काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पदबाट हटाउन माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा राप्रपा र एमालेका सांसदले मन्त्री ज्वालालाई पदबाट हटाउन माग गरेका हुन्। बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद दिपक सिंह र एमाले सांसद महेश बर्तौलाले ज्वालालाई पदबाट हटाउन सरकारसँग माग गरे।
छानबिन आयोगले पुसमा भएको बालबुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखाएकाले उनलाई पदबाट हटाउनुपर्ने सांसदहरुको तर्क छ।
‘बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको प्रतिवेदन आइसकेको छ। उनलाई सरकारले हटाउनु पर्छ भन्ने राप्रपाको माग छ’ सांसद सिंहले भने। साथै, देशमा न्याय मरिसकेको आम नेपालीहरुले महसुस गरी रहेको र त्यसको कारण पनि राजनीति नै रहेको सांसद सिंहको भनाइ छ।
पुस १३ मा कोरियन भाषा परीक्षाको विषयमा ललितपुरको बालकुमारीमा प्रदर्शन भइरहेको थियो। प्रदर्शन चलिरहेको बेला मन्त्री ज्वाला पार्टीको बैठकमा सहभागी हुन बालकुमारीको बाटो प्रयोग गरेका थिए।
प्रदर्शनकारीले मन्त्री ज्वाला चढेको गाडीमा आगो लगाएका थिए भने प्रहरीले गोली चलाउँदा २ युवाको ज्यान गएको थियो।
ललितपुरको बालकुमारी घटनामा जाँचबुुझ आयोगले भौतिक मन्त्री ज्वालासहित तीनजना दोषी भएको निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको उल्लेख छ।
आयोगले प्रदर्शन र हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको एकिन नगरी विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको जनाएको छ।
त्यस्तै बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ।