अहिले मुलुक आर्थिक संकटसँग जुधिरहेको छ। बजार चलायमान हुन सकेको छैन। मुलुकभित्र राम्रो भविष्य नरहेको भन्दै दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन्। व्यापार, व्यवसायमा मन्दी छाएको छ। बैंकको ब्याज वृद्धिविरुद्धको प्रदर्शन केही मत्थर भए पनि साना तथा मझौला ऋण मिनाहा हुनुपर्छ भन्ने आवाज फैलिँदो छ। संकटका बेला बैैंक तथा वित्तीय संस्थाहरुले नाफा धेरै लिएको भन्दै सर्वसाधारण, निजी क्षेत्र र राजनीतिक दलहरु आलोचनामा उत्रिएका छन्। यद्यपि बैंकहरुको नाफा खुम्चिएर प्रतिफल दर एकल अंकमा सीमित रहँदा पनि धेरै कमाए भनेर विरोध भइरहेकै छ। बैंकमा देखिएको खराब कर्जा अनुपात, बैंकले लिने नाफा र समग्र बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायसँग क्यापिटल नेपालका सुवास योञ्जनले गरेको कुराकानीः
पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा अनुपात (एनपिएल) बढेको देखिन्छ? एनपिएल बढ्नुमा व्यवस्थापन, सञ्चालक समिति वा राष्ट्र बैंकमध्ये को बढी जिम्मेवार छन्?
खराब कर्जा अनुपात (एनपिएल) बढ्नुमा प्रमुख कारक भनेकै देशको वर्तमान आर्थिक अवस्था र नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति हो। कोभिडपछि मौद्रिक नीतिमार्फत बैंकहरुलाई केही खुला गरिए पनि त्यसपछि कडाइ गर्दाको असर वित्तीय संस्थामा देखिन थालेको हो। हुन त, मौद्रिक नीतिलाई सधैं खुला राखिनुहुँदैन। सोही कारण राष्ट्र बैंकले कडाइ गरेको हुन सक्छ। तर, अहिलेको जटिल अवस्था भनेको मुलुकको आर्थिक स्थितिले नै हो। सरकारले खर्च गर्न नसक्नु, राजस्व संकलन हुने बाटाहरु बन्द हुँदै जानु, अवसरका लागि विदेश जाने संख्या बढ्दा उपभोग गर्नेको संख्या कमी भएकाले पनि बजारमा मन्दी छाइरहेको छ। त्यसको असर बैंकमा परेको छ।
एनपिएल वृद्धि हुँदा त्यसको सीधा प्रभाव नाफामा पर्छ। नाफा प्रभावित हुँदा लगानीकर्ताले भार बोक्नुपरेको छ। लगानीकर्ताले प्रतिफल पाउने आधार तय गर्न रिकोभरीमा तपाईंहरुको कस्तो तयारी छ?
लगानीकर्तालाई लगानी प्रतिफल दिन सञ्चालक समिति जिम्मेवार हुनुपर्छ। साधारणसभाले सञ्चालक समितिलाई जिम्मेवारी दिएको हुन्छ। सञ्चालक समितिले राष्ट्र बैंकले दिएको निर्देशनलाई कार्यान्वयन गर्दै सेयरधनीप्रति जिम्मेवारीबोध गरेको हुन्छ। यसो भनिरहँदा बैंक सञ्चालक र अध्यक्ष मात्र यसको जिम्मेवार हुनुपर्छ भन्ने छैन। अहिलेको समस्या बैंकभित्रभन्दा बाहिरी कारण बढी आएको देखिन्छ। अहिले बैंकको नियन्त्रणभन्दा बाहिर अर्थतन्त्र गएकाले समस्या देखिएको छ। अहिले ऋण लिएका धेरैजसो सकेसम्म ब्याज तिर्न नपरोस् भन्ने चाहना राख्ने छन्। सकेसम्म ऋण नलिएकै राम्रो र लिएपछि ब्याज तिर्नुपर्छ। ऋण लिने बेला सम्झौता गरेरै ब्याज निर्धारण गरिएको हुन्छ। त्यहीअनुरुपले ऋण दिएको हुन्छ। पछि आएर ब्याज घटाउनुपर्छ र ऋण मिनाहा हुनुपर्छ भनेर आन्दोलन गर्दा बजारमा नकरात्मक सन्देश गइरहेको छ। अराजक व्यवहारका कारण बैंकमा ब्याज र किस्ता असुलीमा कमी आउँदा लगानीकर्तालाई प्रतिफल बाँड्न सकिएको छैन। लगानीकर्ताले प्रतिफल पाउनकै लागि लगानी गरेका हुन्छन्। त्यसैले ऋण लिने अनि ब्याज र किस्ता तिर्दैनौैं भनेर अराजक गतिविधि गर्ने कार्य बन्द हुनुपर्छ। यस्ता अराजक गतिविधिले कसैलाई फाइदा गर्दैन।
चालू आर्थिक वर्षको महालक्ष्मीको दोस्रो त्रैमासमा खुद आम्दानी १२ प्रतिशतभन्दा बढीले घटेको छ। यसका कारण के–के हुन्?
