काठमाडौं। ‘ममता हामी चियापसल खोलौं न,’ सूर्य न्यौपानेले एक दिन आफ्नी प्रेमिकालाई इलम प्रस्ताव राखे।
ममताले पनि सूर्यको प्रस्ताव सहजै स्वीकारिन्। उनले प्रेमी सूर्यको उद्यम सपना राम्रैसँग भेउ पाएकी थिइन्।
चियापसल त राख्ने तर दुवैसँग खासै पैसो थिएन। धेरै भाडा तिर्नुपर्ने ठाउँमा आँट गर्न हिम्मत गरेनन्। ठाउँ खोज्दै जादाँ बबरमहल बिजुलीबजार नजिकैको बुटवल पावर कम्पनी मुख्यालय रहेको छेउमै सटर भाडामा पाए।
चियापसलको भाडा ९ हजार रुपैयाँ थियो। उनीहरुले त्यही सानो ठाउँलाई सकेसम्म व्यवस्थापन गरेर चियापसल राखे। चियापसलबाट लखपति बन्ने सपनालाई दुवै जनाले हातेमालो गर्दै अगाडि बढाए। चियापसल राख्दा करिब ७० हजार रुपैयाँ खर्चपर्च भयो।
चियाको चुस्की लिन आउने आउने ग्राहकको मनोरञ्जनका लागि उनीहरुले भित्तामा विभिन्न प्रेमिल शब्दले ओतप्रोत नारा पनि लेखे।
‘ब्लड ग्रुप ‘टी’ पोजेटिभ, हातमा चिया मुटु चाहिँ छिया–छिया, यहाँ बसेर घुस खान मनाहि छ, हातमा चिया साथमा तिमी, बिल तिर्ने साथी पो साथी, जाबो अर्डर त म गरिहाल्छु नि, कसैसँग बसेर धोका खानुभन्दा यहाँ बसेर चियाँ खानुहोस् लगायत नारा आफैंले सोचेर लेख्यौं,’ सूर्यले भने, ‘ग्राहकलाई ‘स्लोगन’ पढ्दा थोरै भए पनि मनोरञ्जन हुन्छ र चिया टेबुलमा आइपुग्ने पर्खाइको पट्यार पनि पत्तो हुँदैन। त्यसैले चियापसलले चर्चेको भित्ताभरि स्लोगन लेखेका हौं।’
त्यहाँ उनीहरुले १५ थरी चिया बनाउँथे। बिहान–बेलुकाको पसल चलाउने सूर्य दिउँसो भने जागिर गर्थे। ‘म एउटा रेस्टुराँमा म्यानेजरको रुपमा काम गर्थे। जागिर छाड्दा सटर भाडा पनि तिर्न नसकिएला भन्ने चिन्ता थियो। त्यसकारण ममताले काम छाडेर पसल सम्हालिन्, मैले पसल र जागिर दुवैलाई सँगै अघि बढाएँ,’ उनले भने।
ग्राहकलाई नयाँ–नयाँ चियाको स्वाद चखाउन थालेपछि सूर्य दम्पतीको पसलले ख्याति पाउँदै गयो। सबैले चिन्दै गए। पसलले पैसो दिन थालेपछि उनीहरु दुवै विवाहबन्धनमा बाँधिए। सूर्यले पनि जागिर छाडेर पसललाई फलाउन, फुलाउन समय खर्चिन थाले।
‘म जे खान्छु, अरुलाई पनि त्यही खुवाउँछु भन्ने मान्यता बोकेको थिएँ। त्यसै गर्दा धेरै जनाले हाम्रो पसल मन पराउनुभयो,’उनी खुसी सुनिए। ४ वर्षअघि ७० हजारमा खुलेको सूर्य दम्पतीको क्याफेले अहिले धेरै ग्राहकको मन जितेको छ। अहिले उनीहरुले बुद्धनगरमा करिब ८ आना जग्गा भाडामा लिएर आफ्नै संरचना बनाएका छन्।
सुरुआती दिनमा १५ थरी चिया र केही बेकरी आइटम पाइने उक्त पसलमा अहिले ४० थरी त चिया मात्रै ग्राहकले रोजीखोजी खान पाउँछन्। त्यस्तै, खानेकुरामा फ्राई राइस, बर्गर, स्यान्डविच, चिकेन डोमेस्टिक, चिकेन चिल्ली, मुस्ताङ आलु, चटपट, मम, फ्रेन्च फ्राईलगायत दुई दर्जन बढी खानेकुरा पाइन्छन्। व्यवसाय बढ्दै जाँदा सूर्य दम्पतीले अरु १० जना स्टाफ राखेका छन्।
दैनिक चिया मात्रै करिब ५ सय कप बिक्री हुने गरेको उनी सुनाउँछन्। चियापसल चलाउने सपना अन्तरमनबाटै चिया बेच्ने भएकाले ग्राहक र भाग्य दुवैले साथ दिएको उनको विचार छ। बिजुली बजारको पसल बाटै उनीहरुले आफ्ना ग्राहकलाई रिझाएका थिए। उनीहरुको सुरुवाती दिनमा आएका ग्राहक अझै पनि आउँछन्।
