काठमाडौं। राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीको घुँइचो लागेको छ।
२९औं संस्करणको प्रदर्शनीलाई चौथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिले अवलोकन गरेका छन् ।
आइतबार मात्रै संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू, विभिन्न आयोगका प्रतिनिधि तथा नीति निर्माण तहका अधिकारी, विभिन्न पालिकाका प्रमुख÷उपप्रमुखले इन्फोटेक अवलोकन गरेका छन्।
यसअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुलीलगायत क्यान इन्फोटेकमा राखिएका प्रविधि हेर्न पुगेका थिए।
त्यस्तै, सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आईटी विज्ञ प्रकाश रायमाझी, लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी, माओवादीको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोधराज श्रीपाली, काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, काठमाडौं महानगर प्रवक्ता नवीन मानन्धरलगायतले क्यान इन्फोटेकको प्रत्यक्ष अवलोकन गरे।
त्यस्तै, विभिन्न पालिकाका प्रमुख÷उपप्रमुहरू, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) तथा नेपाल टेलिकमका उच्च तहका अधिकारीले समेत प्रदर्शनीे अवलोकन गरेको क्यानले जनाएको छ।
प्रदर्शनी अवलोकन अवसरमा उनीहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेकजस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
उनीहरुले नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्ने गरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत जनाएको क्यानको विज्ञप्तिमा उल्लेख छ।
यसअघि इन्फोटेक अवलोकन गर्न कलाकार सञ्जोक कोइरालादेखि नायक राजेश हमालसम्म र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललगायत पनि पुगेका थिए।
आजसम्म सञ्चालन हुने ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्रान्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड सेयरिङ एपलगायतसँग सम्बन्धित स्टलमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ।
अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलमा पनि आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो। विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टमा अवलोकनकर्ता बढी झुम्मिएका छन्।
क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक मेला मात्र नभएर सूचना प्रविधि प्रदर्शनी भएको बताए। ‘यसलाई मेला भन्ने भाष्य परिवर्तन गर्नुपर्छ। यो इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्सपो पनि हो। अहिले इन्फोटेक सफ्टवेयर, प्रोडक्ट र सोलुसन एवं आइडियाको खानी हो’, उनले भने।
यसअन्तर्गत मसिन लर्निङमा आधारित नेपाली रोबोट ‘कान्छी’देखि डिजिटल ठेगाना तयार पारिदिने ‘कता हो’ प्लेटफर्मसम्ममा आकर्षण देखिएको छ। त्यस्तै, एफवन सफ्ट ग्रुपले हालै ल्याएको ‘जुम जुम’ नामको राइड सेयरिङ सेवाबारे पनि अवलोकनकर्ताले चासो देखाएका छन्।
त्यस्तै, स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झुकाव देखिएको छ। इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटीमैत्री बस रहेको छ। हालसम्म ५०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ।
करिब १५० स्टल रहेको इन्फोटेकमा सहभागी कम्पनीले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन्। यसअन्तर्गत कम्पनीले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट दिएका छन्।
ब्रान्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका छन् भने साना कम्पनी ट्रसमा रहेका स्टलमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन्।
क्यान महासंघ अध्यक्ष रणजीत पोदारले एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए।