काठमाडौं। माघको पछिल्लो सातादेखि सरकारी कर्मचारी एवं कार्यालय प्रमुखहरूलाई कालोमोसो दल्नेक्रम शृंखलाबद्ध रूपमा भइरहेको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी युवा संगठनका युवाहरूले कार्यालय प्रमुखहरूलाई कालोमोसो दलेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै आएका छन्।
माघ २९ मा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललाई कार्यालय प्रवेश गर्नै लाग्दा गेटमै निलो मोसो छ्यापिएको थियो। महानिर्देशक रिजालले सवारी लाइसेन्समा घोटाला गरेको आरोप युवा संगठनको छ।
तर, भदौ २४ मा विभागको महानिर्देशक बनेका रिजाल स्वयमले अवैध रूपमा जारी भइरहेका सवारी लाइसेन्स सम्बन्धमा छानबिन सुरु गरेका थिए। विभागबाट अवैध लाइसेन्स जारी भइरहेको सूचना पाएपछि यातायात व्यवस्था विभागका सूचनाप्रविधि शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेर अध्ययन गरिएको थियो। उक्त समितिले २० पुसमा लिखित र ट्रायलविना २ लाख २ हजार ७ सय ११ वटा अवैध लाइसेन्स जारी भएको प्रतिवेदन बुझाएको थियो।
सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाएर थप अनुसन्धान भइरहेको छ। यातायातको कार्यालय बाटोका कार्यालय हुँदा अराजक समूहले मौका छोपेको महानिर्देशक रिजाल बताउँछन्। ‘अहिले समस्या छैन, प्रहरीले आफ्नो काम अघि बढाइ रहेको होला’ रिजालले भने।
उक्त घटना सेलाउन नपाउँदै फागुन ४ मा दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जिव झालाई पनि युवा संगठनले कार्यकक्ष मै कालोमोसो दलेको थियो। दुग्ध विकासको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययिता नभएको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको आरोप युवा संगठनको छ।
त्यस्तै झा महाप्रबन्धक बनेको पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरी कुल ९७ करोड रुपैयाँ संस्थान घाटामा लगेको अरोप पनि संगठनले लगाएको छ।
शुक्रबार डिडिसीका महाप्रबन्धकलाई कालोमोसो दलेको घटना ‘हट केक’ बनिरेहको समयमा आइतबार फेरि सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई पनि कार्यकक्ष मै कालोमोसो दलेको भिडियो बाहिरियो।
सिटिइभिटीका उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप संगठनले लगाएको छ।
यी ३ वटा मात्रै घटना होइन कैलालीको लम्किचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरिकान्त न्यौपानेलाई पनि युवा संगठनकै कार्यकर्ताले माघ २३ मा कालोमोसो दलेका थिए। कार्यालयबाट घर फर्किनेक्रममा ४-५ जनाको समूहले ‘पिचकारी’ को प्रयोग गरेर कालोमोसो दलेको अधिकृत न्यौपाने बताउँछन्।
‘उनीहरूका मान्छे शिक्षकमा छनोट नहुँदा व्यत्तिगत रिसिबिले कालोमोसो दलिएको हो, मसँग प्रमाण सुरक्षित छ’ क्यापिटल नेपालसँग न्यौपानेले भने, ‘उनीहरू युवा संगठनको मान्छे रहेको र पक्राउ परेर अनुसन्धान भइरहेको जानकारी छ। तर, थप जानकारी छैन।’
यी ४ जनालाई कालोमोसो दल्नेमा मोहन वैद्य निकटको युवा संगठनका कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ।
त्यसो त गत असोजमा मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई पनि काठमाडौंको ‘एल्लो प्यागोडा’ होटलमा एमाले निकट अनेरास्ववियुका युवाहरूको समूहले कालोमोसो दलेको थियो। दुर्गा प्रसाइले २०७९ फागुनमा राजनीतिक दलसहित बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए।
के छ कानुनी व्यवस्था?
