घुमघाममा अभ्यस्त नेपालीलाई मुक्तिनाथ नयाँ नाम होइन। घुम्न चाहनेका लागि होस् वा धार्मिक आस्था राख्नेको रोजाइमा पर्ने प्रमुख गन्तव्यभित्र पर्छ मुस्ताङको मुक्तिनाथ। प्राकृतिक तथा धार्मिक दृष्टिकोणबाट निकै महत्त्वपूर्ण स्थलका रूपमा रहेको मुस्ताङ दुई उच्च हिमशृृङ्खला धौलागिरि र नीलगिरि हिमालको बीचमा छ। हिन्दु र बौद्ध समुदायको आस्थाको प्रतीक मानिने मुक्तिनाथ प्रसिद्ध तीर्थस्थलमध्येको एक हो।
मुक्तिनाथ दर्शन गर्न विश्वभरिका हिन्दु र बौद्ध समुदायका मानिस आउँछन्। प्राकृतिक दृश्यावलोकन र तीर्थस्थल दर्शन गर्न मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन्। यस अर्थमा मुस्ताङ प्रकृति र अध्यात्मको ‘फ्युजन’ हो।
००००
दर्शन गर्न आउने हजारौं धार्मिक पर्यटकलाई लक्ष्यित गरी मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन्। खासगरी अत्याधुनिक सुविधा सम्पन्न र लक्जरी सुविधा खोज्ने ग्राहक लक्ष्यित गरी सञ्चालित ‘ल्हो मुस्ताङ हिमालयन रिसोर्ट’ ले सबैको ध्यान तानिरहेको छ।
भौतिक पूर्वधार हिसाबले अति नै विकट मानिने मुक्तिनाथमा एक वर्षअघि त्यहीँका स्थानीय गैरआवासीय नेपाली सोनाम लामाले एकल स्वामित्वमा यो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। मुक्तिनाथ क्षेत्र आउने पर्यटकलाई उत्कृष्ट सेवा सुविधा दिने उद्देश्यसाथ सञ्चालित रिसोर्टले आधुनिक शैलीमा परम्परागत पृष्ठभूमिको झल्को दिन्छ।
यसअघि उक्त क्षेत्रमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट नभएकै कारण बास बस्न चाहनेहरू पनि बाध्यताले फर्किने गरेका थिए। सोही बाध्यता हटाउन लामाले रिसोर्ट निर्माण गरेका हुन्।प्राकृतिक सुन्दरताको खानी मुक्तिनाथलाई चारैतिरबाट हेर्न सकिने गरी रिसोर्ट निर्माण भएको छ। मन्दिर नजिकै सञ्चालित रिसोर्टका हरेक कोठाबाट मुक्तिनाथ क्षेत्रका अद्भुत दृष्य नियाल्न सकिन्छ।
खुला आकासमुनि ३६० डिग्रीमा धौलागिरि र नीलगिरि हिमालका दृष्य आँखैअगाडि देख्न पाइन्छ। चौबिसै घन्टा ती हिमालका दृष्य रिसोर्टबाट सहजै हेर्न सकिन्छ। अझ, दिउँसोभन्दा रात्रिकालीन समयमा हिमाललाई छायाको रूपमा स्पर्श गर्दाको मजा बेग्लै हुन्छ।
००००
मुस्ताङ छुसाङस्थित रातो–रातो अग्लो पहाडको गल्छीबाट बग्ने कालीगण्डकी नदीको खोंचको दृष्यले त्यहाँ पुग्ने पर्यटक मोहित हुन्छन्। छुसाङको मुस्ताङगेट नजिकैको पहाड र चैले गाउँसँग जोडिएको पहाडमा प्वालैप्वाल देखिन्छ। यसप्रकारको पहाडको प्वाल कृत्रिम नभई प्राकृतिकरूपमा उत्पत्ति भएका हुन्।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका आसपासबाट बग्ने खोला र दामोदरकुण्ड नदी र बीचमा पर्ने चराङ र घमी खोलाको मिश्रण नदीलाई कालिगण्डकी नदी भन्ने गरिन्छ।
छुसाङको मुस्ताङगेट नजिकैको मोटरेबल र मुस्ताङ गेटको राताम्मे अग्ला पहाडको प्रोफाइलले पर्यटकलाई त्यहाँ पुग्दा टक्क रोकिन बाध्य गराइदिन्छ।
००००
हाइअल्टिच्युडमा सुविधासम्पन्न रिसोर्ट
समुद्र सतहबाट ३ हजार ७ सय १० मिटर उचाइमा रहेको यो रिसोर्ट स्याउ फार्मसहित करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ। स्याउ बगैंचाबीचमा रहेको रिसोर्टमा २८ कोठा छ। जसमा २० डिलक्स र चार भिल्ला छ।