बैंकहरुमा पछिल्लो समय नोक्सानी व्यवस्था(प्रोभिजन) बढ्दै गएको छ। प्रोभिजन बढ्नु भनेको ब्याज नउठ्नु हो। अहिले ब्याज उठाउन निकै सकस भएको र प्रोभिजन बढ्दा खुद आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो। अहिले बैंकको ब्याजै नतिर्ने भनेर आन्दोलन चलाइएको भएको छ। तर, आन्दोलन गरेर मात्र ब्याज मिनाहा हुँदैन। यसमा कसैको लहैलहैमा लागेर भन्दा नियमसम्मत रुपमा ब्याज र किस्ता बुझाउनु बुद्धिमानी हुन्छ। बरु आफूलाई कुन बैंकले समस्यामा पारेको, त्यसलाई लिएर सम्बन्धित निकायमा जानुपर्छ। समग्र बैंक नै खराब हुन् भनेर अनावश्यक हल्ला गर्नुहुँदैन। बैैंकले एक दिन न एक दिन सावाँब्याज उठाएर छाड्छ। बैंकले पनि निक्षेपकर्तालाई नियमित रुपमा ब्याज तिर्नुपर्छ।
महालक्ष्मीको वित्तीय विवरण विश्लेषण गर्दा कमिसन शुल्क झन्डै ३४ प्रतिशतले बढेको देखिन्छ भने सञ्चालन आम्दानी १० प्रतिशतले घटेको देखिन्छ। सञ्चालन नाफा १२.८३ प्रतिशतले घटेको देखिन्छ। वितरणयोग्य नाफामा पनि ठूलो गिरावट आएको छ। यी सूचकलाई तपाईं कसरी लिनुहुन्छ?
अहिले बैंकमा ऋण लिनेभन्दा बचत गर्नेहरुको संख्या बढिरहेको छ। बाह्य क्षेत्रमा लगानी गरेर जोखिम लिनुभन्दा बैंकमा पैसा जम्मा गरेर निश्चित ब्याज लिँदा फाइदा देखेरै हुन सक्छ, अहिले निक्षेपकर्ताको संख्या बढिरहेको छ। ऋण लिनेहरुको संख्यामा कमी आएको छ। अघिल्लो वर्ष सम्पूर्ण बैंकहरुको स्थिति हेर्दा ३.५० प्रतिशत मात्र ऋण लिनेहरुको संख्या बढेको छ। यो वर्ष पनि ऋणको विस्तार ६ महिनामा करिब ४ प्रतिशतमा सीमित छ।
बैंकले धेरै ब्याज लिए, बैंकहरु लुटेरा हुन् भन्ने धारणा गलत हो। जुन स्तरको पारदर्शिता बैंकिङ क्षेत्रमा छ, त्यति नै अन्य व्यापार, व्यवसायको पनि ब्यालेन्ससिट सार्वजनिक गर्ने आँट कसैले गर्न सक्छ? बैंक तथा वित्तीय संस्थाले जस्तै सबैले पारदर्शिता अपनाउने हो भने नेपालको विकास धेरै माथि पुगिसक्थ्यो र पुग्न सक्छ।
यो तथ्यांकलाई हेर्दा यो वर्ष करिब ८ प्रतिशत मात्र बढ्ने देखिन्छ। आर्थिक मन्दी आउनुअघि वार्षिक २० प्रतिशतले ऋण लिनेको संख्या बढिरहेको थियो। बैंकहरु विस्तारै प्रविधिमैत्री हुन धेरै खर्च गर्नुपर्ने तर आम्दानी भने खुम्चिँदै गएको स्थिति अहिले छ। ऋण लगानी नहुने र खर्च मात्र बढ्ने हुँदा यसको असर ब्यालेन्ससिटमा देखिन थालेको हो। हाम्रो अहिलेको अर्थतन्त्रको