काठमाडौं। बेलायतको लन्डनबाट अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले होलिडेज पार्टनर होटलको रुपमा नेपालको पाँचतारे ‘अलफ्ट काठमाडौं’ छनोट गरेको छ।
सन् २०२४ बाट नै व्यवसायिक उडान गर्न लागेको हिमालय जेटले पहिलो पटक होलिडेज पार्टनर होटलको रुपमा होटल म्यारियटअन्तर्गतको अलफ्ट काठमाडौंलाई छनोट गरेको हो। नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालनमा ल्याएको एयरलाइन्सले काठमाडौंमा साताको तीन उडान गर्ने तयारी गरेको छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, यूएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी छ।
एयरलाइन्सले आफ्नो उडानका यात्रुको सुविधाका लागि विभिन्न मुलुकमा हिमालय माइल्स स्किमअन्तर्गत होटल, क्लब, रेष्टुरेन्ट, लक्जरियस सिनेमा हल, डोमेस्टिक एयरलाइन्स, क्यासिनोहरुमा छूटलगायत सुविधा उपलब्ध गराउने छ।
यही योजनाअन्तर्गत नेपालबाट आफ्नो पहिलो सम्झौता अलफ्ट काठमाडौंसँग सम्झौता गरेको हो। विश्वभर यात्रुहरुलाई होटलको ४ हजार ‘किज्’ उपलब्ध गराउने योजनाअनुसार हिमालय जेटले संसारभर आफ्ना होलिडेज् पाटर्नरलाई छनोट गर्न लागेको कम्पनीले बताएको छ।
सम्झौता पत्रमा हिमालय जेट कम्पनीका अनर रिप्रेजेन्टिभ श्रीराम महत र होटलका महाप्रबन्धक विक्रम सिंहले हस्ताक्षर गरेका थिए। हिमालय जेट 'स्टार्टअप‘ एयरलाइन कम्पनी हो। जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुहरु भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ।
युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो। सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीको भनाइ छ।
हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्नेछ। हिमालय जेटले यसअघि नेपाल र लण्डनका लागि जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको छ। जेनिथले विगतमा कतार एयरवेज र टर्किस एयरलाइन्सको जीएसए भएर लामो समय काम गरेको थियो।