काठमाडौं। तनहुँका सन्दीप अधिकारी १५/१६ वर्ष जापान बसे। उनी छुट्टी मनाउन नेपाल आउँदा सधैं बच्चाहरू बिरामी पर्थे। जचाउँदा डाक्टरले खानेकुरामै समस्या भएको बताउँथे र औषधी खान सुझाउँथे। त्यसपछि अधिकारीले ताजा तरकारीमा व्यवसाय अनि भविष्य देखे र नजिकको साथी शिव न्यौपानेलाई सुनाए। कन्स्ट्रक्सन व्यवसाय गरिरहेका शिवलाई अधिकारीको हरियो तरकारी बेच्ने योजना मन पर्यो।
तरकारी किसानसँग सीधै उपभोक्ताको दूरी घटाउने उनीहरुको योजनाअनुसार फ्रेस केटिएमको अवधारणा जन्मियो। उत्पादनमा किसान टिकाउने र सस्तोमा उपभोक्तालाई विषादीरहित तरकारी खुवाउने कामलाई फ्रेस केटिएमले काठमाडौं उपत्यकामा फैलाइरहेको छ। किसानबाटै तरकारी किन्ने, त्यसको विषादी र शुद्धता जाँच गर्ने र सस्तोमा उपभोक्तालाई बिक्री गर्ने फ्रेस केटिएमको व्यवसाय फैलिने क्रममा छ। नेपालमा पहिलो पटक यस्तो अवधारण लिएर फ्रेस केटिएम २०२० डिसेम्बरमा दर्ता भएको थियो।
करिब २ करोडको लगानीमा सुरु भएको फ्रेस केटिएममा अहिले दैनिक ७० आइटमका १८ टन तरकारी काठमाडौंका विभिन्न ३०० पसल पुर्याइन्छ। उनीहरूले १८ जिल्लाबाट तरकारी काठमाडौं ल्याउँछन्। अहिले कम्पनीको लगानी मात्रै ५० करोड पुगिसकेको छ।
‘काठमाडौंमा ताजा तरकारी पाउनै मुस्किल। पाए पनि अत्यधिक विषादी प्रयोग गरिने हुँदा स्वास्थ्यलाई उत्तिकै हानिनोक्सानी गर्ने। त्यसकारण हामीले यसैमा केही गर्न सकिन्छ कि भन्ने सोच्यौं,’ उनले व्यवसायमा हात हाल्नुअघिको घटना स्मरण गरे।
उनीहरूले पहिले मार्केट सर्भे गरे। यो क्रममा उनीहरूको टिममा निरजकुमार थपलिया, माधव जोशी पनि जोडिए। ‘हामीले सयौं किसानलाई भेट्यौं। किसानले बजार नपाउने, बजार पाए मूल्य नपाउने, मूल्य पाए भनेको समय पैसा नपाउने समस्या रहेछ। किसानको तरकारी किनेर सीधै उपभोक्तासम्म पुर्याउने सोच बनायौं,’ उनले भने।
त्यस्तै उनीहरूले तरकारी ल्याउने किसानलाई पनि सकेसम्म थोरै विषादी प्रयोग गर्न राजी गरे। २०७८ असोज १० बाट करिब २ करोडको लगानीमा सुरु भएको फ्रेस केटिएममा अहिले दैनिक ७० आइटमका १८ टन तरकारी काठमाडौंका विभिन्न ३०० पसल पुर्याइन्छ। उनीहरूले १८ जिल्लाबाट तरकारी काठमाडौं ल्याउँछन्। तरकारी डेलिभरीका लागि हाल कम्पनीमा सानादेखि ठूलासम्म ३६ वटा गाडी छन् भने अहिले कम्पनीको लगानी मात्रै ५० करोड पुगिसकेको छ।
उनीहरूले तरकारी बेच्ने मात्र नभई आफैंले उत्पादन गर्न रौतहटमा ८० बिघा जग्गा लिजमा लिएका छन्। उक्त जग्गा उब्जनी दिन थालेको छ। तरकारी खेतीका लागि चाहिने मलका लागि १ सय ५० वटा पाडा किनेका छन् भने ५०० वटा पुर्याउने तयारी छ। फार्ममा काम गर्ने मजदुरका लागि दैनिक ज्याला नभई तलबकै व्यवस्था गरिएको छ।
