दैवले भन्छ– ‘तँ आँट, म पु¥याउँछु’। र, जसले आँट गरेर संघर्षसाथ अगाडि बढ्छ, उसले अवश्य सफलताको सिँढी चढ्छ। सफलताको स्वाद चाख्ने अधिकांशको संघर्ष कथा निकै मर्मस्पर्शी हुने गर्छ। कर्म धेरैले गरेका हुन्छन्, तर सफलता निकै कम व्यक्तिले मात्र पाउन सक्छन्। यस्तै कर्म गरेर सफलता हात पारेकामध्ये एक हुन्– राजेशकाजी श्रेष्ठ। राजेशकाजी आमउद्योगी–व्यवसायीमाझ चिनिएको र माझिएको नाम हो।
निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कर्मसमा चारपटक अध्यक्ष बनेका श्रेष्ठको सफलताको कथा निकै रोमाञ्चक छ। हुन त काठमाडौंको रैथाने, त्यसमा पनि नेवार समुदायमा जन्मिएका राजेशकाजीको बाल्यकाल भने सुखद नै बित्यो। हजुरबुबादेखि नै व्यवसायमा लागेका कारण उनले कहिल्यै आर्थिक अभाव भोग्नुपरेन।
काठमाडौं पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलबाट आधारभूत शिक्षा हासिल गरेका उनले उच्च शिक्षा पब्लिक युथ कलेजबाट प्राप्त गरे। तत्कालीन अवस्थामा पब्लिक युथबाट उच्च शिक्षा हासिल गर्नु प्रतिष्ठाको विषय थियो। व्यापारिक घरानाका श्रेष्ठले सानै उमेरदेखि व्यापारतिर हात हाले।
वाणिज्य शास्त्रमा स्नातक गरेपछि उनले पनि व्यापार सुरु गरे। त्यसपछि राजेशकाजीको जीवनले नयाँ मार्ग तयार ग¥यो। बुबाले कमाएर दिएको पैसामा पढिरहेको ज्यान आफैंले पैसा कमाउने भएपछि एकतहको सफलता हुने नै भयो। बुबाबाट सिकेको सीप र विद्यालयमा पढेको सैद्धान्तिक ज्ञानले श्रेष्ठलाई व्यापारमा पनि श्रेष्ठ नै बनायो।
उनका बुबा रत्नकाजीले भारतका नयाँदिल्ली, कोलकातालगायत ठाउँबाट भारतीय सामान ल्याएर थोक (होलसेल) मा बेच्थे। त्यो बेला राजेशकाजी भने विभिन्न पसल गएर पैसा उठाएर ल्याउने काम गर्र्थे। बुबाले पैसा उठाएर ल्याउन लगाउँदा लगाउँदै उनलाई व्यापारप्रतिको मोह बढिसकेको थियो।
साथीभाइसँगको संगतमा राजेशकाजीले सन् १९७८ देखि साथीहरूसँग मिलेर बैंकक, हङकङबाट इलेक्ट्रोनिक सामान ल्याएर बिक्री गर्न थाले। बुबाले प्लास्टिक पाइप, इन्धन राख्ने जर्किन, स्टोभ र स्टेसनरीसमेत ल्याउने गरेका थिए। योसँगै दसैंतिहारका लागिसमेत सामान ल्याउँथे।
चेम्बर प्रवेशको कथा
व्यापारिक पृष्ठभूमि भएकाले राजनीतिको ‘र’ पनि नजानेका राजेशकाजीलाई चेम्बरमा चार पटकसम्म अध्यक्ष बनिन्छ भन्ने कल्पनासमेत थिएन। यतिसम्म कि कुनै पनि संस्थाको सदस्य र पदाधिकारीको भूमिका के–के हुन्छ भन्नेसमेत ज्ञान नभएका उनको चेम्बर प्रवेश यस्तो संयोग बन्यो कि जहाँ चारपटक अध्यक्ष हुन सफल भए।
२०४४ सालमा सुरेन्द्रवीर मालाकार चेम्बरमा सदस्य बन्ने घोषणा गरे। उनै सुरेन्द्रले राजेशकाजीलाई पनि सदस्यमा आउन अनुरोध गरे। चेम्बर अफिस नजिक (ज्याठा) मै राजेशकाजीको रारा होटल भएकाले त्यहाँको गतिविधि नजिकबाट नियालिरहेका हुन्थे।