एउटा भिल्लामा दुई⁄दुई कोठा छ। रिसोर्टमा बस्ने ग्राहकले प्रतिरात डिलक्स कोठाको १ सय ७० अमेरिकी डलर र भिल्लाको प्रतिकोठा २ सय १० डलर तिर्नुपर्छ। यसमा बिहानको खाजा र कर समावेश गरिएको छ।
योबाहेक बिहानको र बेलुकाको खानाको छुट्टै पैसा तिर्नुपर्छ। रिसोर्टभित्र प्रवेश गर्नेबित्तिकै मुस्ताङको झल्को त्यसभित्र पनि पाइन्छ। ठूलो पार्किङ क्षेत्र रहेको रिसोर्ट प्रवेश गर्दा कुनै पनि दरबारभित्र प्रवेश गरिएको जस्तो आभाष हुन्छ। त्यसमाथि रिसोर्टका स्टाफहरूका मुस्कानले थकान सबै मेटिदिन्छ।
लेकाली आतिथ्यतामा रम्न चाहनेका लागि यो रिसोर्ट निकै उपयुक्त छ। रिसोर्टको लबीमा राखिएका सोफा र भित्तामा टाँगिएका तस्बिरले कुनै म्युजियमभित्र छिरेजस्तो आभाष गराउँछ। लबीभित्रै छिर्ने मधुरो घामको रापले बाहिरको चिसो बिर्साइदिन्छ। पुरानो मौलिकता झल्किने गरी सजाइएका हरेक सजावटले जो कोहीको मन भुलाउँछ।
आकर्षक सिटिङले रेस्टुरेन्टमै बसौं–बसौं खालको आभाष जो कोहीलाई पनि हुन्छ। रेस्टुरेन्टसँगै रहेका हरेक झ्यालबाट मुक्तिनाथ मन्दिर नियाल्दै तातो कफीको चुस्की लिनुको मजा पनि बेग्लै हुन्छ। लहरै मिलेका भिल्लाबीचमा सञ्चालित वाटर फाउन्टेनले अर्कै सुन्दरता थपिदिएको छ। हिउँदमा पटपटी फुटेर सुक्खा देखिएको मुक्तिनाथमा कलकल झरिरहने वाटरफन्ट र त्यसमा जडान गरिएका सप्तरङ्गी बत्तीसँगै देखिने दृष्यले धेरैले मनमोहक बनाउँछ।
रिसोर्ट आउने ग्राहकको थकान मेटाउन र चिसोबाट जोगाउन ज्याकुजी र सौनाको समेत व्यवस्था गरिएको छ। प्रकृतिसँग निकट रहँदै योगा गर्न चाहनेका लागि समेत रिसोर्टले छुट्टै व्यवस्थापन गरेको छ। हुन त मुक्तिनाथमा पुग्नेबित्तिकै धेरैलाई लाग्न सक्छ यो नै प्राकृतिक उपचार हो। किनकि, त्यहाँको स्वच्छ र निश्चल बहिरहने हावाको स्पर्शले नै सबैको दिमाग फ्रेस गराउँछ। हजारौं तनावलाई पनि त्यहाँको मनोरम दृष्यहरू र हिमशृङ्खलाबाट आएको स्वच्छ हावाको शितलताले मनमा शान्ति दिलाउँछ।
रिसोर्टमा बस्नेमात्र होइन, त्यहीँबाट विभिन्न प्याकेजमा टुरसमेत गराइन्छ। सञ्चालक लामाका अनुसार मुस्ताङमा प्रख्यात घोडाचडीको सुविधासमेत त्यहाँ उपलब्ध गराइन्छ। बेला–बेलामा त्यस क्षेत्रमा घोडा दौडसमेत गरिन्छ। पर्यटकलाई एडभेन्चर टुरिज्मको मजा दिलाउने उद्देश्यसाथ घोडासँगै यात्रा गरेर विभिन्न गन्तव्य पु¥याइन्छ। योसँगै मुक्तिनाथको भिलेज टुरसँगै ५ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा दर्शन गर्न पाइन्छ।
याक र च्याङ्ग्राको सुकुटीको स्वाद
ल्हो मुस्ताङ हिमालयन रिसोर्टको अर्को विषेशता भनेको याक र च्याङ्ग्राको सुकुटी हो। हिमाली क्षेत्रमा पाइने याक र च्याङ्ग्राको मासु पारखीका लागि सहजरूपमा सुकुटी उपलब्ध हुन्छ। र, आफ्नो स्वादअनुसार बनाएर खान सकिन्छ। खानामा थकाली सेटको मजा त बेग्लै छ। जुम्लाको सिमीको दालको स्वाद सबैको जिब्रोमा झुन्डिन्छ।
न्यु इयरमा धनाढ्यहरूको जमघटले दिएको सन्देश
