काठमाडौं। चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ। ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलन उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गरे।
कार्यक्रममा मन्त्री महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए। नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उनले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको औंल्याए।
७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उनको भनाइ थियो।
मन्त्री महतले ऋण तिर्नुपर्दैन भन्ने भ्रममा नबस्न पनि आमऋणीलाई आग्रह गरे। ‘लिएको ऋण तिर्नुपर्दैन। हामी माफी गरिदिन्छौं भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दै छन्। बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन’, उनले भने, ‘बरु सरकारले विभिन्न सहजीकरण गरेको छ। ऋण त तिर्नैपर्छ। तिर्नुपर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ।’
नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन्। समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ थियो।
‘आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ। सबैले यसको प्रशंसा गर्नुपर्छ’, तिम्सिनाले भनिन्, ‘आयआर्जन तथा रोजगारी सिर्जनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ।’
आयोजक समिति अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्त सुरु भएकाले बाटो बिराएकाहरू सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए। नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाइ थियो।
लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको दाबी छ। ‘यो बीचमा लघुवित्तमा केही समस्या देखियो। लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, सेयरधनीले बढी नाफामा लैजाने खालका क्रियाकलाप गरे, लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो’, अध्यक्ष श्रेष्ठले भने, ‘लघुवित्तका सदस्यलाई हामीले सेयरहोल्डर बनाएनौं। त्यहाँ ठूलो गल्ती भयो। ऋण प्रवाह गर्दा पनि लापरवाही भयो। सरकारले नयाँ लाइसेन्स खुलायो, झन् विकृति र विचलन आयो। अस्वस्थ प्रतिस्पर्धा भयो।’
नेपाल लघुवित्त बैंकर्स संघ अध्यक्ष रामबहादुर यादवले लघुवित्त क्षेत्र विषम परिस्थितिबाट गुज्रिएको समयमा भएको यो सम्मेलनले ठूलो महत्त्व राख्ने बताए। विश्वका अरु थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तले कसरी आफूलाई सुधार्दै छन् भन्ने सप्रमाण यो सम्मेलनलाई लिन सकिने उनको धारणा थियो।
लघुवित्त अभियन्ता तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले आफू सांसद बन्नुमा लघुवित्तकर्मी महिला र गरिबको योगदान रहेको बताए। सरकारले लघुवित्त सुधारका लागि विभिन्न नीति र भाषण गरे पनि व्यवहारमा लागू नभएको र लघुवित्तलाई देखाएर राजनीति गर्ने क्रम बढेको भन्दै उनले असन्तुष्टि जनाए।
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत ८ सय बढी सहभागी छन्।