काठमाडौं। नेपालका प्रख्यात उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन्। १५– १६ फेब्रुअरी २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातिप्राप्त होटेलियर्स सहभागी हुँदै छन्।
नेपालको हस्पिटालिटी इन्डस्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो। सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक एवं सिइओ राहुल चौधरीलाई मात्रै आमन्त्रण गरिएको छ।
चौधरीले ‘हस्पिटालिटी इन्भेस्टमेन्ट एन्ड फन्डिङ आउटलुक’ विषयमा कि नोट स्पिच दिनेछन्। हस्पिटालिटी इन्डस्ट्रीको विश्वव्यापी ट्रेन्ड र यसको अवस्था, ग्लोबल एन्ड डोमेस्टिक हस्पिटालिटी ट्रेन्ड र हस्पिटालिटी इन्डस्ट्रीले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीतिलगायत विषयबारे अध्यक्ष चौधरीले बोल्नेछन्। सम्मेलनमा विश्वविख्यात हस्पिटालिटी ब्रान्डका ८० बढी उच्चपदस्थ पदाधिकारीले भाग लिँदैछन्।
विश्वविख्यात हस्पिटालिटी ब्रान्डका ८० बढी उच्चपदस्थ पदाधिकारी सहभागी हुने
सम्मेलनमा आईएचसिएलका प्रबन्ध निर्देशक एवं सिइओ पुनित चटवाल, एकोरका सिनियर भाइस प्रेसिडेन्ट (अपरेसन, इन्डिया एन्ड साउथ एसिया) पुनित धवन, हिल्टनका भाइस प्रेसिडेन्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेन्ट राजीव मेनन, र्याडिसन होटल ग्रुपका साउथ एसिया एडभाइजर केबी कछरु, अक्स एयरका को–फाउन्डर आकाश घोषले सहभागिता जनाउनेछन्।
सिजी हस्पिटालिटीले १२ देशमा १७० होटल (१००० प्लस किज) सञ्चालन गरिरहेको छ। नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नति कल्चरल भिलेजलगायतका होटलमा लगानी गरेको छ।
यस्तै, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरुला, एयर इन्डियाका सिइओ एन्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राइटर जावेद अख्तरलगायत विश्वव्यापी ख्यातिप्राप्त व्यक्तित्वको सहभागिता रहनेछ।
सिजी हस्पिटालिटीले १२ देशमा १७० होटल (१००० प्लस किज) सञ्चालन गरिरहेको छ। नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नति कल्चरल भिलेजलगायतका होटलमा लगानी गरेको छ।
सिजी हस्पिटालिटीको यात्रा दुई दशकअघि आईएचसिएलसँगको साझेदारीबाट सुरु भएको हो। उक्त समय श्रीलंका र माल्दिभ्समा दुई होटलबाट भएको साझेदारी अहिले १७ होटलमा विस्तार भएको छ। सिजी हस्पिटालिटीले निकट भविष्यमा आईएचसिएलसँगको साझेदारीमा नयाँ अध्याय सुरु गर्ने तयारी गरिरहेको छ।