काठमाडौं। हालै प्राथमिक सेयर (आईपीओ) जारी गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ। सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ। सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन्। अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ।
फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै ४ प्रतिशत बोनस सेयर पाउनेछन् र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको साधारणसभा राष्ट्रिय सभागृहमा बस्ने भएको छ। साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना संचालक नियुक्तिका लागि निर्वाचन हुनेछ।
हिमालयन रिले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम सहित २ सय ६ रुपैयाँ प्रतिकित्तामा ३ करोड कित्ता साधारण सेयर जारी गरेको थियो।
केही साता अघि मात्रै नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको थियो। प्राधिकरणले पुँजी बढाउने योजना पेस गर्न १५ दिनको समय उपलब्ध गराएको छ भने तोकिएको पुँजी एक वर्षभित्र पुर्याउनुपर्नेछ।
यसअघि अन्य बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी बढाएको प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्तापुँजी पनि बढाएको हो। यसअघि पुनर्बिमा कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ तोकिएको थियो। प्राधिकरणको निर्णअनुसार कम्पनीले २० अर्ब पुँजी पुर्याउन हकप्रद जारी गर्ने योजना अगाडि सारेको हो।