सुरेन्द्रवीरले ‘योपटक तिमी पनि चेम्बरमा लाग्नुपर्छ’ भनेर प्रस्ताव गर्दा ‘आमाको लाम्टो चुसेर पुगेन, अब बाबुको घुँडा चुस्ने’ भन्ने जवाफ दिएको राजेशकाजीलाई हिजोजस्तो लाग्छ। २०४५ सालमा सुरेन्द्र सदस्यको उम्मेदवार बने। उनीसँगै दिनेश श्रेष्ठ, राष्ट्रभुषण चाकुबजी सदस्यमा उठ्ने चर्चा गरियो। राजेशकाजीले पनि निर्वाचनमा होमिने हो भनेपछि दुई÷तीन दिनमै दुई÷तीन सय प्रोक्सी जम्मा गर्न सफल भए। र, चार उम्मेदवार बनेपछि एकापसमा छलफल गर्दा र अग्रजसँग छलफल गरेपछि सुरेन्द्रवीर र राजेशकाजीमात्र कार्यसमिति सदस्यका लागि सर्वसम्मतरूपमा निर्वाचित भए।
त्यो बेला हरेक वर्ष कार्यसमिति सदस्यका लागि निर्वाचन हुने गरेको थियो। अर्थात, कार्यसमिति अवधि एक वर्षमात्र हुने गरेको थियो। वर्षैपिच्छे निर्वाचन हुँदा धेरैजनाले अवसर पाउने गरेका थिए। कार्यसमिति सदस्य भएको तीन वर्षपछि महासचिवको जिम्मेवारी राजेशकाजीको काँधमा आइपुग्यो। महासचिवको कार्यकाल दुई वर्षको थियो। महासचिवमा दोहोरिने सोच राखे पनि समितिका पुराना सदस्य मानबहादुर श्रेष्ठले इच्छा राखेपछि उनी उपाध्यक्ष बने।
३८ वर्षकै उमेरमा अध्यक्ष
२०१८ सालमा काठमाडौंमा जन्मिएका राजेशकाजी २०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भई चेम्बरमा प्रवेश गरे। त्यो बेला उनी २८ वर्षका थिए। सानै उमेरमा चेम्बर प्रवेश गरेका उनले व्यापार र सामाजिक संस्थालाई सँगै दौडाइरहेका थिए।
जसरी व्यवसायमा रफ्तार बढाउँदै गए, त्यसैगरी चेम्बरमा पनि नेतृत्वमा फड्को मार्दै गए। विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ सालमा अध्यक्ष निर्वाचित हुन सफल भए। ३८ वर्षकै उमेरमा चेम्बरको अध्यक्ष बन्न सफल भएका राजेशकाजी त्यो बेलाको सबैभन्दा कान्छो अध्यक्ष थिए।
कुनै सफलता यस्तो भइदिन्छ– दुवै हातमा लड्डु भने झैं। अध्यक्ष भइरहेकै बेला राजेशकाजी २०६२ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री बने। उनको सफलता त्यतिमा मात्र सीमित रहेन। २०६४ सालमा इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) नेपाल र नेपाल–चीन र भियतनाम र रसिया द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष बनेका उनी २०७१ मा पुनः चेम्बर अध्यक्ष निर्वाचित भए। त्यो बेला चेम्बरभित्र विवाद बढेको र दुई समूहबीच टकराव बढेपछि उनलाई सर्वसम्मत अध्यक्ष बनाइएको थियो।
