काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलनमा ‘क्याप’ र नयाँ कर्जा प्रवाहमा बन्देज लगाएको छ।
नियामक निकाय राष्ट्र बैंकले तोकेको प्रावधान विपरीत व्यवसाय गरेपछि क्षेत्रीय स्तरको कर्णाली विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो।
बैंकले गत अघिल्लो आर्थिक वर्षदेखि नै राष्ट्र बैंकले तोकेको पुँजी कोष अनुपात कायम गरेको छैन। बैंकको उच्च व्यवस्थापनले कर्जा अपचलन गर्दा असुलीमा समस्या परेको र त्यसले पुँजीमा दबाब परेको थियो।
बैंकको कर्जा असुलीमा समस्याले पुँजी कोष घटेको हुँदा निश्चित समयका लागि बैंकको कर्जा प्रवाह रोक र निक्षेप संकलनमा सीमा तोकेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। केन्द्रीय बैंकले कर्णालीलाई शीघ्र सुधारात्मक कारबाहीमा निक्षेप संकलनमा सीमा तोक्दै कर्जामा बन्देज लगाएको हो।
‘नयाँ कर्जा प्रवाह गर्न नपाउने र निक्षेप संकलनको सीमा तोकिएको छ। तोकिएको सीमाभन्दा बढी कर्णालीले सर्वसाधारणसँग निक्षेप उठाउन पाउँदैन भने कुनै पनि शीर्षकमा नयाँ कर्जा दिन पाउँदैन,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘बैंक समस्याग्रस्त भएको संस्था भने होइन। गत वर्षदेखि नै बैंक शीघ्र सुधारको क्रममा छ।
राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि नै कर्णालीलाई शीघ्र सुधारको कारबाहीमा राखेको हो। बैंकले राष्ट्र बैंकमा पेस गरेको सुधार कार्ययोजनाअनुसार गत असार मसान्तसम्म काम नगरे बैंक समस्याग्रस्त घोषणा हुनेछ। तर, बैंकले आर्थिक सूचकांकमा क्रमिक सुधार आइरहेको हुँदा समस्याग्रस्त घोषणा गर्नु पर्ने स्थिति सिर्जना नहुने अनुमान राष्ट्र बैंक स्रोतको छ।
केन्द्रीय बैंकले कर्णालीको कर्जा असुलीमा समस्याले पुँजीकोष घटेको हुँदा निश्चित समयका लागि शीघ्र सुधारात्मक कारबाहीकारबाहीस्वरुप निक्षेप संकलनमा सीमा तोक्दै कर्जामा बन्देज लगाएको हो।
बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको कर्णालीले हालसम्म ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यमा राष्ट्र बैंकमा ‘क्यापिटल प्लान’ पेस गरेर सोहीअनुसार काम गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहले बताए।
‘राष्ट्र बैंकले क्षेत्रीय स्तरका विकास बैंकलाई तोकेको पुँजी हामीले पुर्याइसकेका छौं। यद्यपि पुस मसान्तको केही केसका कारण अहिले निक्षेपमा सीमा र नयाँ कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाएको छ,’ बैंक सिइओले शाहले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैंकले दिएको निर्देशन पालना गर्दै गएको रिपोर्टिङ गरिरहेका छौं। क्याप लागेको पनि पुँजीकोषकै कारणले हो। तर, अहिले पुँजी पुगिसकेको हकमा निश्चित समयपछि स्वतः फुकुवा हुन्छ।’
राष्ट्र बैंकले नयाँ कर्जा रोकेर पुरानो कर्जामा रहेको खराब कर्जा (एनपिएल) घटाउन बैंकलाई निर्देशन दिएको हो। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले बुझाएको क्यापिटल प्लानअनुसार काम गर्दै गएको हुँदा आगामी दिनमा संस्थामा थप समस्या नहुने सिइओ शाहको भनाइ छ।
‘त्रैमासिक रुपमा राष्ट्र बैंकमा कार्ययोजनाअनुसारको प्रगति प्रतिवेदन बुझाइरहेका छौं। पुस मसान्तको बुझाइसक्यौं। अब असार मसान्तसम्मको रिपोर्टिङ बुझाएपछि स्वतः फुकुवा हुन्छ,’ सिइओ शाहले भने।
बैंकको बदमासी विवरण
हाल बैंक अध्यक्षमा डा. ओमप्रकाश मिश्र छन्। मिश्रअघि अध्यक्षमा राजेन्द्रवीर राय थिए। रायले बैंक अध्यक्ष हुँदा आफ्नै कम्पनीको नाममा करिब १२ करोड रुपैयाँ कर्जा लिएका थिए। रायले कर्णालीबाट बाँके केमिकल्स नामक कम्पनीमा २ पटक गरी १२ करोड रुपैयाँ कर्जा लिएका थिए।
राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतबमोजिम रायले राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर उल्लंघन गरी संस्था, लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीत कार्य गरेका थिए।
संस्था सुधारका लागि राष्ट्र बैंकबाट पटक–पटक दिइएका निर्देशन पालना नगरेको, संस्थाबाट अप्रत्यक्ष रुपमा कर्जा उपभोग गरेकोलगायत कार्य गरी निर्देशन उल्लंघन गरेकाले रायलाई राष्ट्र बैंकले ५ लाख जरिमाना तिराउनुका साथै पदमुक्तसमेत गराएको थियो।
उक्त समय बैंक अध्यक्ष, सञ्चालक समितिका अन्य सदस्य र बैंकका सिइओलगायतको मिलेमतोमा निक्षेपकर्ताको पैसा दुरुपयोग गरिएको ठहर राष्ट्र बैंकको स्थलगत सुपरीवेक्षण कमिटीले गरेको थियो।
राय अध्यक्षताको कार्यकालमा कर्णालीको सिइओको जिम्मेवारीमा दिनेशकुमार रावत थिए। तत्कालीन सिइओ रावतलाई समेत राष्ट्र बैंकले कारबाही गरेको थियो।