मुख्य असर भनेकै आम्दानीभन्दा बढी खर्च भएकाले नै हो। खर्च गर्ने बाटो धेरै रहेको र आम्दानीको बाटो थोरै रहँदा समस्या भएको छ। रेमिट्यान्समा मात्र भर पर्दा अहिले समस्या भइरहेको छ। अब आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुनुपर्ने स्थिति आएको छ। हुन त, अहिले कृषिजन्य उत्पादनमा समेत परनिर्भर हुनुपर्ने अवस्था आएको छ। त्यसैले अब सरकारको ध्यान उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर मुलुकभित्रै रोजगारी सिर्जना गर्नतर्फ केन्द्रित हुनुपर्छ। सरकारलाई साथ दिन बैंकहरु सधैं तयार छन्।
बैंकको प्रतिसेयर आम्दानी ओरालो यात्रामै छ। लगानीकर्ताले हेर्ने मुख्य सूचकमध्ये यो पनि हो। यसलाई बढाउन बैंकको आन्तरिक रणनीतिक कस्तो छ?
यसपटक हाम्रो बैैंकको नाफा घट्नुको प्रमुख कारक प्रोभिजन नै हो। यो वर्ष ५० करोडको प्रोभिजन भएको छ। यो भनेको ब्याज उठ्न मुस्किल भएको हो। यो रकम नउठ्ने भन्ने छैन।
अहिले बैंकको नियन्त्रणभन्दा बाहिर अर्थतन्त्र गएकाले समस्या देखिएको छ। अहिले ऋण लिएका धेरैजसो सकेसम्म ब्याज तिर्न नपरोस् भन्ने चाहना राख्ने छन्। सकेसम्म ऋण नलिएकै राम्रो र लिएपछि ब्याज तिर्नुपर्छ। ऋण लिने बेला सम्झौता गरेरै ब्याज निर्धारण गरिएको हुन्छ। त्यहीअनुरुपले ऋण दिएको हुन्छ। पछि आएर ब्याज घटाउनुपर्छ र ऋण मिनाहा हुनुपर्छ भनेर आन्दोलन गर्दा बजारमा नकरात्मक सन्देश गइरहेको छ।
भोलिका दिनमा उठ्ने पैसा हो। तर, हाम्रो आन्तरिक रणनीति भनेको गुणस्तरीय सेवा दिने हो। ऋण दिँदा पनि आक्रामक रुपमा नदिने नीति हाम्रो छ। आन्तरिक प्रणालीमा केही सुधारको तयारी भइरहेको छ।
अहिले वित्तिय संस्थाले एनपिएल जुन लेबलमा राखेका छन्, त्यो केन्द्रीय बैंकको औजार प्रयोग गरेरै राखिएको हो?
हामी राष्ट्र बैंकले दिएको नीति र निर्देशनअनुसार चलेकै छौं। एनपिएल बढ्दो क्रममै छ। हाम्रो मात्र हैन, समग्र बैंकहरुको एनपिएल बढ्दो क्रममा रहेको छ। यसलाई लुकाएर राख्न पनि मिल्दैन। एनपिएल बढ्नु भनेको एकदमै खराब हुनु भन्ने पनि हैन। ब्यालेन्ससिटको हिसाबमा यो पारदर्शी गरिएको छ। नाफाका लागि यो ठीक हैन तर पारदर्शिताका लागि एकदमै राम्रो हो।
महालक्ष्मीमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छिटो–छिटो परिवर्तन भइरहेको हुन्छ। यसमा सञ्चालक समितिको हस्तक्षेप वा हो काम गर्न नसकेर हो?