सन् २०२४ लाई स्वागत गर्न नेपालका प्रतिष्ठित उद्योगी–व्यवसायी मुक्तिनाथ पुगे। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं अस्ट्रेलियाका डलर अर्बपति शेष घले र उनीकी पत्नी जमुना घले, व्यावसायिक घराना वैद्यज अर्गनाइजेसनका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य र उनीकी पत्नी ऋतुसिंह वैधसहितको समूहले अङ्ग्रेजी नयाँ वर्ष २०२४ त्यहीँ मनाए।
अतिव्यस्त तालिका रहने व्यवसायीले मुक्तिनाथ गएर नयाँ वर्षको स्वागत गरिरहँदा उनीहरूको देश तथा विदेशमा रहेका साथीसङ्गीहरूले समेत त्यस क्षेत्रबारे राम्रैसँग जानकारी राख्न पाए। र, न्यु इयरसहित विभिन्न चाडपर्व सेलिब्रेसन गर्ने उपयुक्त गन्तव्यका रूपमा मुक्तिनाथ विकास भएको सन्देश स्वदेश एवं विदेशमा पुगेको छ।
लेक लाग्ने भ्रम
मुक्तिनाथ क्षेत्रमा बास बस्दा लेक लाग्छ भन्दै दर्शन गर्नेबित्तिकै फर्किने धेरै पर्यटक छन्। भारतीयहरू धेरै आउने भएकाले उनीहरू दर्शन गरेलगत्तै फर्किएर कागबेनी र जोमसोममा बास बस्न झर्ने गरेका छन्। खासगरी त्यस क्षेत्रमा सञ्चालित होटलहरूले आफ्नो व्यवसाय विस्तारका लागि मुक्तिनाथमा लेक लाग्ने हल्ला चलाउने गरेको पाइन्छ। उनीहरूले भनेजस्तो लेक लाग्ने स्थिति भने निकै न्यून छ।
त्यसोभए मुक्तिनाथमा पुग्दा लेक नै लाग्दैन त भन्ने प्रश्नहरू पनि आउन सक्छ। तर, सबैलाई लेक लाग्दैन। खानपान र आफ्नो जीवनशैलीमा ध्यान पु¥याउने हो भने लेक नलाग्ने झार स्वास्थ्य चौकी मुक्तिनाथका प्रमुख सुवास अधिकारीको भनाइ छ।
एक्कासि उचाइमा पुग्दा केही असहज हुनु स्वाभाविक भए पनि हल्ला गरिएजस्तो बिरामी भइहाल्ने स्थिति भने नरहेको उनी बताउँछन्। त्यसमाथि लेक लागिहाले पनि पर्याप्त उपचारका लागि स्वास्थ्य चौकी रहेको र मन्दिरभित्रै पनि प्राथमिक उपचार केन्द्र खडा गरिएको उनले बताए।
स्थानीय सोनाम लामासहितको अगुवाइमा त्यस क्षेत्रका होटल तथा रिसोर्टमा अक्सिन सिलिन्डर राखिएका छन्। योसँगै हाइअल्टिच्युड लागेका बिरामीलाई उपचार गर्न केन्द्रहरू राखिएको छ। जसका कारण मन्दिरमा पुग्नेबित्तिकै फर्किनुपर्ने बाध्यता रहँदैन। चिसोबाट बच्नका लागि रिसोर्टभित्र एसीसँगै हिटरको पर्याप्त व्यवस्थापन गरिएको छ।
स्वास्थ्य चौकी प्रमुख अधिकारीका अनुसार मुक्तिनाथ क्षेत्र आउने पर्यटकले पर्याप्त मात्रामा बाक्लो लुगा लगाउने, टोपी लगाउने र तातो चिज धेरै खानु उपयुक्त हुन्छ। धेरैले भोको पेटमा मन्दिर दर्शन गर्न खोज्दा भोकका कारण रिङटा लाग्ने र चिसोले टाउको दुख्ने समस्यासमेत लेक लागेको अनुमानमा आत्तिने गरेको पाइएको बताउँछन्।
त्यसैले यस्ता विषयमा आफैं सचेत भए लेक लाग्नबाट बच्न सकिने उनको भनाइ छ। पाथीभरालगायत उच्च स्थानमा रहेका धार्मिक स्थल जानसमेत मुक्तिनाथ क्षेत्रमा एकपटक भ्रमण गर्नेलाई सहज हुने उनी बताउँछन्।
बाह्रै महिना जान सकिन्छ मुक्तिनाथ
सडक पूवौधार पहुँचसँगै मुक्तिनाथमा बाह्रै महिना जान सकिन्छ। बेनी तातोपानीसम्म पुग्ने सडक केही ठाउँमा असहज भए पनि समग्रमा सडक यात्रा निकै सहज छ। अहिले पोखराबाट धेरै साना गाडी मुक्तिनाथसम्म भाडामा लैजाने गरिएको छ।