उनै श्रेष्ठले चेम्बरको नेतृत्व पुनः लिएर विगत सात दशकदेखि ऐतिहासिक नेतृत्व प्रदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको सांगठनिक संरचना २०७४ सालदेखि राजेशकाजीको कुशल नेतृत्वमा महासंघीय स्वरूपमा रूपान्तरण भई मुलुकभरि विस्तार गरे। उनकै नेतृत्वमा जिल्ला र प्रदेश शाखा विस्तार गरे। राजेशकाजी सिल्क रोड इन्टरनेसनल चेम्बर अफ कमर्स र वल्र्ड एसोसिएसन अफ मिडियम इन्टरप्राइजेज (वाज्मे) को उपाध्यक्ष, नेपाल लगानी बोर्ड, बोर्ड अफ ट्रेड, निजी क्षेत्र विकास समिति र नेपाल इन्टरमोडल ट्रान्स्पोर्ट डेभलपमेन्ट बोर्डमा सदस्य, पूर्वाञ्चल विश्वविद्यालयमा सिनेटर र नेपाल बिजनेस फोरममा सहअध्यक्षसमेत बने।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा अग्रणी चेम्बर
चेम्बरलाई नेपालमा मात्र सीमित नगरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्न राजेशकाजी सफल भएका छन्। हालसम्म विभिन्न देशका चेम्बरसँग सम्झौता गरेर सम्बन्ध विस्तार गर्न सफल भएका छन्। राजेशकाजीकै पालामा ५५÷५६ देशका चेम्बरसँग सम्झौता गरेका थिए। जसले गर्दा दुई देशको चेम्बर र व्यापारका पनि कुरा आदान–प्रदानमात्र भएन, विभिन्न समयमा कार्यक्रममा आवतजावत समेत बढ्यो। जसले गर्दा एकअर्का देशको व्यापार–व्यवसाय गर्ने ‘कल्चर’ समेत हेर्न र देख्न पाइयो।
धेरै वर्ष चेम्बरमा बिताउँदा व्यापार खत्तम
सामाजिक अभियानमा लामो समय बिताउँदा व्यक्तिगत व्यवहार भने सोचेजस्तो नभएको उनको भनाइ छ। उमेरको उर्वर समय चेम्बरमा बिताउँदा व्यापार– व्यवसायमा समय दिन नसक्दा सोचेजस्तो सफलता लिन नसके पनि समाजमा केही योगदान दिन सकेकोप्रति भने उनी पूर्णरूपमा सन्तुष्ट छन्।
चेम्बर अभियानलाई काठमाडौं केन्द्रित नभई मुलुकभरि नै विस्तार गर्ने श्रेय राजेशकाजीलाई दिँदा अत्युक्ति नहोला। मुलुकभरि छरिएर रहेका व्यापारीलाई चेम्बरको साङ्लोभित्र बाँधेका छन्। व्यापार–व्यवसायका हिसाबले आफू केही पछाडि परेको महसुस गरे पनि सामाजिक क्षेत्रमा पाएको मानसम्मानलाई भने राजेशकाजी कुनै पनि मूल्य दिन नसक्ने बताउँछन्।
निजी क्षेत्रको कुरा त्यो बेला सरकारले सुन्थ्यो
पहिलाको तुलनामा अहिले सरकारले निजी क्षेत्रको आवाजलाई त्यति धेरै प्राथमिकता दिएर सुनेको पाइँदैन। पहिला–पहिला चेम्बर, उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रले राखेका कुरा तत्कालै कार्यान्वयनमा लान सरकार लाग्थ्यो। तर, अहिले निजी क्षेत्रले जति नै कराए पनि सरकारले सुन्न छाडिसकेको छ। अहिले निजी क्षेत्रभित्रका नेतृत्वहरू पनि राजनीतिक दलमा आस्था राख्ने धेरै भएकाले पनि हुन सक्छ सरकारले गम्भीरतापूर्वक नसुनेको जस्तो राजेशकाजीलाई लाग्छ।
२०५४÷५५ मा चेम्बर उपाध्यक्ष हुँदा मूल्य अभिवृद्धि कर (भ्याट) को आन्दोलन भएको थियो। त्यो बेला काठमाडौं १२ दिन बन्द भयो। र, विभिन्न जिल्लामा पनि आन्दोलन चरम बिन्दुमा पुगेको थियो। आन्दोलनबाट सरकार झुक्यो। त्यो बेला निजी क्षेत्रका संघसंगठनबीच बजेट र मौद्रिक नीतिका बेला छलफल भएर सामूहिकरूपमा सरकारलाई सुझाव दिने गरिएको थियो। सुझावअनुसार धेरै विषय कार्यान्वयनमा समेत आउने गरेको थियो। ‘अहिले त जति सुझाव दिए पनि सरकारले सुनेको जस्तो लाग्दैन,’ राजेशकाजी भन्छन्, ‘यसको एउटै कारण हो, निजी क्षेत्रका छाता संगठनले सरकारसँग दह्रोसँग कुरा राख्न नसक्नु।’
