काठमाडौं। शक्तिकेन्द्रसँग नजिक भएका व्यवसायीले तेस्रो मुलुकबाट ल्याएको बिटुमिन साफ्टाअन्तर्गत पारेर राजस्व छलेको पाइएको छ। व्यवसायीले तेस्रो मुलुकबाट बिटुमिन आयात गर्ने तर भन्सार दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) अन्तर्गत तिर्ने गरेको पाइएको हो।
सत्ता नजिकका व्यक्तिले ठूलो परिमाणमा इरानलगायत देशबाट बिटुमिन आयात गर्दै आएका छन्। साफ्टाअन्तर्गत बिटुमिन आयातमा ७.२५ प्रतिशत भन्सार महसुल लाग्छ। अन्य देशबाट हुने आयातमा १५ प्रतिशत तिर्नुपर्छ। यही महसुल अन्तरमा बढी फाइदा कमाउन आयातकर्ताले भारतका केही साना कम्पनीबाट साफ्टा सुविधा कागजात बनाएर आयात गर्दै आएका छन्।
साफ्टा सुविधाको कागजात बनाएर ठूला निर्माण व्यवसायीले धमाधम भन्सार छलिरहेका छन्। बिटुमिन आयातकर्ताले इरानमा उत्पादित बिटुमिन आयात गरी साफ्टामा आबद्ध मुलुकको उत्पादन भन्दै भन्सार महसुल छलिरहेका हुन्। भन्सार अधिकारीले बिटुमिन आयातमा गढबडी भएको आशंकामा सूक्ष्म निगरानी समेत गरिरहेका छन्।
बिटुमिन आयातकर्ताले इरानबाट ल्याइएको बिटुमिन साफ्टा मुलुकबाट ल्याएको किर्ते कागजपत्र देखाएर भन्सार महसुल शुल्क छुट लिइरहेका सम्बद्ध व्यवसायी बताउँछन्।
एकातिर व्यवसायीले तेस्रो मुलुकबाट आयात भएको बिटुमिन साफ्टाअन्तर्गत कागजात बनाएर नेपाल छिराउने र अर्कोतर्फ उद्योगले लिइरहेको सुविधा टेडर्सले समेत उपभोग गरिरहेका छन्। उतैबाट ट्यांकरमा तयारी बिटुमिन ल्याउने र कम भन्सार तिर्ने खेल पनि चलिरहेको छ।
सडक कालोपत्रे (पिच) गर्न प्रयोग हुने अलकत्रा (बिटुमिन) आयातमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नमिल्दो कर नीतिलाई सुधार नगर्दा अहिले विकृति मौलाइरहेको छ।
ट्यांकरमा बिटुमिन ल्याउँदा ७.५ र त्यही बिटुमिन ड्रममा ल्याउँदा १५ प्रतिशत लाग्ने व्यवस्था गरेका थिए। यसअघिसम्म विदेशबाट बिटुमिन आयात गर्दा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था थियो।
एकातिर व्यवसायीले तेस्रो मुलुकबाट आयात भएको बिटुमिन साफ्टाअन्तर्गत कागजात बनाएर नेपाल छिराउने र अर्कोतर्फ उद्योगले लिइरहेको सुविधा टेडर्सले समेत उपभोग गरिरहेका छन्। उतैबाट ट्यांकरमा तयारी बिटुमिन ल्याउने र कम भन्सार तिर्ने खेल पनि चलिरहेको छ।
‘ड्रममा ल्याउँदा राज्यलाई के घाटा र ट्यांकरमा ल्याउँदा राज्यलाई के फाइदा हुन्छ?’ एक आयातकर्ता व्यापारीले भने, ‘कुन तर्क लगाएर यस्तो नीति लिइएको हो? कसलाई पोस्न यस्तो गरिएको हो ? बुझिएन।’
सरकारले बिटुमिन आयात भन्सार घटाउन खोजेको भए सबैलाई समान दर कायम गर्नुपर्ने हो। तर, यहाँ ट्यांकर र ड्रम भनेर छुट्याइएको व्यवसायीले बताएका छन्। अहिले पनि अर्थमन्त्री निकटका व्यापारीले ट्यांकरमा बिटुमिन ल्याउने गरेकाले ७.५ प्रतिशत भन्सार कायम गरेको आरोप व्यवसायीको छ।
सीमित व्यापारीलाई फाइदा पुग्ने गरी बिटुमिनको कर नीति परिवर्तन गरेपछि व्यवसायीले सरकारको विरोध गरिरहेका छन्। ‘एउटै वस्तुको भन्सार दुई थरी हुन्छ,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘एकै ठाउँ आउने बिटुमिन ड्रममा ल्याउँदा १५ प्रतिशत भन्सार लाग्ने, ट्यांकरमा ल्याउँदा ७.५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गर्नु पछाडिको कारण के हो?’