काठमाडौं। बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बीएनएल)को सेयर मूल्यमा लगातार सकरात्मक सर्किट लागिरहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता भएको ४ दिन (सोमबार, मंगलबार, बुधबार र बिहीबार)को कारोबारमा समान ५०/५० कित्ता सेयर किनबेच भएको छ।
तर, मूल्य भने लगातार ‘सर्किट’ लागेर (१० प्रतिशत)ले बढेको छ। बिएनलको पछिल्लो ४ दिन मात्रै होइन, पछिल्ला २७ कारोबार दिनमा १४ दिन सकारात्मक सर्किट लागेको छ भने अरु १२ दिन मूल्य बढ्दा १ दिन मात्र २ प्रतिशतले मूल्य घटेको छ। बीएनलको नेप्सेमा खासै कारोबार हुँदैन।
२०७३ कात्तिक १७ गते प्रतिकित्ता १६६० रुपैयाँमा किनबेच भएको बीएनएल २०८० फागुन ३ गते बिहीबार ९३११ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। त्यसो त बीएनएलको मूल्य उच्च दरले बढ्यो भनिरहँदा बीएनएलकै सहायक कम्पनीका रुपमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेड (बिएनटीएल) को मूल्य भने महिनौंदेखि प्रतिकित्ता १२ हजार रुपैयाँभन्दा माथि छ।
बोटलर्स नेपाल बालाजुमा कोकाकोला साउथ वेस्ट एसिया होल्डिङको ७६.१६ प्रतिशत, गोर्खा बु्रअरी प्रालिको २२ प्रतिशत र सर्वसाधारण सेयरधनीको १.८४ प्रतिशत सेयर हिस्सा छ। २०८० असोजसम्म १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बोटलर्स नेपालको ५ अर्ब ७१ करोड ४५ लाख ६३ हजार सञ्चित कोष र नन् कन्ट्रोलिङ इन्ट्रेस्ट ३७ करोड ४६ लाख ९० हजार गरी कुल पुँजी ६ अर्ब २८ करोड ४१ लाख ४१ हजार रुपैयाँ छ।
तर, त्यहि बोटलर्स नेपालकै स्वामित्वमा रहेको बिएनटिएलको सेयर मूल्य विहीबार प्रतिकित्ता १२०११ रुपैयाँ छ। जवकी बिएनटिएलको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ। बिएनटिएलमा बोटलर्स नेपालको ९०.७८ प्रतिशत हिस्सा छ भने ९.२२ प्रतिशत हिस्सा सर्वसाधारणको छ। २०८० असोजसम्म बिएनटिएलको सञ्चित कोषमा ३ अर्ब ९२ करोड ८ लाख ७७ हजार रुपैयाँ छ।
अझै पनि बिएनटिलको सेयर मूल्य बिएनएलको भन्दा प्रतिकित्ता करिब ३ हजार रुपैयाँ बढी छ। बिएनलको मूल्य एकोहोरो बढ्नुका पछाडीको मूल्य कारण पनि यही हो। मुख्य कम्पनीको भन्दा सहायक कम्पनीको सर्वसाधारण हिस्सा बढी भएको स्थितिमा मूल्य पनि बढी छ।
अर्कोतिर वित्तीय विवरणका हिसावले पनि कम्पनीको समग्र अवस्था सहायक कम्पनीको भन्दा मूल कम्पनीको राम्रो छ। कम हिस्सेदारी भएकाले बजारमा सेयरको उपलब्धता पनि मूल कम्पनीकै कम छ।
लगानीकर्ता छोटेलाल रौनियार सर्वसाधारणको हिस्सा थोरै भएको कम्पनीको सेयर सिमित व्यक्तिको हातमा हुने भएकाले उनीहरुको चाहनाअनुरुप मूल्य घटबढ् हुने अवस्था रहेको बताउँछन्। ‘बिएनएलजस्ता कम्पनीको सेयर स्वामित्व सिमित व्यक्तिमा छ।
सीमित मानिसको स्वामित्व बढी हुने भएकाले आमनागरिकले खासै चासो दिँदैनन्,’ रौनियार भन्छन्, ‘तसर्थ स्वामित्व भएकाहरुले भाउ बढाउन अनेकन हत्कण्डा अपनाउँछन्।’ बिएनएल मात्रै नभएर सर्वसाधारणको सेयर स्वामित्व कम रहेका कम्पनीहरुको सेयर मूल्य बढाउने/घटाउने काम सिमित व्यक्तिले गर्ने रौनियार बताउँछन्। यस्ता कम्पनीको सेयर किन्न खोज्यो भने पनि भनेको बेलामा पाईंदैन। सिमित सेयरधनी भएका कम्पनीको मूल्य बढाउन सहज हुने गर्दछ।
अर्कोतिर बजारमा राम्रो उपस्थिति जनाएका कम्पनीको १०/२० कित्ता सेयर राख्न पाए पनि राम्रो हुन्थ्यो भन्ने धेरै लगानीकर्ताको चाहना हुन्न्छ। यस्ता कम्पनीले प्रतिफल पनि राम्रो दिने हैसियत राखेका हुन्छन्। अर्का लगानीकर्ता नवराज दाहालले आपूर्ति एकदमै कम हुने र कारोबार गर्ने मानिस बढी हुने हुँदा सेयर कित्ता कम भएका कम्पनीको मूल्य तीव्र गतिमा बढ्ने गरेको बताउँछन्।
‘बिएनएलको १९ लाख ४८ हजार कित्ता सूचीकृत छ तर अहिले २० लाखमाथि टिएमएस खोलेर कारोबार गरिरहेका छन्। सबै टिएमएसधारीले १०/१० कित्ता किन्न चाहेभने पनि कुल सेयरले पुग्दैन,’ दाहाल भन्छन्, ‘एक चौथाई हिस्सा बजारमा कारोबारका लागि खुला भएकाले त्यसले मूल्यमा स्वाभाविक असर पार्दछ।
नोक्सानीमा बोटलर्स नेपालका दुवै कम्पनी
सेयर मूल्य अकासिए पनि बोटलर्स नेपालका दुवै कम्पनी नोक्सानीमा रहेको विवरण सार्वजनिक भएको छ।
दुवै कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको विवरणमा बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। गत वर्षको यसै अवधिमा यो कम्पनी १५ करोड ३२ लाख नाफामा थियो।
त्यस्तै, बोटलर्स नेपाल (बालाजु) ले पनि १५ करोड १५ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। गत वर्ष कम्पनीले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। सञ्चालन आम्दानी घट्दा कम्पनी घाटामा गएको हो। गत वर्ष कम्पनीले ५ अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो। अहिले घटेर ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कायम भएको हो।