सेयर बजारका विषयमा कुरा गर्दा कम्तीमा ६ महिना वा एक वर्षको अवधिलाई आधार बनाउनुपर्छ। पछिल्लो समय १८०० मा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिले २१०० को बिन्दुमा छ। १८०० को बिन्दुमा हुँदा नै लगानीकर्ताका लागि अवसर छ भन्ने आभास नभएको होइन।
त्यतिबेला लगानी गरेर घाटामा नै गए पनि पहिलाजस्तो ठूलो घाटा बेहोर्नुपर्ने अवस्था थिएन। तर, धेरैले घटेको बजारलाई नरुचाउने भएकाले अब विस्तारै बढ्ने छनक देखिएपछि लगानीकर्ताहरू अझै केही समय ‘पर्ख र हेर’ को अवस्थामा बस्न सक्छन्।
नेपाल राष्ट्र बैंकको पहिलो मौद्रिक नीतिको प्रथम समीक्षा अघिदेखि बढ्न थालेको बजारले २२०० बिन्दु पहिल्याए पनि अहिले २१०० बिन्दु वरपर छ। सरसर्ती भन्दा मौद्रिक नीतिको दोस्रो समीक्षालाई पनि बजारले पचाएको देखिन्छ। अहिलेको सूचक बढ्दो क्रममा मात्र छ, माथिल्लो बिन्दुमा पुगेको छैन। त्यसैले लगानीका लागि अझै पर्याप्त अवसर छ भन्ने देखिन्छ।
हुन त, लगानीकर्ता जहिले पनि बजार बढोस् भन्ने चाहना राख्छन्, जुन स्वाभाविक पनि हो। तर, सधैं चाहनाले काम गर्दैन। कतिपय बेलाको गति तत्कालीन सन्दर्भ र विषयवस्तुले निर्धारण गर्दछ। २०७७ देखि २०७८ को १४ महिनामा लगानीकर्ताले सेयर बजार वृद्धिमा देखेको उछाल अहिले खोजिरहेका होलान्। तर, अहिलेको बजारमा तीव्र गतिले उछाल आउने सम्भावना कम भए पनि सुधारको गतिमा छ। सामान्यतया पहिलाको माथिल्लो बिन्दुभन्दा माथि बजार सूचक पुगेको स्थितिलाई मात्र बजार बढेको भन्ने गरिन्छ। तर, नेप्से विगतको माथिल्लो बिन्दुभन्दा माथि पुगेका छैन।
नेपाल राष्ट्र बैंकको पहिलो मौद्रिक नीतिको प्रथम समीक्षा अघिदेखि बढ्न थालेको बजारले २२०० बिन्दु पहिल्याए पनि अहिले २१०० बिन्दु वरपर छ। मौद्रिक नीतिको दोस्रो समीक्षालाई पनि बजारले पचाएको देखिन्छ। त्यसैले लगानीका लागि अझै पर्याप्त अवसर छ भन्ने देखिन्छ।
वास्तवमा अहिलेको बजारको गति सुधारको अवस्था हो र आगामी दिनमा बजार सकारात्मक रुपमा अघि बढ्ने देखिन्छ। वित्तीय क्षेत्रमा देखिएको अधिक तरलता (लिक्विडिटी), घट्दो ब्याजदर, खुम्चिँदै गएको लगानीका अन्य क्षेत्रजस्ता कारणले आगामी दिनमा बजारले सकारात्मक आधार समाउनेमा विश्वस्त हुन सकिन्छ।
यद्यपि निक्षेपको तुलनामा ऋणको ब्याजदर अझै घटिसकेको अवस्था छैन। ब्याजको आधारदर अहिले पनि १० प्रतिशत हाराहारी छ। केही बैंकको आधार दर एकल अंकमा झरे पनि धेरैको माथि नै छ। आधारदर ७–८ प्रतिशसम्म झरेको खण्डमा बल्ल ब्याजदर घटेको आभास हुन्छ। ऋणतर्फको ब्याजदर एकल अंकमा झर्दा बजार सूचक धेरै माथि पुगिसकेको हुनेछ।
सेयर बजारमा नयाँ–पुराना, जाने–नजानेका वा सिक्दै गरेका विभिन्न प्रकृतिका लगानीकर्ता हुन्छन्। जाने–बुझेका लगानीकर्ताले ऋण लिएर कारोबार गर्छन् भने सिक्न चाहने र भर्खरै प्रवेश गर्नेहरूले आफूसँग भएको पुँजीलाई थोरै–थोरै गरी कारोबारमा हात हाल्छन्। निक्षेपको ब्याजदर धेरै घटेकाले धेरै मानिस निक्षेपमा राख्नुभन्दा सेयरमा खेल्न रुचाइरहेको पाइन्छ किनभने बजारमा प्रवेश गर्ने र सिक्ने तथा अनुभव प्राप्त गर्नेका लागि अहिलेको समय सुनौलो अवसर हो। त्यसैले फेरि बजार सूचक धेरै घट्ने वा १८०० भन्दा तल झर्ने भन्ने हुँदैन। तर, एक÷दुई महिनामै ३२०० पुग्छ भन्ने पनि होइन।
केही दिनदेखि बजार एउटै बिन्दुको वरपर घुमिरहेको छ। पछिल्लो दिनमा आएर धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले समयमै पैसा नदिएकोजस्ता गुनासा आइरहेका छन्। यसले नेप्से परिसूचकमै असर नपुर्याए पनि कारोबार रकममा भने कहिलेकाहीँ असर पुर्याउँछ। लगानीकर्ताले पैसा पाए भने त्यो रकम फेरि लगानी गर्ने हुन्।
पैसा समयमा प्राप्त नहुँदा कारोबारमा असर देखिनु स्वाभाविक हो। हुन त, ब्रोकरले पैसा नदिनु, ढिला दिनुजस्ता समस्या नयाँ होइनन्। बरु पछिल्लो समय बाहिर आएर ब्रोकरलाई दबाब परेको भने पक्कै हो। ब्रोकर एसोसिएसनले पनि विज्ञप्ति निकालेर पैसा समयमा उपलब्ध नगराएको विषयलाई पुष्टि गरेको छ।
सेयर बजार एउटा चक्र (साइकल)मा चल्छ। सेयर बजारको लामो इतिहास हेर्दा जे–जे कारण भए पनि बजार साइकलमा चलेको देखिन्छ। बजारलाई चलायमान बनाउन अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्था, आर्थिक तथा मौद्रिक नीतिजस्ता थुप्रै विषयले प्रभाव पार्दछ। अहिले उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ। यो अवस्थामा मानिस लगानी गर्न कम इच्छुक हुन्छन्। त्यसले पनि बजार तीव्र गतिमा अघि नबढेको हो। अनुभवी र जान्ने लगानीकर्ताले अहिलेको समयलाई सहज रुपमा लिएर बजारमा लगानी गर्दा गुमाउनु पर्दैन।