काठमाडौं। पेय पदार्थ ब्रान्ड कोकाकोला नेपालको कोकाकोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका–६ मा अवस्थिते कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेकोे छ।
परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त अनि सुलभ खानेपानी पहुँच पुग्ने र मानिसको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
गोदावरी–६ का वडाध्यक्ष विष्णुमान महर्जनले आयोजना हस्तान्तरणको जिम्मा लिएका थिए। कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ललितपुर १ का प्रतिनिधिसभा सासंद उदयशमशेर राणा पनि सहभागी थिए।
परियोजना मुख्य रूपमा तीन वटा प्रमुख उद्देश्यमा केन्द्रित रहेको कम्पनीले जनाएको छ। पहिलो यस क्षेत्रमा २ वटा इन्टेक जडान गर्ने, २ वटा रिजरर्भवायर ट्यांकी अपग्रेड गर्ने, २७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीन वटा मन्दिरमा पानीको मिटर जोड्न ३७०२ मिटर पाइप जडान गर्दै खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
परियोजनाको दोस्रो उद्देश्य समुदायको सरसफाइ अभ्यासमा परिवर्तन ल्याउनु तेस्रो उद्देश्यमा प्रयोगकर्ताको क्षमता वृद्धि गरी समुदायभित्र स्वच्छता अभिवृद्धि गर्नु रहेको कम्पनीले बताएको छ।कम्पनीका अनुसार २०१५ को विनाशकारी भूकम्पपछि लेलेका बासिन्दाले पानीका मुहान सुकेसँगै समस्या भोग्दै आएका थिए।
अव्यवस्थित सडक निर्माणले उक्त क्षेत्रमा स्रोतलाई थप हानि पुग्नुका साथै पहिरो निम्त्याएको थियो। कोका–कोला फाउन्डेसनले समुदायको सुरक्षित पानी पहुँचमा सुधार ल्याउन पूर्वाधार पुनःनिर्माणमा सहयोग गरिरहेको छ।
अर्को चरणको स्वीकृति पाएपछि यस क्षेत्रमा परियोजनालाई थप विस्तार गरिने कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले बताए। ‘यो परियोजनाले कोकाकोलाले दिगो समुदाय सिर्जना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। खानेपानीको पूर्वाधार विकास, सरसफाइ र सकारात्मक व्यवहार परिवर्तनलाई प्रवर्द्र्धन गरी समुदायको भलाइमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य राखेका छौं।’
सांसद राणाले समुदायमा सकारात्मक परिवर्तन ल्याउन द कोका–कोला फाउन्डेसन, वाटरएड र सिआइयुडीले गरेको पहलप्रति धन्यवाद दिए।