काठमाडौं। जनकपुर–जयनगर–बिजलपुरामा कार्गो रेल चलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।
अनौपचारिक छलफल गर्दा भारतले नेपाललाई कार्गो रेल अनुदानमा दिन सकरात्मक देखिएपछि माघ २४ मा अर्थ र परराष्ट्रमा पत्र पठाएको भौतिक मन्त्रालयले जनाएको छ।
नेपाल रेल्वे कम्पनीका एक अधिकारीका अनुसार २ वटा यात्रुबाहक र एउटा कार्गो गरी ३ वटा रेल चलाउने प्रस्ताव भौतिक मन्त्रालयमा गरेको थियो।
तर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले भने अहिले चलिरहेका २ वटा रेलको घाटा पूर्ति गर्न पहिलो प्राथमिकतामा कार्गो रेल आवश्यक भएको जनाएका थिए। सोही अनुसार कार्गो रेल चलाउन अर्थ र परराष्ट्रमा पत्र पठाइएको भौतिक मन्त्रालयले जनाएको छ।
भारतले अनुदानमा कार्गो रेल दिन सकारात्मक देखिए पनि नयाँ कार्गो रेल दिन्छ वा आपूmले प्रयोग गरेको रेल दिन्छ प्रष्ट छैन। जसका कारण कति मूल्य बराबरको कति भारवहन क्षमताको कार्गो रेल नेपाल भित्रिन्छ भन्ने विवरण मन्त्रालयसँग छैन। अर्थ र परराष्ट्रले सहजीकरण गरेपछि मात्रै भौतिक मन्त्रालयले कार्गो रेल सञ्चालनको प्रक्रिया अघि बढाउन सक्नेछ।
पछिल्लो पटक नेपालमा २०७८ फागुन १ बाट यात्रुबाहक २ वटा रेल सञ्चालनमा आएका छन्।
२०७८ फागुनमा जयनगर–बिजलपुरा–बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन भएको थियो। हाल यात्रुबाहक रेल सञ्चालनको क्षेत्र बढाएर ५२ किमि (जयनगर–महोत्तरी भंगाहा) मा रेल चलाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
हाल रेल्वे कम्पनीसँग १०७ ज्यालादारी, २८ भारतीय र ८ (यातायात संस्थानका स्थायी) जना कर्मचारी छन्। रेल दैनिक दुईपटक जयनगर–कुर्था र एकपटक कुर्थ–भंगहासम्म ओहोरदोहोर गर्दै आएको छ।
तर, नेपालका प्राविधिक नहुँदा रेल सञ्चालनका लागि अहिलेसम्म भारतीय प्राविधिकको भर गर्नुपर्छ। रेल सञ्चालन गर्न नेपाल रेल्वे कम्पनी र भारत सरकारको स्वामित्वको कंकोर रेल्वे कर्पोरेसनबीच सम्झौता भएर २६ जना भारतीय प्राविधिले काम गर्दै आएका छन्।
रेलको इन्धन, रेलको दैनिक वासिङ, मर्मत सम्भार, प्रशासनिक खर्च पुर्याउन यात्रुलाई टिकट बेचेर आम्दानी भएको पैसाले पुग्दैन। जसले गर्दा मासिक ५० लाख बढी घाटा भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
रेल विभागका महानिर्देशक रोहितकुमार विसुराल कार्गो रेल सञ्चालन भएमा अहिले रेल्वे कम्पनीले बेहोरेको घाटा पूर्ति गर्न सकिने बताउँछन्। कार्गो रेलले मालसामान ओसार–पसार गर्ने हुँदा नेपालमा सामानको मूल्यसमेत सस्तो पर्ने उनको भनाइ छ।
यस अघि गत जेठ १८ मा भारतको बरथवाबाट नेपालको विराटनगरसम्म ८ किलोमिटरमा कार्गो रेल चलाइएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त कार्गो रेल अहिले अलपत्र जस्तै छ।
कार्गो रेल सञ्चालनमा आएसँगै विराटनगरका उद्योग व्यवासयीहरु सामान आयात गर्दा खर्च कम हुने अपेक्षामा थिए। तर, उद्घाटन पछि कार्गो रेल सञ्चालन निरन्तर नहुँदा उद्योग व्यवसायीहरु निराश छन्।