काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुरूपको राजस्व संकलन अभिवृद्धि गर्न राजस्व प्रणालीलाई प्रविधिमैत्री, स्वचालित, पारदर्शी बनाउने बताएका छन्।
सोमबार बजेटको अर्धवार्षिक समिक्षाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा मनत्री महतले यस्तो बताएका हुन्। महतले लक्ष्य अनुरूपको राजस्व संकलन अभिवृद्धि गर्न राजस्व प्रणालीलाई प्रविधिमैत्री, स्वचालित, पारदर्शी र करदातामैत्री बनाई स्वेच्छिक कर सहभागिता एवम् कर परिपालना अभिवृद्धि गर्ने बताए।
‘सीमानाका तथा आन्तरिक बजारबाट हुने राजस्व चुहावत नियन्त्रण गर्न भन्सार प्रशासन, सुरक्षा निकाय, क्वारेन्टिन लगायतका निकायकाबीचमा स्पष्ट क्रियाकलाप, समयसीमा र जिम्मेवारी किटान गरी राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइन्छ,’ अर्थमन्त्री महतले भने, ‘कर परीक्षण तथा अनुसन्धानको कार्यलाई नियमित र गुणस्तरीय बनाई राजस्व समयमै प्राप्त गर्ने व्यवस्था मिलाइन्छ।’
महतले भन्सार र आन्तरिक कर प्रशासन सम्बद्ध निकायहरूको सूचना प्रणालीबीच अन्तर आबद्धता कायम गरीने पनि जानकारी दिए।
‘असुलउपर गर्नुपर्ने बेरुजु तथा बक्यौता र राजस्व असुलीको कार्य प्राथमिकताका साथ अगाडि बढाइन्छ। उल्लेखित कार्यलाई संलग्न कर्मचारीको कार्य सम्पादन मूल्यांकनसँग आवद्ध गर्ने गरिन्छ,’ महतले भने, ‘राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक कानूनी सुधार गर्दै जिम्मेवार निकायबीच प्रभावकारी समन्वय कायम गरी सबै प्रकारका ठगी, छली एवम् चुहावट नियन्त्रण अभियानलाई सशक्त बनाउनुपर्ने आवश्यक्ता छ।’
अर्थमन्त्री महतले कर कानुनहरूको परिपालना नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न करदाता शिक्षा कर परीक्षण र अनुसन्धान कार्यलाई सूचना प्रविधिमा आधारित बनाई प्रदर्शनीय प्रभाव पर्ने गरीने पनि बताए।
बजेट विनियोजन भई वा आन्तरिक आम्दानीतर्फको सरकारी रकम विभिन्न कोषहरूमा रहेको वा फ्रिज भएको अवस्थामा सो रकम सञ्चित कोषमा दाखिला गराउने व्यवस्था गर्ने महतको भनाइ छ। करयोग्य अनौपचारिक आर्थिक क्रियाकलापहरूलाई नियमनको माध्यमबाट औपचारिक प्रणालीमा आवद्ध गर्दै कराधार विस्तार गर्ने महतले बताए।