काठमाडौं। नियामक नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै व्यवसाय विस्तार गर्नेमा फाइनान्स कम्पनी अग्र भागमा देखिएका छन्। सञ्चालनमा रहेका १७ मध्ये ६ वटा फाइनान्स कम्पनीले राष्ट्र बैंकद्वारा जारी निर्देशन उल्लंघन गर्दै घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका हुन्।
केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशन, २०८० अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल ऋणको २५ प्रतिशतसम्म र अन्य रियलस्टेट कर्जा कुल कर्जाको १० प्रतिशत मात्र प्रवाह गर्न पाउँछन्।
जारी एकीकृत निर्देशनको २ नम्बर बुँदामा भनिएको छ, ‘आवासीय घर कर्जा, व्यावसायिक भवन तथा आवासीय अपार्टमेन्ट निर्माण कर्जा, निर्माण सम्पन्न भई आयआर्जन गर्न थालेको व्यापारिक कम्प्लेक्स कर्जा तथा अन्य रियलस्टेट कर्जा (जग्गा जमिन खरिद तथा प्लटिङ कर्जासमेत) गरी कुल कर्जाको २५ प्रतिशतभन्दा बढी ऋण लगानी गर्न पाइँदैन।’
राष्ट्र बैंकको निर्देशन
त्यति मात्र होइन, अन्य रियलस्टेट कर्जा पनि कुल कर्जाको १० प्रतिशतभित्रै हुनुपर्छ। अन्य रियलस्टेट कर्जाभित्र व्यावसायिक भवन तथा आवासीय अपार्टमेन्ट निर्माण, जग्गाजमिन खरिद तथा प्लटिङ गर्न लिइएको कर्जा पर्दछ।
अन्य रियलस्टेट कर्जा १० प्रतिशतसमेत २ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय घरजग्गा कर्जा र त्यसभन्दामाथिको व्यावसायिक भवन तथा आवासीय अपार्टमेन्ट, प्लटिङका लागि लिइएको कर्जा संस्थाको कुल कर्जाको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
चालू वर्षको ६ महिनामा वित्त कम्पनीले ९४ अर्ब २४ करोड कुल कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा २३.३९ प्रतिशत अर्थात् २२ अर्ब ४ करोड रुपैयाँ छ। वित्त कम्पनीले औसत कुल कर्जामा घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा तलै रहेको कर्जा प्रवाह गरे पनि व्यक्तिगत रुपमा भने सीमा नघाएर कर्जा प्रवाह गरेको तथ्यांकले देखाउँछ।
चालू वर्षको पुससम्म ६ वटा फाइनान्स कम्पनीले तोकिएको सीमामाथि घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। उक्त अवधिमा नेपाल सेयर मार्केट फाइनान्स, मञ्जुश्री फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र बेस्ट फाइनान्सले राष्ट्र बैंकले निर्धारण गरेको कुल कर्जामा घरजग्गा क्षेत्रमा २५ प्रतिशतको सीमा कटाएर कर्जा प्रवाह गरेका छन्।
उक्त अवधिमा प्रवाहित कुल कर्जामध्ये नेपाल सेयर मार्केटले ७९.४१ प्रतिशत, मञ्जुश्रीले ३४.८५ प्रतिशत, क्यापिटल मर्चेन्टले ३३.९९ प्रतिशत, श्री इन्भेस्टमेन्टले २९.५० प्रतिशत, गुहेश्वरी मर्चेन्टले २७.१८ प्रतिशत र बेस्टले २६.६७ प्रतिशत घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका हुन्।
चालू वर्षको ६ महिनामा वित्त कम्पनीले ९४ अर्ब २४ करोड कुल कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा २३.३९ प्रतिशत अर्थात् २२ अर्ब ४ करोड रुपैयाँ छ। वित्त कम्पनीले औसत कुल कर्जामा घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा तलै रहेको कर्जा प्रवाह गरे पनि व्यक्तिगत रुपमा भने सीमा नघाएर कर्जा प्रवाह गरेको तथ्यांकले देखाउँछ।