मुलुकी अपराध संहिताको दफा ११८ उपदफा १ मा कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी अभद्र व्यवहार गर्न नहुने उल्लेख छ। जसमा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्नु हुँदैन।
यदि यही मुद्दामा दोषी प्रमाणित भए कालोमोसो दल्नेलाई एक वर्षसम्म कैद सजाय हुन सक्छ। प्रमुख जिल्ला अधिकारीको इजलासले अभद्र व्यवहारको मुद्दामा क्षतिपूर्तिसहित आदेश दिन सक्ने कानुनी व्यवस्था छ। जसको सन्दर्भमा संहिताको दफा ११८ को उपदफा २ मा भनिएको छ ‘उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
बाटोमा हिँड्दा पनि डर हुन्छ : प्रवक्ता शाही
नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता मनोज शाही सरकारी कर्मचारी माथि पछिल्लो समय गरिएको व्यवहारले बाटोमा हिँड्दा पनि त्रास हुने बताउँछन्। ‘कर्मचारी प्रशासनप्रति जनताको आक्रोश देखिन्छ तर, प्रजातन्त्र भएको देशमा कानुनी प्रक्रिया छोडेर हिंसात्मक बाटो रोज्नु हुँदैन’ प्रवक्ता शाही भन्छन्, ‘बाटोमा हिँड्दा पनि जनताले आफुलाई हेर्ने दृष्टिकोण गतल हो कि भन्ने मनोवैज्ञानिक असर हुन्छ।’ साथै राज्यका संयन्त्रमाथि आक्रमण हुँदा सरकार चुप बस्न नहुने शाहीको भनाइ छ।
प्रधानमन्त्रीलाई त चप्पल/मुक्का हान्छन् : महानिर्देशक अर्याल
राजनीतिक नेतृत्वले लिएको प्रतिबद्धताभन्दा बाहिर गएर कर्मचारी काम गर्न नसक्ने स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरतप्रसाद अर्याल बताउँछन्। पछिल्लो समयको घटना नियोजित जस्तो देखिने उनले बताए। कर्मचारीले गलत गरेमा कानुनि प्रक्रियाबाट सजाय दिने व्यवस्था रहेकाले त्यस्तो गर्ने व्यक्ति कारबाहीको भागिदार बन्नुपर्ने महानिर्देशक अर्यालको भनाइ छ।
‘कानुनी प्रक्रियामा नगइ लठ्ठिले ठटाएर, कालोमोसो दलेर अराजकता देखाउँदा हुन्छ भने प्रहरी प्रशासन, अदालत किन चाहियो ?’ उनले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीलाई चप्पल जुत्ता र मुक्का हान्छन्, कालोमोसो हामी वा अर्को जसलाई दलेपनि भयो।’
प्रहरीले गम्भिर भएर निगरानी बढाएको छ : प्रवक्ता ढकाल
सबैतिर सधैं प्रहरीको उपस्थिति नहुने र त्यस्तो समयमा झुक्याएर आक्रमण हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भिमप्रसाद ढकाल बताउँछन्। तर, घटना घटेपछि पक्राउ गरेर अनुसन्धान भइरहेको उनले बताए। ‘जुन घटना बढिरहेको छ त्यसमा प्रहरीले निगरानी बढाउने, सुरक्षा पुर्याउने र पक्राउ गर्दै आएको छ।’ प्रवक्ता ढकालले भने, ‘यस्ता घटनामा प्रहरी गम्भिर भएर सबैतिर निगरानी बढाउन सर्कुलेसन छ।’ घटनाको अवस्था हेरेर वैद्य निकटका युवा संगठन, नेकपा माओवादीका संगठन, सहकारी पिडीतहरूबाट पनि कालोमोसो दलेको पाइने प्रहरीले जनाएको छ।
त्यसो त केही कर्मचारीहरू वैद्य निकटको युवा संगठनले माघ १० देखि २ महिनासम्म जनप्रतिनिधिका घरमा कालो झण्डा गाड्नेदेखि भौतिक आक्रमण गर्ने योजना भएको बताउँछन्। ‘युवा संगठनको २ महिनाको अभियान छ भन्ने ‘पम्प्लेट’ मा देखिएको छ, जनप्रतिनिधिलाई अहिलेसम्म केही गरेका छैनन्, पछिल्लो समय कर्मचारीहरू मात्रै तारो बनेका छन्’ एक कर्मचारीले भने।