यस्तै ठूला गाडी पनि सहजै मुक्तिनाथसम्म जाने गरेको छ। बर्खायाममा केही ठाउँमा बाटो भत्किने सम्भावना रहे पनि मर्मतसम्भारका लागि जनशक्ति पर्याप्त रहेकाले मुक्तिनाथ दर्शनका लागि सधै सहज र सरल रहने स्थानीयको भनाइ छ।
अझ सिजनअनुसार मुक्तिनाथको रौनक नै फरक हुन्छ। मंसिर, पुसमा सुक्खा देखिने मुक्तिनाथमा वैशाखदेखि हरियाली सुरु हुन्छ। अर्थात्, स्याउको फूल खेल्ने मौसम सुरु हुन्छ र भदौ, असोजदेखि स्वाय टिप्ने सिजन सुरु हुन्छ। त्यसैले हरेक महिना त्यहाँ पुग्दा वातावरणमा पूर्णरूपमा परिवर्तन देख्न पाइन्छ।
कसरी जाने मुक्तिनाथ?
मुक्तिनाथमा विभिन्न ट्राभल एजेन्सीले प्याकेज बनाएर लैजाने गरेका छन्। यस्तै पारिवारिक भ्रमणमा समेत निस्किनका लागि काठमाडौंबाट बेनीसम्म सहज गाडी उपलब्ध हुन्छ। कतिपय भने पोखरामा एक रात बसेर मुक्तिनाथ जाने पनि छन्। पोखराबाट सिधा मुक्तिनाथ जाने साना गाडी पनि पाउन सकिन्छ। धेरै तीर्थयात्री भने साना गाडी लिएर म्याग्दी तातोपानी नुहाउनसमेत जाने गरेका छन्। धेरै मात्रामा भारतीयहरू निजी गाडी र भाडामा सार्वजनिक गाडी लिएर आउने गरेका छन्।
जहाजमार्फत यात्रा गर्नेहरू पनि धेरै पाइन्छ। काठमाडौंबाट पोखरासम्म र पोखराबाट जोमसोममा १५ मिनेटमा हवाई यात्रामार्फत पुग्न सकिन्छ। पोखराबाट जोमसोम उडान तारा एयर र समिट एयरले नियमित उडान गर्छ। मध्याह्न १२ बजेपछि जोमसोम क्षेत्रमा हावा लाग्ने भएकाले सामान्यतया बिहान ६ देखि बिहान ११ बजेसम्म उडान हुने गरेको छ।
हेलिकोप्टरमार्फत पनि मुक्तिनाथमा जान सकिन्छ। मन्दिर नजिकै हेलिप्याड बनाइएको छ। यस्तै ल्हो मुस्ताङ हिमालयन रिसोर्टमा पनि एकसाथ तीन हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड बनाइएको छ। काठमाडौंबाट मुक्तिनाथसम्म एउटा हेलिकोप्टरले सामान्यतया ३ हजार ५ सय अमेरिकी डलरमा लैजाने गरेको छ। यसमा १३ प्रतिशत भ्याट भने छुट्टै तिर्नुपर्छ।
हिमालपारिको जिल्ला मुस्ताङ
मुस्ताङ गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारिको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरि र निलगिरि दुई अग्ला हिमशिखरबीचमा छ। ३ हजार वर्षभन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको स्थानीयको भनाइ छ।
जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ। अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्छ। यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी बग्छ। यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ। जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ। जुन नेपालकै एक विशेष क्षेत्र हो।
प्राकृतिक एवं धार्मिक स्थलहरू
मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम), टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर गोम्पा, टुकुचे गोम्पा, टुकुचे मकल गोम्पा, टुकुचे रानी गोम्पा र मार्फा गोम्पा छ। लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाल, मुक्तिनाथ क्षेत्र, टुकुचे, नीलगिरि हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल, टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथाङ खर्कुलगायत क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन्।