काठमाडौं। सिजी मोटर्सले हिरो मोटरसाइकल बिक्रीपछिको सेवा र पार्टपुर्जा अभाव हुन नदिइने प्रतिबद्धता जनाएको छ। नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सिजी मोटर्सले बिक्रीपछिको सेवा चुस्त बनाउन लागेको हो।
केही समयदेखि हिरोको आधिकारिक बिक्रेताबारे अन्योल कायम रहँदा उपभोक्ताले बिक्रीपछिको सेवामा समस्या बेहोर्नुपरेको कम्पनीले जनाएको छ। सिजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको कम्पनीको दाबी छ।
‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्री मात्र गर्दैनौं। ग्राहक पूर्ण सन्तुष्ट हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिनेछौं,’ कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्री एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौं। अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन।’
हिरोको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएलगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ। ‘कम्पनीको प्रतिबद्धता छ, हामी उत्कृष्ट थ्री एस सेवा दिने प्रतिबद्धता जाहेर गर्छौं। हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले अनुभव गर्ने गरी उत्कृष्ट बनाउनेछौं। पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौं,’ कम्पनीले भनेको छ।
मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।
पछिल्लो केही समय पार्टपुर्जा आयात नभएकाले बजारमा अभाव देखिए पनि अब अभाव धेरै समय नरहने सिजी मोटर्सका सेल्स एन्ड अपरेसन जिएम प्रकाश देवकोटाले बताए। ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ। ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने।