काठमाडौं। फागुन महिनामा बैंक ब्याजदर औषत ०.४० प्रतिशत बिन्दुले घट्ने भएको छ। वाणिज्य बैंकहरुले माघ महिनामा दिएको निक्षेपको अधिकतम ब्याजदरभन्दा फागुन महिनामा ०.४० प्रतिशत बिन्दुले घटाएर औषत ७.७२ प्रतिशत कायम गर्ने भएका छन्। माघमा वाणिज्य बैंकहरुको औषत निक्षेप ब्याजदर ८.१२ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पछिल्लो महिनामा लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशित गरिसक्नु पर्ने व्यवस्था गरेको छ। सोहीअनुसार २० वटै वाणिज्य बैंकहरुले फागुन महिनामा लागू हुने निक्षेपको ब्याजदर माघ मसान्त (आज) प्रकाशित गरिसकेका छन्।
माघ महिनाको तुलनामा फागुन महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १६ वटाले निक्षेपको अधिकतम ब्याजदर ०.०६ प्रतिशत बिन्दुदेखि ०.८१ प्रतिशत बिन्दुले घटाएका छन्। जसमा सबैभन्दा बढी कृषि विकास बैंकले र सबैभन्दा कम एनआइसी एशिया बैंकले घटाएका हुन्। कृषि विकास बैंकले माघ महिनामा निक्षेपकर्तालाई अधिकतम ७.२६ प्रतिशत ब्याजदर दिएकोमा फागुन महिनामा ६.४४ प्रतिशतमात्रै दिने भएको छ। साथै, एनआइसी एशिया बैंकले माघ महिनामा निक्षेपमा अधिकतम ८.०६ प्रतिशत दिएकोमा फागुनमा ८ प्रतिशत दिने घोषणा गरेको छ।
बाकी ३ वटा बैंकले माघ महिनामा दिएको निक्षेपको ब्याजदर नै फागुनमा पनि कायम गरेका हुन्। जसमा एभरेस्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंक हुन्। यी बैंकहरुले फागुनमा निक्षेपमा अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्।
फागुन महिनामा व्याक्तिगत मुद्द्ती निक्षेपमा सबैभन्दा बढी ब्याज एनएमबी बैंकले ८.५० प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकले दिनेछन्।
यस बाहेक फागुन महिनामा हिमालयनले ८.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.१० प्रतिशत, कुमारीले ८.०१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ प्रतिशत निक्षेपको अधिकतम ब्याजदर तोकेका छन्। साथै फागुनको लागि ग्लोबल आइएमीले ७.७६ प्रतिशत, नबिलले ७.७५ प्रतिशत, सानिमाले ७.५१ प्रतिशत, प्रभुले ७.५० प्रतिशत, प्राइम कमर्सियलले ७.४० प्रतिशत, राष्ट्रिय वाणिज्य र स्ट्यान्डर्ड चार्टर्डको ७.३५ प्रतिशत र नेपाल बैंकको ७.२५ प्रतिशत निक्षेपमा अधिकतम ब्याज दिने घोषणा गरेका छन।