नवलपरासी। पश्चिम नवलपरासीमा ३ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ। पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका हुन्।
जिल्ला सहकारी संघको अगुवाइमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोड रुपैयाँ लागतमा आधुनिक प्रविधिसहितको ३ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको हो।
शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी संघकाको योजना छ। सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको तीनतले शीतभण्डारमा किसानको आकर्षण देखिन्छ। सुनवलमै शीतभण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने किसान उत्साहित भएको सुनवल–२ का किसान लोकनाथ भण्डारीले बताए। ‘अब कमसेकम केही उपज बढी भए राखौँ भन्नका लागि शीतभण्डार छ, खुसी लागेको छ,’ उनले भने।
यस वर्षदेखि शीतभण्डार सञ्चालन आउने भएपछि धेरै किसान खुसी भएका छन्। कृषि सहकारीले समेत ठूलो क्षेत्रफलमा खेती गर्न थालेका छन्। ‘शीतभण्डार सबै एक ठाउँमा बनाउन पनि सकिँदैन, कुनै ठाउँ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले भने, ‘ठूलो क्षमताको शीतभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना सहकारी सङ्घको छ।’
जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानीय तहसहित तीनै तहका सरकार कृषिमैत्री नबन्दा शीतभण्डार सञ्चालनमा चुनौती थपिएको बताए। ‘जिल्लाका सात स्थानीय तहमध्ये कोही पनि कृषि र किसानप्रति जिम्मेवार छैनन्, व्यावसायिक कृषिमा जोड दिएर उत्पादन बढाउनेतर्फ उनीहरूको ध्यान नै छैन,’ उनले भने।
शीतभण्डार निर्माण भए पनि अझै २ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए। एकातर्फ सञ्चालन खर्च र अर्कातर्फ कृषि उपजको अभावले शीतभण्डार सञ्चालन चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
पाल्पा, रूपन्देहीलगायत जिल्लाका उत्पादनलाई पनि समेट्नेगरी अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। पहाडी जिल्लाका उत्पादन पनि सुनवलसम्म झार्ने र जिल्लाका उद्योग कलकाराखानासँग पनि सम्पर्क गरी उनीहरूका सामान शीतभण्डारमा राख्ने योजना सहकारी संघले बनाएको छ।
नवलपरासीका सात स्थानीय तहले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको सर्शत अनुदानसहित १६ करोड रुपैयाँ बढी रकम कृषिमा छुट्याएका छन्। रासस