काठमाडौं। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा र बजेटको अर्धवार्षिक समिक्षाअघि सेयर बजार दोहोरो अंकले बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार साँझ ५ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्नका लागि सञ्चालक समितिको बैठक डाकेको बताइएको छ। जसअनुसार, सञ्चालक समितिले स्वीकृत गरेपछि मौद्रिक नीति समीक्षा बेलुकीसम्म सार्वजनिक गर्ने तयारी रहेको उल्लेख गरिएको छ।
यस्तै, अर्थ मन्त्रालयले पनि सोमबार नै बजेटको अर्धवार्षिक समिक्षा गर्दैछ। मौद्रिक नीति समिक्षा र बजेटको अर्धवार्षिक समिक्षाको सकरात्मक सन्देश स्वरुप आइतबार सेयर बजारमा उछाल आएको हो।
साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३३ प्रतिशतले बढेर २ हजार १ सय १ दशमलब १६ अंकको बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १०.५० अंकले घटेर २ हजार ८५ दशमलब ८२ को बिन्दुमा बन्द भएको थियो।
आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ। सोमबार कुल ३ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन आइतबार भने कुल ४ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी र चिख्र्वा हाइड्रोपावरको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, बलेफी हाइड्रापावर र जोशी हाइड्रापावरको सेयर मूल्यमा नौ प्रतिशत बढीको वृद्धि भएको छ। यस्तै एआईसी एसिया ग्रोथ फन्ड–२ को सेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ।