काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशबाट परिवत्र्य मुद्रामा ऋण ल्याउने बाटो खुला गर्दा पनि लिन सकेका छैनन् । बैंकिङ प्रणालीमा क्रेडिट क्रञ्चको समस्या बढेपछि २ वर्षअघि केन्द्रीय बैंकले परिवत्र्य मुद्रामा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाटो खुला गरेको थियो ।
हालसम्म एनएमबी बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गरी ३ अर्ब १५ करोड ८१ लाख रुपैयाँ मात्र विदेशबाट ऋण लिएका छन । जसमध्ये एनएमबीले ३ अर्ब १५ करोड रुपैयाँ र निर्धन उत्थानले ८१ लाख ८० हजार रुपैयाँ विदेशबाट ऋण ल्याएको राष्ट्र बैंकका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
उनका अनुसार एनएमबीले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट १ अर्ब ५० करोड, वेलायतको सीडीसी ग्रुपबाट १ अर्ब ५० करोड र एमएसएमई लक्जम्बर्गबाट १५ करोड रुपैयाँ ऋण लिएको छ । एनएमबीले ३ पटक विदेशी बैंकबाट ऋण लिइसकेको छ । अन्य बैंकसंग पनि छलफल जारी रहेको एनएमबीले जानकारी दिएको छ । निर्धनले अमेरिकाको होल प्लानेट फाउन्डेसनबाट ऋण लिएको हो ।
राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई ८ करोड अमेरिकी डलर अर्थात ९ अर्ब रुपैयाँ विदेशका विभिन्न बैंकहरुबाट ऋण लिनका लागि स्वीकृति दिएको छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई आईएफसीबाट २ करोड अमेरिकी डलर, मानुषी लघुवित्तलाई एपीएफ जापानबाट १ करोड १० लाख डलर, आरएमडीसीलाई आईएफसीबाट १ करोड डलर ऋण ल्याउन स्वीकृति दिएको निरौलाले जानकारी दिए ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार लगभग आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरुले मात्रै ऋण ल्याउने प्रक्रिया सुरु गरे छन् । संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरुमध्ये हालसम्म एनएमबीले मात्र विदेशबाट ऋण लिन सफल भएको छ । ग्लोबल आइएमई प्रक्रियामा रहेको छ । यी बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब १५ करोड ६८ हजार ८८ लाख ६ सय ३० रुपैयाँ बराबरको वैदेशिक ऋण ल्याउने अनुमति पाएका हुन ।
बैंकिङ प्रणालीमा क्रेडिट क्रञ्च चुलिएपछि राष्ट्र बैंकले विदेशबाट ऋण ल्याएर लगानी गर्न पाउने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई बाटो खोलिदिएको थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको सत्प्रतिशत विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था छ ।
यसअघि प्राथमिक पूँजीको २५ प्रतिशत परिवत्र्य मुद्रामा ऋण ल्याउन पाउने व्यवस्थालाई संशोधन गर्दै ५० प्रतिशतसम्म विना धितो विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउनुपर्ने व्यवस्था गरेको थियो । बैंकहरुले त्यसरी ल्याएको ऋण राष्ट्र बैंकले तोकेको क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने प्रवक्ता निरौलाले बताए ।
राष्ट्र बैंकका अनुसार त्यस्तो ऋण जलविद्युत उत्पादन,तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमान स्थल, केवलकार, पर्यटन,कृषि र लघुवित्त क्षेत्रमा लगानी गर्न पाइनेछ । यस्तो ऋणको न्युनतम अवधि एक वर्ष र अधिकतम अवधी ५ वर्षसम्मको हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो कर्जाको नविकरण गर्न सकिने व्यवस्था छ ।
त्यस्तो ऋणको ब्याजदर १० प्रतिशतको हाराहारीमा पर्छ । यस्तो ऋणको ब्याज ल्याउँदै महँगो भएकाले अधिकाँश बैंकले प्रक्रिया अघि बढाएका छैनन । राष्ट्र बैंकले ऋण ल्याउन सहज बनाउन मौद्रीक नीतमा परिवर्तन गरी लिबोर ४ मा ल्याउन सकिने व्यवस्था गरेको छ ।
मुलुकको शाख निर्धारण हुन बाँकी रहेकाले महंगो ब्याजमा ऋण लिन नसकेको बैंकरहरुको भनाई छ । शाख निर्धारण भएपछि मात्र ऋण ल्याउन सकिने बैंकरहरुको भनाई छ ।