काठमाडौं। भारतमा चारपांग्रे इलेक्ट्रिक भेहकिल (इभी) उत्पादन गर्दै कम्पनीले फ्रेब्रुअरी महिनामा मात्रै आफ्ना उत्पादनको मूल्य घटाएका छन्। एमजी मोटर इन्डिया र टाटा मोटर्सले आफ्नो चर्चित इभी मोडलहरूको मूल्य यही फेब्रुअरीमा घटाएका हुन्। एमजी मोटर इन्डियाले आफ्नो चर्चित मोडल एमजी कोमेटको मूल्य ७ लाख ९९ हजार रुपैयाँबाट १ लाख रुपैयाँ घटाएको हो। मूल्य घटाएपछि उक्त गाडीको मूल्य ६ लाख ९९ हजार कायम गरिएको छ।
टाटा मोटर्स कम्पनीले आफ्नो ‘टप सेलिङ’ इलेक्ट्रिक गाडी नेक्सन इभीको मूल्य १ लाख २० हजार रुपैयाँसम्म घटाएको छ।
मूल्य घटाएसँगै अब नेक्सन इभी (सटरेन्ज)को मूल्य १४ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ। लङ रेन्जको सुरुआती मूल्य १६ लाख ९९ हजार कायम गरिएको कम्पनीले जानकारी दिएको छ।
त्यसैगरी कम्पनीले फास्टेस्ट सेलिङ कार टियागो इभी सबैभन्दा सस्तो भेरियन्टको मूल्य पनि घटाएको छ। टाटा मोटर्सले यसको मूल्य ७० हजार घटाएको हो। मूल्य घटेपछि यसको मूल्य ७ लाख ९९ हजार कायम गरिएको छ। भारतमा मूल्य घटेपछि नेपालमा यी गाडीको मूल्य के हुन्छ भन्ने चासोको विषय बनेको छ। भारतमा मूल्य घटे पनि तत्काल एमजी कोमेटको मूल्य नघट्ने नेपालका लागि एमजीको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए। ‘भारतमा उनीहरूको आन्तिरिक प्रतिस्पर्धाका लागि मूल्य घटाइरहेका हुन। उनीहरूले निर्यात गर्ने गाडीमा घटाएका छैनन्,’ उनले भने, ‘त्यसकारण तत्काल मूल्य घटाउन सम्भव छैन।’
कम्पनीले नेपालमा सकेसम्म कम मूल्यमा गाडी दिइरहेकाले पनि तत्कालका लागि यो सम्भव नभएको उनको भनाइ छ। ‘हामीले राख्नुपर्ने जति नाफा पनि राखेका छैनौँ। अहिले हामीले कोमेट ‘इन्टडक्टरी प्राइस’मै दिइरहेका छौं,’ उनले भने। त्यस्तै नेपालमा टाटाका इभीको पनि मूल्य नघट्ने देखिएको छ। मूल्य घटेको ‘टाटा नेक्सन इभी के३’ मोडल नेपालमा उपलब्ध नभएकाले भारतमा मूल्य घटे पनि नेपालमा केही हेरफेर नहुने टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका महाप्रबन्धक सावन्त सिजापतीले बताए। ‘हामीसगँ नेक्सन इभी म्याक्स मात्र छ। त्यसको मूल्य घटेको छैन। तर २-३ महिनामा ‘नेक्सन इभी के३’ आएपछि घटेकै मूल्यमा ग्राहकलाई दिन्छौं,’ उनले भने।
उनले टियागो इभीको पनि मूल्य नघट्ने बताए। ‘भारु ७० हजार घटेको ‘टियागो एक्सई मिडियम रेन्ज’ नेपालमा उपलब्ध छैन। नेपालमा उपलब्ध भेरिएन्टहरूमा जम्मा १५ हजार मात्र घटेको छ। हामीले नाडा अटो शोदेखि अहिलेसम्मै ‘इन्टडक्टरी’ मूल्यमा गाडी दिइरहेका छौं। बीचमा भारतमा मूल्य बढाउँदा पनि हामीले बढाएनौं। त्यसकारण तत्काल टियागोको मूल्य घटाउन सक्ने अवस्था छैन,’ उनले भने।