काठमाडौं। आफ्ना आइडिया र सीपलाई व्यवसायमा परिवर्तन गर्ने हरेक नवउद्यमीको सोच हुन्छ। आइडिया भएर पनि त्यसलाई सही व्यवस्थापन गर्न नसक्नेको भीडमा आफूलाई स्थापित गराउनेमध्येकी एउटी हुन् नेहा। खेर गइरहेका कागजका सामग्रीलाई शृंगारको सामान बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढेकी नेहा अहिले उद्यमशीलतामा अग्रसर छन्।
बिबिए तेस्रो सेमिस्टर अध्ययन गरिरहेकी नेहा प्रविन काठमाडौंमा ‘लाइट वेट इयरिङ’को व्यवसाय गर्छिन्। सानैदेखि कागजका विभिन्न सामाग्री बनाउँदै आएकी नेहालाई ठूलो भएपछि यसैमा केही नयाँ गर्नुपर्छ भन्ने सोच पलाइरहन्थ्यो।
कागजका विभिन्न सामान सिर्जना गरिरहँदा यसलाई व्यावसायिक रुपमा ढाल्न तत्कालै सकिन्छ भन्ने लागेको थिएन, उनलाई।
आइडिया फुरिरहे पनि त्यसलाई तत्कालै प्रस्तुत गर्ने माध्यमको खोजीमा लागिरहिन्। कलेज अध्ययनकै क्रममा आइडिया स्टुडियोले विद्यार्थीको आइडियालाई प्रतिस्पर्धा गराउन लागेको जानकारी पाएपछि सहभागी भइन्, नेहा। संयोग उनको आइडियाले राम्रो स्थान पायो र उत्कृष्ट तीनमा पर्न सफल भयो।
...
बजारमा अहिले हरेक किसिमका डिजाइनको इयरिङ चलिरहेको छ। आफ्नो डे«सलाई ख्याल गर्दै मानिसले इयरिङ लगाइरहेका हुन्छन्। नेहा आफ्नो आइडिया र सीप सदुपयोग गर्दै बजारमा चलेको डिजाइन र ड्रेसअनुसारको इयरिङ बनाएर कला प्रस्तुतिमा अग्रसर छन्।
‘यो इयरिङको आइडिया महिलाको स्वास्थ्य समस्यासँग सम्बन्धित छ। हेभी इयरिङ लगाउँदा कानमा धेरै समस्या आउने, कानको प्वाल ठूलो हुने, कान चुँडिने, दुख्नेजस्ता समस्या आएर एकचोटि लगाएपछि ५–७ दिन लगाउँदै लगाउँदैनन्,’ नेहा भन्छिन्, ‘तर, मैले बनाएको इयरिङ पेपरको भएकाले सधैं लगाइरहन मिल्छ।’
इयरिङ लगाउने क्रममा चिलाउने, फोका आउने, भार पर्नेजस्ता समस्या उनले भोग्दै आइन्। नेहाकी आमामा पनि यस्ता समस्या देखिन्थे। त्यसैले यो समस्याबाट बच्न अध्ययन गरेर ‘लाइट वेट इयरिङ’ अगाडि बढाएको नेहा सुनाउँछिन्।
भविष्यमा यही कामलाई निरन्तरता दिने योजना उनले बुनेकी छन्। अहिले बनेका धेरैजसो इयरिङमा यहीँका सामग्री प्रयोग गरिएका ह्यान्डमेड हुन्। नेपालमै कतिपय सामान नपाएको खण्डमा बाहिरबाट ल्याउनुपर्छ। यसमा सामानको मूल्य महँगो छ। मूल्य घटाउनकै लागि भारतबाट सामान ल्याउनुपर्ने बाध्यता पनि छ।
‘लाइट वेट इयरिङ’मार्फत इयरिङ बनाएर उनले सानोतिनो व्यापार सुरु गरिसके पनि सुरुवाती चरणमै छ। भारतबाट यसका लागि आवश्यक सामग्री ल्याई इयरिङ बनाएर बिक्री गर्ने नेहाको योजना छ। अहिले यसलाई व्यावसायिक रुपमा अघि नबढाए पनि बनाएका सामान साथीभाइ तथा आफन्तीमा बिक्री गरिरहेको नेहा बताउँछिन्।
उनले बनाएका सामग्री धेरैले मन पराएका छन्। अब यसलाई अनलाइन प्लेटफर्मबाट बिक्री गर्ने योजनामा नेहा छन्। आफूले २ सय रुपैयाँ हाराहारीमा सामग्री बिक्री गरेको उनले बताइन्। अब विभिन्न मोडलका इयरिङ बनाउने योजनामा लागेको उनको भनाइ छ। कलेज हन्टबाट १ लाख पुरस्कार प्राप्त भएसँगै हौसला थपिएकाले ‘लाइट वेट इयरिङ’लाई राम्रो व्यवसाय बनाउने सोच नेहामा छ।
...
नेहाको लाइट इयरिङले कागजबाट शृंगार सामग्री उत्पादनको आइडिया प्रस्तुत गरेको थियो। सानै उमेरदेखि कागजका विभिन्न सामाग्री बनाउन रुचि राख्ने नेहालाई १२ कक्षाको परीक्षा दिएपछि इयरिङ बनाएर व्यवसाय नै सञ्चालन गर्न सकिन्छ भन्ने सोच पलायो। सानै उमेरदेखि कागजका सामग्री बनाउने आफ्नो रुचिमा विशेषगरी गृहिणी महिलाका लागि आर्थिक स्थिति सुधारको पाटो हुने ठानिन्।
पछिल्लो समय बजारमा इयरिङदेखि शृंगारका अनेकन सामग्री उपलब्ध छन्। तर, त्यस्ता सामग्रीले स्वास्थ्यमा नकारात्मक असर पु¥याएका घटना सुनिन्छन्। भोग्दै र देख्दै आएका यी समस्यालाई आफूले बनाइरहेको इयरिङले एक हदसम्म समाधान गर्न सक्ने लागेपछि निरन्तरता दिनतर्फ उनी लागिन्।
मानिसले दैनिक जीवनमा थरी–थरीका इयरिङ प्रयोग गर्छन्। आफ्नो ड्रेसलाई मिल्दो इयरिङ लगाऔं भन्ने सबैको चाहना हुन्छ। कसैलाई हेभी मन पर्छ भने कसैलाई साधारण मन पर्छ। यसैलाई दृष्टिगत गरेर नेहाले कागजबाट लाइट वेट इयरिङ बनाउने सोच बनाएकी हुन्।
‘बजारमा पाइने अधिकांश इयरिङ हेभी हुन्छन्। यस्ता इयरिङ प्रयोगकर्ताको छालामा समस्या आउने पनि हुन्छ,’ नेहाले भनिन्, ‘मैले बनाएको इयरिङ हलुका र पेपरको हुन्छ। यो सबैले प्रयोग गर्न मिल्छ।’ उनी स्वास्थ्यका हिसाबमा पनि आफूले बनाएको इयरिङ लाभदायक हुने बताउँछिन्।
छालामा समस्या नआउने, हलुका भएकाले साना बच्चाले पनि ठूलो आकारको इयरिङ लगाउन मिल्ने र सबै व्यक्तिका लागि उपयुक्त हुने उनले बताइन्। यही आइडियालाई उनले कलेज आइडिया हन्टमा प्रस्तुत गरेकी हुन्। त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएकाले पनि अब यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोचमा छन्, नेहा।