काठमाडौं। पछिल्लो समय उडानमा मन्दी छाउँदा विभिन्न हेलिकोप्टर कम्पनीले पाइलटलाई बिदामा पठाउन थालेका छन्। सरकारी नीतिकै कारण हेलिकोप्टर उडान महँगो हुँदै गएपछि विदेशी पर्यटक नभएका बेला पाइलटलाई बिदामा राखिएको हो।
खासगरी पर्यटनका लागि जनवरी, फेब्रुअरी र मार्च महिनालाई अफ सिजनको मानिने गरेको छ। एक हेलिकोप्टरका सञ्चालकका अनुसार केही महिनादेखि नै अर्को सिजन सुरु नहुँदासम्म पाइलटहरु बिदामा राखिएका छन्। हेलिकोप्टर कम्पनीले हाल निश्चित पाइलट जगेडामा राखेर आपतकालीन र नाफा आउने क्षेत्रमा मात्र उडान गर्दै आएका छन्।
विगत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ‘अफ’ सिजनमा हेलिकोप्टरको व्यापार घटेको व्यवसायीको भनाइ छ। चालू आर्थिक वर्षदेखि सरकारले हेलिकोप्टर उडानमा मूल्य अभिवृद्धि कर(भ्याट) लगाएको छ।
सोही कारण गत वर्षको तुलनामा अहिले १३ प्रतिशत अतिरिक्त शुल्क पर्यटकले तिर्नुपर्छ। यति मात्र हैन, उद्दार उडानमा जाँदासमेत भ्याट तिर्नुपर्ने हुँदा हेलिकोप्टर सकेसम्म कम प्रयोग हुन थालेको व्यवसायी बताउँछन्। सिजनका बेला भ्याई–नभ्याई हुने हेलिकोप्टर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको छ।
विगतमा यो सिजनमा माउन्टेन फ्लाइट जाने र कालापत्थरमा अवतरण गर्ने विदेशी एवं स्वदेशी पर्यटक धेरै हुने गरेका थिए। तर, अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यहाँ जान रोक लगाएको छ। प्राधिकरणले कालापत्थरमा अवतरण गर्न रोक लगाएकै कारण अफ सिजनमा त्यस क्षेत्रमा हुने उडान सबै घटेको ती व्यवसायीको भनाइ छ।
अहिले कालापत्थरमा अवतरण गर्न २ जना मात्र पर्यटक लगेर जान पाउने नीति प्राधिकरणले ल्याएको छ। तर, दुई जना मात्र जाँदा ४ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्छ। अझ त्यहाँ भ्याट जोडिएको हुँदैन। सोही कारण अत्यधिक महँगो हुने भएकाले कालापत्थर उड्नेको संख्या घटेको व्यवसायीको गुनासो छ।
विगतमा यो सिजनमा माउन्टेन फ्लाइट जाने र कालापत्थरमा अवतरण गर्ने विदेशी एवं स्वदेशी पर्यटक धेरै हुने गरेका थिए। तर, अहिले प्राधिकरणले अवतरण गर्न रोक लगाएकै कारण अफ सिजनमा त्यस क्षेत्रमा हुने उडान सबै घटेको व्यवसायी बताउँछन्।
२ जना जाँदा महँगो हुने र ४ जना जाँदा थप १७ सय डलर थप गर्नुपर्ने हुन्छ। यसअघि २ जनामा अर्को २ जना थप्दा ३ देखि ४ सय डलर मात्र तिर्दा पुग्थ्यो। अहिले सरकारी नीतिकै कारण व्यवसाय संकटमा पर्दै गएको वायुसेवा सञ्चालक संघको भनाइ छ।अर्कोतर्फ गत वर्ष धेरै हेलिकोप्टर दुर्घटना भएकाले पनि असुरक्षा महसुस गरेर आन्तरिक पर्यटक सकभर उडान गर्न नचाहेको हुन सक्ने व्यवसायीको बुझाइ छ।
प्राधिकरणसँग असन्तुष्ट तर बोल्न चाहन्नन्
हेलिकोप्टर व्यवसायीको हवाई उडान नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग धेरै गुनासो रहे पनि उनीहरु खुलेर बोल्न चाहँदैनन्। यतिसम्म कि अहिले कुनै प्रतिक्रिया दिँदासमेत व्यवसायीले सकभर आफ्नो नाम उद्धृत गर्न चाहँदैनन्। नाम उद्धृत गरेर कुनै प्रतिक्रिया दिँदा प्राधिकरणले कारबाही गर्ने र आफ्नो कम्पनीको फाइल नै रोक्ने त्रासले चुपचाप रहँदै आएको व्यवसायीको भनाइ छ।
’प्राधिकरणले ल्याएका अधिकाशं नीति राम्रा छन्,‘ एक व्यवसायीले भने, ’त्यसभित्रका केही विषय संशोधन गर्न आवश्यक छ तर त्यसबारे बोल्ने आँटै छैन‘। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले केही महिनाअघि वायुसेवा सञ्चालक संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई कारबाही गर्ने चेतावनी दिएपछि व्यवसायीले सकभर प्रतिक्रियाविहीन हुन चाहेको बताइन्छ।