काठमाडौं। हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ।
गत बुधबारदेखि थाइल्यान्डको सबैभन्दा चिसो सहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन्।
कार्यक्रममा २० व्यावसायिक तथा ६० वटा मिनीसहित ८० वटा बेलुन उडाइएको थियो। नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागिता थियो। कार्यक्रममा नेपालसहित विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झन्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए।
आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएका थिए। पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागिता जनाएको कम्पनीका निर्देशक ढकालले बताए।
कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्रिभोजसहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो।
सो अवसरमा पाइलट र क्रूलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए। ‘मुलुकको पर्यटन प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’ निर्देशक ढकालले भने, ‘नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुसीको कुरा हो।’
कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको उनले बताए। उनले भने, ‘धेरैमा बुद्ध इन्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए। त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं।’
उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटक सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए। उनले भने,’यहाँ गरिएका बेलुन ग्लो कार्यक्रमले हाम्रो ध्यान खिचेको छ। छिट्टै नेपालमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने सोचमा छौं।’
थाइल्याज्डको फ्लाइङ मिडियाले आयोजना गरेको कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुतिसमेत समावेश थियो । कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए।