काठमाडौं। नेपालमा मनोरेल स्थापनाका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ। नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बु–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समान उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कार्य गर्ने उल्लेख छ। राजधानी सिउलमा सम्पन्न ‘स्पोर्ट्स ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सात वटा सम्झौता भएका थिए।
‘ड्राइभिङ नेसनल डेभलपमेन्ट’ नारा दिइएको उक्त गोष्ठीको कोरियास्थित नेपाली दूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेका थिए।
कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारका लागि कोरियाको कलेज अफ आर्ट्स एन्ड फिजिकल एजुकेसनबीच पनि सम्झौता भएको छ। सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले हस्ताक्षर गरे।
त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एन्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउन्डेसनबीच पनि सम्झौता भएको छ।
सम्झौतामा ग्लोबन एनआरएनए फाउन्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एन्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एन्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरे।
त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवद्र्धन, फ्याकल्टी कार्यक्रममा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यका लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्राजुएट स्कुल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ।
सम्झौतामा बीके २१ तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षर गरे।
अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग एवं सहकार्यका लागि पनि सम्झौता भएको छ। सम्झौतामा ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवर्द्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरे।
यस्तै, टेबलटेनिस खेलका लागि शैक्षिक र प्रविधि विकास र अनुसन्धान गर्ने सम्झौता भएको छ। सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थविक्रम पाँडेले हस्ताक्षर गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीकोको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा. ज्योति प्याकुरेल, हान्याङ विश्वविद्यालयका प्रमुख कि–जङ ली, एनआरएन आईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले, एमआइटी फाउन्डेसनको निदेशिका जमुना गुरुङ, कम्बोडियाली राजदूत छिङ बोटम रंगसाई, पाकिस्तानी राजदूत नबिल मुनिरले विशेष सम्बोधन गरेका थिए ।
उक्त अवसरमा विभिन्न विश्वविद्यालयका ख्यातिप्राप्त प्राध्यापकलगायत सम्बन्धित विषयविज्ञले १५ वटा कार्य तथा शोधपत्र प्रस्तुत गरेका थिए।