नेपाल सेयर मार्केट र क्यापिटल मर्चेन्ट समस्याग्रस्त अवस्थामा छन् भने बेस्ट फाइनान्स समस्याग्रस्त रहेको जनरल फाइनान्सको नाम परिवर्तन गरेपछि सिनर्जी फाइनान्ससँग मर्ज भएको संस्था हो।
वित्त कम्पनीको कर्जा तथ्यांक
साथै, अन्य रियलस्टेट कर्जाको हकमा तोकिएको १० प्रतिशतको सीमासमेत ५ वटा फाइनान्स कम्पनीले ‘क्रस’ गरेर कर्जा प्रवाह गरेका छन्। यस्तो सीमा नाघेर घरजग्गामा कर्जा प्रवाह गर्नेमा नेपाल सेयर मार्केट, सेन्ट्रल, श्री इन्भेस्टमेन्ट, प्रोगेसिभ र गुडविल फाइनान्स छन्।
यीमध्ये नेपाल सेयर मार्केटले ७८.६२ प्रतिशत, सेन्ट्रलले ३३.९८ प्रतिशत, श्री इन्भेस्टमेन्टले १३.७५ प्रतिशत, प्रोगेसिभले ११.६६ प्रतिशत र गुडविलले १०.५५ प्रतिशत उक्त अवधिमा प्रवाहित कुल कर्जामध्ये अन्य रियलस्टेट कर्जा प्रवाह गरेको राष्ट्र बैंकद्वारा उपलब्ध तथ्यांकले देखाएको छ।
नियमनमा रहेका संस्थाले तोकिएको नीति निर्देशन उल्लंघन गर्दा नियामक निकाय भने मुकदर्शक देखिन्छ। चालू वर्षको ६ महिनामा राष्ट्र बैंक स्वयंले आधा दर्जन वित्त कम्पनीले दिएको सीमा कटाएर घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेको तथ्यांक प्रकाशित गरेको हो। तर, राष्ट्र बैंककै विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागले यस्तो विषयमा तत्काल निगरानी नराखेको देखिन्छ।
राष्ट्र बैंकको ‘बैंकिङ एन्ड स्टाटिस्टिक्स’मा प्रकाशित तथ्यांकलाई विभागले थप ‘क्रस भेरिफाइ’ गरेपछि मात्रै नियामकीय कारबाही अघि बढाइने वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख दयाराम शर्मा बताउँछन्।
राष्ट्र बैंकको ‘बैंकिङ एन्ड स्टाटिस्टिक्स’मा प्रकाशित तथ्यांकलाई विभागले थप ‘क्रस भेरिफाइ’ गरेपछि मात्रै नियामकीय कारबाही अघि बढाइने वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख दयाराम शर्माले बताए।
‘हाउजिङ र अन्य गरेर कुल कर्जाको २५ प्रतिशत कर्जा दिन पाउने व्यवस्था हो। यस्तो सीमा कुनै संस्थाले नाघेको तथ्यांक हालसम्म रिपोर्टिङमा छैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक शर्माले क्यापिटल नेपालसँग भने, ‘स्थलगत सुपरिवेक्षण तथ्यांक आएसँगै क्रस भेरिफाइ गरेपछि मात्रै केही भन्न सकिएला। कहिलेकाहीँ बैंकहरूले पठाएको तथ्यांक बिग्रिएको पनि हुन्छ र स्थलगत सुपरिवेक्षणलाई पनि हेर्न भनिएको हुन्छ। अहिले फाइनान्स कम्पनीमा स्थलगत सुपरिवेक्षण भइरहेको छ। त्यस्तो केही आए छलफल हुन्छ।’
राष्ट्र बैंकको ‘बैंकिङ एन्ड स्टाटिस्टिक्स’मा प्रकाशित तथ्यांकले औंल्याएका विषयमा विभागले गरेको स्थलगत सुपरिवेक्षणको प्रतिवेदन रिपोर्टसँग ‘क्रस भेरिफाइ’ गरेर मात्रै सीमाभन्दा बढी कर्जा घरजग्गा क्षेत्रमा दिएको पाइए सुपरिवेक्षीय र नियामकीय कारबाही अघि बढाइने उनको भनाइ हो।
‘क्रस भेरिफाइ’ गर्दा हाल समस्याग्रस्त घोषित नेपाल सेयर मार्केट र सेन्ट्रलबाहेक अन्य फाइनान्स कम्पनीको घरजग्गा लगानी सीमामाथि भए राष्ट्र बैंकले आवश्यक कारबाही सुरु गरिने उनले बताए।