काठमाडौं। सेयर बजारका विषयमा मौद्रिक नीति अर्धवार्षिक समीक्षा मौन बसेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको छ। सोमबार मौद्रिक नीति सार्वजनिक हुनुअघि १५ अंकले बढेको सूचक मंगलबार कारोबारको केही समयपछि नै घट्न थालेको हो। फागुनका लागि बैंकहरुले ब्याजदर घटाए पनि बजार सूचक भने ओरालो लागेको छ।
सोमबार १५.३३ प्रतिशतले बढेर २ हजार १ सय १ दशमलब १६ अंकमा रोकिएको नेप्से मंगलबार ३० दशमलब ५६ अंकले घटेर २ हजार ७० दशमलब ५९ को बिन्दुमा पुगेको छ। २ हजार ६५ अंकसम्म झरेको सूचक अन्तिम मिनेटमा केही सुधार आएको जस्तो देखिए पनि घटाइको रफ्तारमा भने कमि आउन सकेनछ।
यद्यपि, बिहान कारोबार खुल्दा प्रिओपन सेसनमा बजार सूचक सामान्य बढेको थियो। नियमित कारोबार सुरु भएदेखि नै बजार ओरालो लागेको छ। तर, बीचबीचमा बजार फर्कने कोसिस गरे पनि सम्भव देखिएन। बैंकको ब्याजदर घटाउने प्रक्रियासँग सेयर बजारले खासै चासो राखेको देखिएन।
तर, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भने विभिन्न कोणबाट क्रियाप्रतिक्रिया आइरहेका छन्। त्यसैको परिणाम मंगलबारको सेयर बजारमा परेको हो। यद्यपि, कारोबार रकममा भने वृद्धि देखिएको छ। यसले बजार सूचक अन्तिम घटाइतिर गएको देखाउँछ।
सोमबार बजार बढ्दा ३ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार भने ४ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। लगानीकर्ताले मौद्रिक नीति समिक्षामार्फत् सेयर धितोकर्जाको सिमा खारेज र जोखिम भार घट्ने अपेक्षामा थिए।
यससँगै नीतिगत दर अझ घटेर ब्याजदर न्यून बिन्दुमा ल्याउने बाटो खुल्छ भन्ने अपेक्षामा थिए। तर, मौद्रिक नीति समीक्षाले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर अन्तर ५० प्रतिशतले घटाएर एक प्रतिशत बिन्दु मात्रै हुने व्यवस्था गरेपछि त्यसले आगामी दिनमा ब्याजदर नघट्ने प्रक्षपण लगानीकर्ताको छ।
यद्यपि, बैंकहरुले फागुनका लागि सार्वजनिक गरेको निक्षेपको औषत ब्याजदर भने शून्य दशमलव चार प्रतिशतले घटेको छ। मंगलबार कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर छ।
मंगलबार बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र सुपर माई हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ९.७० प्रतिशतले घटेको छ।