सिईओ परिवर्तन भइरहनुमा सञ्चालक समितिको हस्तक्षेप भन्न मिल्दैन। मर्ज भएर ८ वटा विकास बैंक हुँदा तेस्रो स्थानमा थियो, व्यवसायको दृष्टिकोणबाट, महालक्ष्मी। पछिल्लो समय बिजनेसमा आशाअनुरुप अगाडि बढ्न सकेको छैन। अहिले हामी व्यवसायको आकारमा आठौं स्थानमा छौं। यसरी नै थाहा हुन्छ, को दोषी छ भन्ने। सिईओलाई लिँदा निश्चित टार्गेट दिएर नियुक्त गरिएको हुन्छ। कतिले त्यो पूरा गरेका छन्, कतिपयले गरेनन्। यसो भन्दैमा सीधा सञ्चालक समितिको हस्तक्षेप भएको छ भन्न मिल्दैन। कतिपयले आफ्नो बाध्यता र स्वविवेकले छाडेर गएका छन्। बैंकको अवस्था नराम्रो हैन, मात्र व्यवसाय वृद्धिमा कमी आएको छ। यो सन्तुष्ट हुनुपर्ने स्थिति भने होइन।
मर्जरबाट यहाँसम्म आइपुग्दा लगानीकर्ताले राम्रो प्रतिफल नपाएको गुनासो बढी सुनिन्छ। के बैंकले सोचेअनुसार नाफा कमाउन नसककै कारण लगानीकर्ताले प्रतिफल नपाएका हुन्?
२ वर्षअघि लगानीकर्तालाई २१ प्रतिशत डेबिडेन्ट बाँड्दा बैंकहरुमध्येकै सर्वाधिक दिनेमा हामी थियौं। पछिल्ला वर्षमा पनि राम्रै डेबिडेन्ट लगानीकर्तालाई दिएका थियौं, जुन, अन्य बैंकको तुलनामा राम्रो हो। पछिल्लो समय बैंकको व्यवसाय वृद्धि नहुँदा अपेक्षाअनुसारको प्रतिफल दिन नसकेकै हो।
तपाईं रेमिट व्यवसायमा संलग्न हुनुहुन्छ? नेपालमा रेमिट्यान्सको प्रवित्तिलाई कसरी हेर्नुभएको छ?
म रेमिट व्यवसायमा लागेको करिब २० वर्ष पूरा हुन लागेको छ। हिमालयन बैंकसँग आबद्ध भएर रेमिटको काम गर्दै आएको छु। रेमिट्यान्समा अर्थतन्त्र भर पर्नु नेपालका लागि दुर्भाग्यको हो। अर्थतन्त्रको मोडलमा भन्नुपर्दा यो राम्रो हैन। मुलुकले विस्तारै आयात प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्नतर्फ लाग्ने बेला आएको छ। रेमिट्यान्स जति बढ्यो, उति नै काम गर्ने मान्छेको संख्या घट्दै जाने र आयात क्रम झन्झनै बढ्दै जान्छ। आफ्नो देशभित्रको बजार खस्किँदै गएको र विदेशी सामानले नेपालको बजार कब्जा गरिरहँदा यहाँ उत्पादन गर्नेहरुको आत्मबल पनि घट्दै गएको देखिन्छ। जति हाम्रो रुपैयाँ कमजोर हुँदै गयो, उति नै रेमिट्यान्सको महत्त्व बढ्दै जान्छ। अहिले पैसा कमाउनौ लागि विदेश जाँदा सामाजिक र आर्थिक रुपमा ठूलो घाटा हुँदै गएको छ। अहिले रेमिट्यान्स आएर अर्थतन्त्र चलायमान हुनुभन्दा सकेसम्म विदेश जाने वातावरणै बन्न नदिन ध्यान दिन आवश्यक छ। त्यसैले म आफैंले रेमिट व्यवसाय गरे पनि यो प्रवृत्तिले दीर्घकालीन रुपमा धेरै असर गरेको छ। यसतर्फ सरकारको ध्यान तत्कालै जान जरुरी छ।
एकातिर व्यवसायीले बैंकलाई लुटेरा देखाउने र राजनीतिक दलका नेताहरुले पनि त्यसको समर्थन गरेको पाइन्छ। यसरी हेर्दा एकै व्यक्तिले व्यापार पनि गर्ने र बैंक पनि चलाउने हुँदा यसले वित्तीय प्रणालीलाई समस्यामा पारेजस्तो लाग्दैन?
