मोहनराज ओझा माघ २६ मा नेपाल व्यवस्थापन संघ (म्यान) अध्यक्ष निर्वाचित भए। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर ओझाले खेतान समूह, चौधरी समूहमा समेत रहेर काम गरेका छन्। ग्रोथ सेलरका संस्थापक ओझा अहिले प्रबन्ध निर्देशकका रुपमा क्रियाशील छन्। व्यावसायिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय ओझासँग म्यान अध्यक्ष भएपछि सोधिएका ५ प्रश्नः
नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्ष बन्नुभएको छ। तपाईंको अबको रणनीति के हो?
नेपाल व्यवस्थापन संघको नियमित कार्यक्रम जस्तो, प्रि–बजेट, पोस्ट बजेट, मोनिटरी पोलिसी, कन्भेनसनलाई निरन्तरता दिँदै अहिले नेपालको लगभग सबै क्षेत्र- चाहे त्यो आर्थिक, सामाजिक, राजनीतिक नै किन नहोस्, धराशयी हुनुमा सबै व्यवस्थापनका स–साना कमजोरीले गर्दा नै हो भन्ने हाम्रो धारणा छ। त्यसैलाई आत्मसात् गर्दै तीनै तहका सरकारसँग यसमा काम गर्ने तत्परता देखाउने, सीईओ कन्फ्रेन्सलाई निरन्तरता दिएर चाँडै आयोजना गर्ने योजनामा छौं। त्यसैगरी नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढने, देशमा व्याप्त सबै प्रकारका राष्ट्रिय बहसका विषयवस्तुमा सरोकारवाला ‘स्टेकहोल्डर’ सँग मिलेर डिस्कोस चलाउने र त्यसका निचोड सम्बन्धित निकायमा उपलब्ध गराउने योजना छ।
विगतमा म्यानको नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुन्थ्यो। तर, पछिल्लो समय त्यस्तो देखिएको छैन। के म्यानको महत्त्व घटेको हो?
म्यान सबै प्रकारका व्यवस्थापकको छाता संगठन पनि हो। जहाँसम्म नेतृत्व प्रतिस्पर्धाको विषय उठाउनुभयो, त्यो यसपालि हामीले समझदारी गरेर यो स्थानमा पुर्याएका हौं। किनभने, म्यानजस्तो व्यवस्थापकको पवित्र संस्थामा चुनाव गराएर वातावरण धूमिल हुनबाट बचाउन प्रयास गरेका पनि हौं। त्यसैले सबै प्रकारका स्टेकहोल्डरलाई एक ठाउँमा राखेर म्यानको नयाँ इतिहास रचेका छौं। जहाँसम्म म्यानको महत्त्व घटेको कुरा छ, त्यो त संस्थाको सदस्यता बढोत्तरीबाटै धेरै थाहा हुन्छ। अहिले नेपाली सामाजका युवा प्रबन्धक म्यानसँग सहकार्य गर्न लालायित छन्। त्यसैले आजीवन सदस्य संख्या र संस्थागत सदस्य संख्याको ग्राफ उकालो लागेबाट अनुमान गर्न सक्छौं, म्यानको नेपाली समाजमा कति ठूलो महत्त्व छ भनेर ।
तपाईं आफ्नै व्यावसायिक संस्थामा क्रियाशील हुनुहुन्छ। तपाईंको कामको प्रकृतिले म्यानमा खुलेर काम गर्न समस्या हुन्छ भन्ने धेरैको प्रश्न छ, कसरी जिम्मेवारी निर्वाह गर्नुहुन्छ?
सर्वप्रथम त मैले आफ्नै संस्था २००८ मा केही उद्देश्यका साथमा स्थापना गरेको हुँ। म्यानको सदस्यता २०१० मा लिएको हुँ। त्यसैबाट तपाईं अनुमान गर्न सक्नुहुन्छ, त्यो कसरी एउटै प्रकृतिको भयो? म्यान ४२ वर्षको स्वर्णिम इतिहास बोकेको गैरनाफामूलक, गैरराजनीतिक र स्वार्थरहित संस्था हो। अनि एउटा प्रालि कम्पनी र म्यानजस्तो संस्था कसरी एउटै प्रकतिको भयो? धेरै प्रश्न गर्नेलाई मेरो प्रतिप्रश्न हो, यो। यो प्रश्न त्यस्ता व्यक्तिले उठाउने गर्छन्, जसले म्यानजस्तो संस्थालाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रयास गर्छन्। साथै, पछिल्लो एक दशकमा म्यानलाई कसले, कति योगदान गरेको छ, त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको। यी र यस्तै सार्वजनिक संस्थामा जहाँजहाँ छु जस्तो, म्यान, एचआर सोसाइटी, फोसिन, रोटरीलगायत यी सबैमा मेरो संस्था र व्यवसायकै कारणले आबद्ध हुन सकेको छु। योगदान पनि दिन सकेझैं लाग्छ। यी सबै संस्थामा योगदान गर्न समय, सीप र पैसा सबै चाहिन्छ, जुन मेरो संस्थाबाट मलाई प्राप्त भइरहेको छ। सोही कारण मैले यस्ता संस्थामा आबद्ध हुने सामथ्र्य राख्छु।
म्यान संस्थागत रुपमा पुरानो र धेरै उच्चपदस्थ व्यक्ति संलग्न रहँदै आएको संस्था हो। तर, पछिल्ला वर्षमा खासै सक्रिय भएको पाइँदैन। किन?
त्यस्तो होइन। म्यानले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ। कोभिडपछि केही सुस्ताएको अनुभव हामी सबैले गरेका छौं। त्यसमा धेरै माध्यमले काम गरिरहेका हुन्छन् र यस्ता संस्थाका गतिविधि बढाउन आर्थिक जोहोको ठूलो र महत्त्वपूर्ण भूमिका हुन्छ। तपाईंहरु पछिल्लो दुई वर्षयताको देशको आर्थिक अवस्था सहजै अनुमान गर्न सक्नुहुन्छ। तर, अब आगामी दिनमा तपाईंले म्यानका दर्बिला कार्यक्रम देखन सक्नुहुनेछ। यसमा मिडियाका साथीहरुको सहयोग अपेक्षा छ।
म्यानजस्तो संस्थामा सरकारका उच्च अधिकारी पनि छन्। तर, मुलुकको कार्यकारी अधिकारमा रहेकाहरु व्यवस्थापकीय क्षमतामा जहिल्यै कमजोर सावित हुन्छन्, किन?
हेर्नुस्, तपाईं–हामी सबै राजनीतिबाट अलग हुन सक्दैनौं। यसको बिँडो सम्हाल्नेहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा अगाडि बढ्न नसक्नु, समाजमा भएका म्यान र अन्य संस्थामा भएका, कुशल व्यवस्थापकलाई ‘राइट म्यान राइट प्यालेस’ गरेर जिम्मेवारी दिन नसक्नु र देशको स्थायी सरकार कर्मचारीतन्त्रलाई जिम्मेवारी दिएर बलियो बनाउनु नसक्नु नै कमजोरी हुनुको प्रमुख कारण हो भन्ठान्छु। यसमा म्यानले अगामी दिनमा पक्कै पनि सक्रियता देखाउँदै सल्लाहकारको भूमिका वहनको प्रयास गर्नेछ।