काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।
युएईको दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्तालाई आग्रह गरेका हुन्।
उनले नेपाल सरकारले मुलुकमा लगानी प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धिका लागि सुधार प्रक्रिया कार्यान्वयन गरी व्यावसायिक वातावरणमा पहल गरिरहेको बताए।
‘नेपालले आगामी अप्रिल २८/२९ मा आयोजना गर्न लागेको तेस्रो नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई लक्षित गर्दै नेपालमा लगानी अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधन प्रक्रिया अगाडि बढाएको छ।
विभिन्न सम्भावित साझेदार मुलुकसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षा प्रत्याभूति गर्न गइरहेको छ। यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ’, उनले भने।
यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र लाभ लिनसमेत उनले आग्रह गरे। ‘सेपिङ फ्युचर गभर्मेन्ट’ नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघ–संस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ।
शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारे पनि चर्चा गरेका थिए।