कम्पनी सुरु गर्दा अन्य कुनै ‘अप्सन’ नराखेकाले व्यवसाय फस्टाएको शिव बताउँछन्। ‘हामीले यो काम सफल नभए अर्को गर्ने भन्ने कहिल्यै सोचेनौं। यही व्यवसायलाई सफल बनाउनुपर्छ भनेर भएभरको पुँजी यही खन्यायौं,’ उनले भने।
उनीहरूले सूर्यविनायक फुलफिलमेन्ट सेन्टर रातोपुलको आउटलेटबाट व्यवसाय श्रीगणेश गरेका थिए। ‘सुरुमै हामीले पसललाई र व्यक्तिगत किन्न चाहनेलाई भनेर २ तरिकाले काम गर्यौं। पसलको अर्डर हामी गाडीबाट डेलिभरी दिन्छौं भने कसैले घरका लागि किन्नुप¥यो भने आउटलेट आउनुपर्छ,’ उनले भने।
विषादीरहित तरकारी बेच्नु नै आउटलेट राख्नुको मुख्य उद्देश्य रहेको शिव सुनाउँछन्। ‘धेरैले अग्र्यानिक तरकारी भनेर बेच्छन् तर सत्य होइन। आफूले विषादी प्रयोग नगरे पनि छेउ बारीको विषादी असर पनि पर्न जान्छ। त्यसैले हामीले ‘सेफ फुड’ शब्द प्रयोग गर्छौं,’ उनले भने।
सुरुमा उनीहरूलाई आफ्नो कन्सेप्ट बुझाउनै कठिन भयो। उनीहरूले पसल–पसल धाएरै आफ्नो कम्पनीबारे जानकारी दिँदै गए। ‘किसानलाई उत्पादनको राम्रो मूल्य दिएपछि हामीसँग कारोबार गर्न सहज भयो। उनीहरूले नाइँ भनेनन्। पसललाई भने पहिले बुझायौं। कालीमाटीकै मूल्य र त्योभन्दा सस्तोमा बिहानै हामीले निःशुल्क डेलिभरी दिएपछि विस्तारै उनीहरूको संख्या पनि बढ्दै गयो,’ उनले भने।
एक दिन नबिकेका तरकारी खेर नजाओस् भन्ने उद्देश्यले उनीहरूले अचार, ड्राइफ्रुटको योजना पनि अघि बढाएका छन् भने व्यस्त मान्छेका लागि ‘रेडी टु कुक’ तरकारी बेच्ने पनि योजना बनाएका छन्। ‘कसैलाई तरकारी काट्न फुर्सद हुँदैन। उनीहरूका लागि काटेरै पकाउन ठिक्क पारेको तरकारी उपलब्ध गराउने योजना छ,’ उनले भने।
उनीहरूले किसानसँग किन्ने र आफैंले खेती गर्ने दुवै कामलाई सँगैसँगै लगेका छन्। ‘किसानलाई हामीले अलिकति पनि विषादी प्रयोग नगर्नू भनेर दबाब दिन मिल्दैन। उहाँहरूसँग किनेको तरकारी पनि बेच्छौं र हामीले रौतहटमा विषादी प्रयोगबिनै उत्पादित सब्जी पनि बेच्छौं। हामीले उत्पादन गरेको तरकारीमा कुनै प्रकारको विषादी प्रयोग गर्दैनौं,’ उनले भने।
विषादी प्रयोग नगरेको तरकारी स्वादका हिसाबले राम्रो हुने उनले बताए। ‘विषादी प्रयोग गरेको तरकारीजस्तो टिलिक्कै टल्किएको हुँदैन तर स्वाद निकै फरक पर्छ,’ उनले भने। उनीहरू आफ्नो व्यवसाय अझै फैलाउने योजनामा छन्। ‘काठमाडौंमा उपभोग हुने तरकारीमध्ये हामीले बेच्ने १/२ प्रतिशत मात्र हो। यसमा अझै धेरै गर्न बाँकी छ। त्यस्तै, यहाँ मात्र नभई देशका अन्य सहरमा पनि व्यवसाय विस्तार गर्र्ने विषयमा छलफलमा छौं,’ उनले भने।