उद्योग व्यवसाय गर्ने र बैंक वित्तीय संस्था चलाउने व्यक्ति एकै हुनुहुन्न भन्ने धारणा मेरो पनि हो। यसले केही न केही मात्रामा असर गर्छ। मेरो धारणा भन्नुहुन्छ भने, म ऋण लिएर ठूलो व्यवसाय गर्दिनँ। म ऋणीको हिसाबमा सानो ऋणी हुँ। ऋणीभन्दा बैंकर नै हुँ भन्न रुचाउँछु। रेमिट व्यवसाय पनि वित्तीय क्षेत्रकै एउटा अंग हो। अन्य व्यवसायी जसरी ठूलो ऋण लिएर काम गर्ने व्यक्ति हैन। बैंकर र व्यवसायी छुट्टिनुपर्छ। एउटै मान्छे ऋणी पनि हुने र दिने पनि हँुदा आफ्नो स्वार्थ बाझिने निश्चित देखिन्छ। केही समयअघि बैंकर नै माइतीघरमा ब्याज घटाउनुपर्छ भनेर आन्दोलनमा सरिक भए, जुन गलत हो।
अर्कातर्फ बैंकले धेरै ब्याज लिए, बैंकहरु लुटेरा हुन् भन्ने धारणा गलत हो। जुन स्तरको पारदर्शिता बैंकिङ क्षेत्रमा छ, त्यति नै अन्य व्यापार, व्यवसायको पनि ब्यालेन्ससिट सार्वजनिक गर्ने आँट कसैले गर्न सक्छ? बैंक तथा वित्तीय संस्थाले जस्तै सबैले पारदर्शिता अपनाउने हो भने नेपालको विकास धेरै माथि पुगिसक्थ्यो र पुग्न सक्छ।
आरोपका लागि आरोप लगाउने धेरै छन्। बैंकले गलत गरेका छैनन् भन्न मिल्दैन। कसैले गरेका हुन सक्छन्। त्यसमा राष्ट्र बैंकले सम्बन्धित बैंकलाई कारबाही गर्नुपर्छ। एउटाले गरेको दोषको भागिदार सम्पूर्ण बैंक हुनुहुन्न। हामीले बैंक र बैंकिङ के हो भन्ने पनि बुझ्नुपर्छ। बैंकिङ अर्थतन्त्रका लागि महत्त्वपूर्ण अवयव हो। अर्थतन्त्रको आधारभूत संवाहक हो। त्यसैले बैंकलाई गाली गर्नु गैरजिम्मेवार हो जस्तो लाग्छ। बुझेका नेताहरुले त सकेसम्म यो क्षेत्रको संरक्षणमा बोल्नुपर्ने हो। आज जुन संस्था सबैभन्दा बढी पारदर्शी (ट्रान्सपरेन्सी) छ, त्यसैलाई ढुंगा हान्ने? त्यसो भए देशमा पारदर्शी संस्था हुनु भएन? ब्यालेन्स सिट नदेखाउने संस्था खडा गर्ने हो? यी प्रश्नको जवाफ तिनै नेताहरुले दिन आवश्यक छ। पारदर्शी हुनु नै बैंकहरुको समस्या हो?
