काठमाडौ। ७ वर्ष अघि २०१७ नेपालमा पहिलो राईड सेयरिङ सेवा ‘टुटल’ सञ्चालनमा आउदा सर्वसाधरणलाई यसको अवधारणा बुझाउनै मुस्किल थियो।
सुरुआती चरणमा यूवा वर्गमा चर्चित बनेको राईड सेयरिङ सेवाले कानुनी उल्झन पनि राम्रै खेप्नु पर्यो। निजी नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने यातायात व्यवस्था ऐनका कारण राइड सेयरिङ कम्पनी कहिले सरकारको त कहिले यातायात व्यवसायीको तारो बनिरहे।
ट्याक्सीको ठगीका कारण दुख पाइरहेका नेपाली यात्रुले मन पराएपछि सरकारले पनि यसलाई रोक लगाउन सकेन। टुटल सञ्चालनमा आएको केही समयपछि बंगलादेशको प्रविधिमा आधारित पठाओ खुल्यो।
टुटल र पठाओले बजार लिँदै गर्दा साना तथा ठूला लगानीका राइड सेयरिङ कम्पनी खुले र बन्द भए।
हालसम्म करिब ६० देखि ७० वटा राइड सेयरिङ एप खुलेको जानकारहरु बताउँछन्। हाल नेपालमा इन्ड्राइभर, पठाओ, टुटल, ट्याक्सीमाण्डु, जुम जुम, प्राइम सेवा लगायतका कम्पनीले सेवा दिइरहेका छन्।
त्यस्तै एटेन्ड, फिलिलि, जायर, पुर्याइदेउ, साहारा, लुजुम, साथी, जाउ गुरु लगायतका कम्पनी पनि खुलेका थिए तर यी कम्पनी कतिपय बन्द भए भने कतीपय नामका लागि मात्र चलिरहेका छन्।
कम्पनी खुलेको हेर्दा यो क्षेत्रमा राम्रो मुनाफा भइरहेको लाग्न सक्छ। अनुमान विपरित सबैजसो कम्पनी घाटामा चलिरहेको ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी बताउँछन्।
‘हामीले हेर्दा हेर्दै खुलेको एउटा कम्पनीले ५/७ करोड खर्च गरेर बन्द भयो। ५०/६० वटा कम्पनी बन्द हुँदा कती लगानी डुब्यो होला,’ उनले भने। यो क्षेत्रमा बाहिरबाट हेर्दा खर्च कम देखिएकोले धेरै लगानी डुबेको उनको तर्क छ।
‘यो क्षेत्र ग्लामरियस देखिएको छ। तर प्रविधिमा हुने खर्च देखिएको छैन। कम खर्च र नाफा धेरै देखिएको कारण राइड सेयरिङ कम्पनी च्याउसरी उम्रिएका हुन्,’ उनले भने।
राईड सेयरिङ क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाले पनि साना लगानीकर्ताहरु डुब्नु परेको केसीले बताए। ‘कतिपय विदेशी कम्पनीहरु सानालाई सक्काएरै छोड्छु भनेर लागेका छन्। त्यस्ता कम्पनीलाई लगाम लगाउन सकिएन भने कुनै नेपाली कम्पनी बाकीँ रहदैनन्,’ उनले भने।
देखासिकीका कारण नेपालमा धेरै राईड सेयरिङ कम्पनी खुलेको पठाओ नेपालका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताए। ‘कसैले नयाँ व्यवसाय गरेर केही मुनाफा गर्यो भने सबैले त्यही व्यवसाय गर्ने चलन छ। यसले गर्दा लगानी हुन्छ, चल्न सक्दैन अनि बन्द हुन्छ,’ उनले भने।
‘नेपालमा अहिले पनि सबै राईड सेयरिङ कम्पनी घाटामा रहेको र पठाओ पनि राइड सेयर मात्र नभई ट्याक्सी, खाना डेलिभरी, पार्सल, बजार, वालेट लगायतको सेवाका कारण अहिलेसम्म टिकिरहेको हो,’ उनले भने। नेपालमा राईड सेयर एपमा लगानी गरेर सबैको गरी करिव १ अर्ब डुबेको उनको अनुमान छ।
‘मैले पहिल्यैदेखि राईड सेयरिङ कम्पनीहरुले मिलेर काम गरे सबैलाई राम्रो हुन्छ भनेर भन्दै आएको हु। जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने थिएन। अहिले विभिन्न कम्पनीले मनलाग्दी शुल्क राखेका छन्। नाफा नै नराखि सेवा दिँदा साना कम्पनी बन्द हुने अवस्थामा पुगेका हुन्,’ उनले भने।