काठमाडौँ। युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६ प्रतिशत लाभांश कम्पनीको साधारणसभाबाट स्वीकृत गरिएको छ। कम्पनीको आइतबार बसेको ३०औँ वार्षिक साधारणसभाबाट १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश स्वीकृत गरिएको हो। कम्पनीले यसअघि आफ्नो चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।
सोहीअनुसार आइतबार बसेको साधारणसभाबाट स्वीकृत दिइएको कम्पनीले जानकारी दिएको छ। त्यस्तै साधारणसभाबाट सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स र यूनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिएको कम्पनीले जानकारी दिएको छ।
त्यस्तै चालु आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको पनि कम्पनीले बताएको छ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेड आपसमा गाभिए (मर्जर)पछि पहिलो पटक गरिएको कम्पनीको साधारणसभाले लाभांश वितरणका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै कम्पनीको नियमावलीमा सञ्चालकको संख्या र कार्यकाल तथा नियुक्ति सम्बन्धमा आवश्यक संशोधन गर्न साधारणसभाबाट स्वीकृति दिइएको छ।
साधारणसभासँगै भएको सञ्चालक समिति सदस्यहरूको निर्वाचनमा संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
दुवै कम्पनी गाभिएपछि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत रुपमा गत जेठ १४ गतेदेखि कारोबार सुरु गरिएको थियो। मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम गरिएको थियो।