यसरी छुट्यो उद्योग वाणिज्य महासंघसँगको सम्बन्ध
२०२२ सालमा लोकनाथ जोशी चेम्बर र नेपाल उद्योग वाणिज्य संघ दुवैको पहिलो अध्यक्ष थिए। उद्योग वाणिज्य संघ भनेको अहिलेको महासंघ हो। त्यो बेला १४⁄१५ जिल्लामात्र समावेश गरेर उद्योग महासंघ गठन गरिएको थियो। त्यो बेला एसोसिएटहरूलाई संघको सदस्यका रूपमा नल्याउने र जिल्ला संघहरूलाई मात्र संगठित गर्ने सहमति बनेको थियो।
तर, महासंघले सहमति उल्लंघन गर्दै वस्तुगत र एसोसिएटहरूलाई पनि आफ्नो छाता संगठनभित्र ल्याएसँगै चेम्बरसँगको सम्बन्ध चिसिँदै गएको हो। चेम्बर संस्थापक सदस्य भएकाले महासंघसँगको दुरी बढ्दै गयो र महासंघ ‘पैसाका लागि सबैलाई सदस्य बनाउन लागेको’ आभाष भयो। त्यसपछि भने चेम्बर पनि महासंघमा बसिरहन ठिक हुन्न भनेर २०७४ सालमा छुट्टिएर संघीयताअनुसार प्रदेश र जिल्ला संरचना विस्तार गरेको हो। त्यसअघि पनि महासंघले प्रतिनिधित्व गर्ने ठाउँमा चेम्बरले पनि आफ्नो प्रतिनिधि पठाउने गरेको थियो।
व्यापारीलाई समाजमा छैन सम्मान
अहिले र पहिलेको तुलनामा व्यापारीलाई समाजले हेर्ने दृष्टिकोण नै फरक भएको उनको अनुभव छ। पहिलेको तुलनामा अहिले व्यापारी हुँ भनेर समाजमा हिँड्नसमेत गाह्रो हुने र व्यापारी भनेपछि ठग्ने, लुट्नेमात्र गर्छन् भन्ने भ्रम फैलिरहेको उनी बताउँछन्। अन्य पेसाभन्दा व्यापारीलाई हेर्ने दृष्टिकोणमा धेरै फरक रहेको उनको भनाइ छ। सरकारकै अनेक नीतिका कारण व्यवसायीले ढुक्कसँग व्यापार–व्यवसाय गर्न कठिन भइरहेको उनले बताए। सरकार राजस्वमुखी मात्र भएको र व्यापारीहरूको खुसीमा नलागेको उनको आरोप छ।
निजी क्षेत्रको संघसस्था पनि आ–आफ्ना स्वार्थअनुकूल चल्ने गरेकाले पनि उद्योगी–व्यापारीहरूको सामूहिक पीडालाई सरकारसँग दह्रोसँग उठाउन नसकेको उनको दाबी छ। तर, अहिलेको अवस्थामा सबैजना एक ठाउँ हुन सकेको देखिँदैन।
व्यापारको जिम्मा छोरालाई
अहिले राजेशकाजी आफ्नो व्यापार–व्यवसायको जिम्मा तेस्रो पुस्ता अर्थात छोरा रजुल्ललाई दिएर सामाजिक क्षेत्रकै काममा बढी सक्रिय हुन थालेका छन्।
जीवनको ६२औं बसन्त पार गरेका राजेशकाजी नेपालका लागि भियतनामका अवैतनिक दूत हुन्। अक्र्ष ग्रुपमार्फत व्यवसाय विस्तार गरिरहेका उनी नेपाल इन्टरनेसनल बिजनेस प्रालि, होटल रारा प्रालि, जोमसोम एयरपोर्ट प्रालि, होटल कागबेनी प्यालेस प्रालिका अध्यक्ष छन्। यस्तै सोल्टी क्राउन प्लाजा र राजेश कन्सर्नका सञ्चालक पनि हुन्।