अहिले बैंकमा लगानी गर्नेहरु धेरै निरास छन्। सबैभन्दा पारदर्शी संस्थालाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला कमजोर बनाउने खेल चल्न थालेको छ, जुन मुलुकका लागि अत्यन्तै दुर्भाग्य हो। आरोपको भरमा बैंकहरुलाई कस्दै जाने र धेरै नीति नियममा बाँधिँदै लग्ने हो भने समस्यामा पर्दै जान्छन्। अरु क्षेत्रमा नाफा अधिक बाढिरहँदा बैंकहरुले अहिले १० प्रतिशत पनि प्रतिफल दिन सक्ने स्थिति छैन। अझ आउने वर्षमा यो प्रतिफल घट्दै जाने देखिन्छ, अवस्था नसुध्रिए। यसो हुँदा कि समग्र क्षेत्रमा निश्चित प्रतिशतभन्दा बढी नाफा कमाउन पाइँदैन भनेर राज्यले नै नीति बनाइदिनुपर्छ। नत्र,बैंकहरुलाई मात्र कस्दै जाने हो भने यसको असर विस्तारै मुलुकको अर्थतन्त्रमा समेत पर्दै जानेछ। त्यसैले तथ्यको आधारमा गाली गरौं। भावनामा डुबेर र सुनेको भरमा बैंक तथा वित्तीय संस्थाप्रति आरोप–प्रत्यारोप शृंखला हटाउनु उपयुक्त हुन्छ।
महालक्ष्मी थप मर्जरको पक्षमा छ वा अब कसरी अघि बढ्छ?
हामी अहिलेको अवस्थामा मर्जरको सोचाइमा छैनौं। यसको कारण नेपालमा मर्जरपछि बैंकहरुमा के परिवर्तन भयो भन्ने उदाहरण दिन सक्ने स्थिति छैन। दुई चरणमा मर्जर गरेर सात वटा संस्थामार्फत चलिरहेका छौं। मर्जर गर्दैमा राम्रो भइहाल्छ भन्ने पनि नदेखिएकोले तत्कालका लागि बैंकको स्वास्थ्यलाई बलियो बनाउन आवश्यक काम भइरहेका छन्।
अहिले बैंकमा लगानी गर्नेहरु धेरै निरास छन्। सबैभन्दा पारदर्शी संस्थालाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बेला कमजोर बनाउने खेल चल्न थालेको छ, जुन मुलुकका लागि अत्यन्तै दुर्भाग्य हो। आरोपको भरमा बैंकहरुलाई कस्दै जाने र धेरै नीति नियममा बाँधिँदै लग्ने हो भने समस्यामा पर्दै जान्छन्। अरु क्षेत्रमा नाफा अधिक बाढिरहँदा बैंकहरुले अहिले १० प्रतिशत पनि प्रतिफल दिन सक्ने स्थिति छैन। अझ आउने वर्षमा यो प्रतिफल घट्दै जाने देखिन्छ, अवस्था नसुध्रिए।
महालक्ष्मी दौडेर सबैभन्दा अगाडि पुग्नेभन्दा पनि उत्कृष्ट सेवा दिँदै आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्ने योजनामा छ। प्रविधिमैत्री बैंक बनाउने पहल भइरहेको छ। बैंकको आन्तरिक स्वास्थ्यलाई दीर्घजीवी बनाउने प्रयत्नमा छौं।
अहिले कस्तो क्षेत्रमा लगानी विस्तारको सम्भावना छ र ग्राहकले महालक्ष्मी नै किन खोज्ने?
महालक्ष्मीमा सामान्यतया स्थिर ब्याजदर छ। बैंकमा बचत गर्ने र ऋण लिनेको ब्याजअन्तर पनि समान हुनुपर्छ भन्ने धारणामा हामी अडिग छौं। बचतकर्ता र ऋणी दुवैलाई राम्रो होस् भन्ने चाहनाअनुसार काम गरिरहेका हुन्छौं। खर्च नियन्त्रण गर्दै आएका छौं। सकेसम्म धेरै खर्चिलो नहोस् भन्नेतर्फ सचेत छौं। अहिले बैंकहरुको सबभन्दा ठूलो समस्या भनेको ऋण तिर्न नसकेर धितो लिलाम गर्नु हो। सकेसम्म बैंकलाई पनि ऋणीको धितो लिलामी गर्न नपरोस् भन्ने चाहना हुन्छ। हामीले पनि सकेसम्म कसैको धितो लिलाम गर्न नपरोस् भन्नकै लागि अधिकतम समय दिन्छौं। मुख्य लगानी साना तथा घरेलु उद्यम केन्द्रित रहेकाले महालक्ष्मीले दिनुपर्ने सेवा–सुविधा ग्राहकमैत्री छन्। घरजग्गासहितका क्षेत्रमा पनि लगानी विस्तार भइरहेको छ।