काठमाडौं। महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)सहितको नयाँ ब्याजदर रहने गरी नयाँ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा दिइने बैंकले जनाएको छ। तीन वटै कर्जामा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवाशुल्कमा २५ प्रतिशतसम्म छुट हुनेछ।
योजनाअनुसार आवासीय–व्यापारिक, घर–जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घरको तला थप, पुनर्निर्माण, मर्मतसम्भार गर्न महालक्ष्मी घर कर्जाअन्तर्गत न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रुपैयासम्मको कर्जा उपलब्ध गराइनेछ।
साना तथा मझौला व्यवसायीको कर्जामा कम ब्याजदर माग सम्बोधन गर्न १ देखि १५ वर्षे अवधिसम्मका लागि १०.९९ प्रतिशतमा व्यावसायिक कर्जा उपलब्ध गराइने बैंकको विज्ञप्तिमा उल्लेख छ।
महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ। सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्षसम्म हुनेछ। विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा दिइने बैंकले जनाएको छ।
बैंकले आवश्यक सबै कागजात प्राप्त भएको ३ कार्यदिनभित्रै कर्जा प्रवाह गरिने बताएको छ।