काठमाडौं। २००७ फागुन ७ मा एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनास्वरुप आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ। सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको छ भने देशभर सार्वजनिक बिदा दिइएको छ।
प्रजातन्त्र दिवस अवसरमा सैनिक मञ्च टुँडिखेलमा गरिएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, मन्त्रीलगायत सरकारका उच्च पदस्थ सहभागी भएका छन्।
नेपालमा २०१७ पछि राजा महेन्द्रको पञ्चायती शासन २०४६ को आन्दोलनपछि ढलेको थियो। २०६५ जेठ १५ को पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ। दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थिए।
प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, एमाले अध्यक्षलगायत नेताहरुले शुभकामना व्यक्त गरेका छन्।
आज बिहान टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए।
सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए।
उनले भने, ‘परम्परागत विकासको मोडल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ’, प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसर सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवामा आशाको रक्तसञ्चार भर्नुछ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’
प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैँ चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे।