहिचान बढेको छ।