बिजुली बजारको पसलको चिया ग्राहकले यतिविधि मन पराए कि भीड थामिनसक्नु हुन थाल्यो। ‘ठाउँ सानो थियो। जम्मा ६÷७ जना बस्न मिल्ने अवस्था थियो। कहिलेकाहीँ त टाढाबाट आएका ग्राहक त्यसै फर्किनुप¥यो। त्यसकारण हामीले ठूलो ठाउँ खोज्ने योजना बनायौं,’ उनले भने।
त्यसबेलासम्म उनीहरुले धेर–थोर रकम जम्मा गरिसकेका थिए। पैसाभन्दा पनि उनीहरुमा अत्मविश्वास चुलिएको थियो। ठाउँ खोज्दै जाँदा उनीहरुले बुद्धनगरबाट बानेश्वर जाने दिशामा ठूलो सटर पाए। त्यसको भाडा बत्ती, पानी, बिजुली सबै गरेर मासिक ४५ हजार बुझाउनैपथ्र्यो। बिजुलीबजारको सानो सटरमा ८ महिना पसल चलाएपछि सूर्य दम्पतीले बुद्धनगरमा ठूलो ठाउँमा चियापसल राख्ने निधो गरे। ठाउँ ठूलो भएपछि सामान पनि धेरै चाहियो।
सुरुआती दिनमा १५ थरी चिया र केही बेकरी आइटम पाइने उक्त पसलमा अहिले ४० थरी त चिया मात्रै ग्राहकले रोजीखोजी खान पाउँछन्। त्यस्तै, खानेकुरामा फ्राई राइस, बर्गर, स्यान्डविच, चिकेन डोमेस्टिक, चिकेन चिल्ली, मुस्ताङ आलु, चटपट, मम, फ्रेन्च फ्राईलगायत दुई दर्जन बढी खानेकुरा पाइन्छन्। व्यवसाय बढ्दै जाँदा सूर्य दम्पतीले अरु १० जना स्टाफ राखेका छन्।
उनीहरु सामान किन्न बजार होइन, कबाडीमा पुगे।
‘हामी काठमाडौंका सबैजसो कबाडी पसल पुग्यौं। त्यहाँबाट थोत्रा साइकल, कपडा सिलाउने मेसिन, टायर, टिनको ड्रमलगायत सामान ल्यायौं। त्यसलाई रङरोगन र डेन्टिङपेन्टिङ गरेर टेबुल÷कुर्सी बनायौं। हामीले सजावटका लागि थोत्रो रेडियो, टिभी, क्यामरा, मादल पनि पाएसम्म ल्यायौं,’ उनले भने, ‘यसो गर्दा पैसा पनि थोरै खर्च हुने र अरुभन्दा भिन्न पनि देखिने,’ उनले भने।
सबै सामान जुटाएर ल्याएकै कारण पसलको नामै जुगाड राखे।
पहिलेको पसलमा चिया, कफी र बेकरी मात्र पाइन्थ्यो भने नयाँ पसलमा खानेकुराका थप आइटम थपे। उनले छिटो, मिठो खानाका रेसिपी आइटम मेन्यमै राखे। ग्राहक आकर्षण गर्न तुलनात्मक रुपमा मूल्य कही कम राखे।
उनको पसलमा चियाको चुस्की लिन आउने ग्राहक खाजा खान पनि ओइरिन थाले। नयाँ ग्राहक पनि थपिँदै गए। पसलले पहिलेभन्दा धेरै चल्न थाल्यो। सूर्य दम्पती बेफुर्सदिला हुँदा दुई जनालाई ‘पार्ट टाइम’ जागिरमा राखे। नयाँ पसलमा एक पटकमा २०÷२५ जना बस्न मिल्ने ठाउँ भए पनि उनीहरुलाई त्यो पनि साँघुरो लाग्यो। ग्राहकको भीड बढ्यो।
‘त्यहाँ टेबुल थप्ने ठाउँ नै थिएन। पार्किङ नभएका कारण ग्राहकलाई समस्या परेको थियो। त्यसकारण हामी स्थायी ठाउँको खोजीमा थियौं,’ सूर्यले भने, ‘खोज्दै जाँदा त्यहीँ पसल नजिकै खाली जग्गा पाएँ। त्यहाँ आफैंले संरचना बनाउने सोच बनाएँ। तर, पुरानो पसल छोड्न मन लागेन। त्यो पसलसँग भावनात्मक सम्बन्ध थियो। त्यसैले हाम्रो पसलमा नियमित आउने एक जना ग्राहकलाई नै बेच्यौं।’
उनीहरुले भाडामा लिएको जग्गामा आफ्नै डिजाइनमा पार्किङसहितको संरचना बनाए। जुगाड ४ महिनादेखि आफ्नै संरचनामा सरेको छ। अहिले उक्त चियापसलमा एक पटकमै सय जना मजैले बस्न मिल्छ। व्यावसायिक जीवनको ४ वर्षमा सूर्य दम्पतीले आम्दानीमा राम्रै फड्को मारे। कुनै पनि काम गर्दा सानोबाट सुरु गरे पनि ठूलो हुन समय नलाग्ने उनको अनुभव छ।
‘मैले पसल सुरु गर्दा ९ हजार भाडा तिर्न पनि ठूलो लाग्थ्यो। अहिले हामीबाहेक १० जना स्टाफ छन्। त्यो बेला मैले ठूलो पुँजीबाट सुरु गर्छु भन्ने सोच बनाएको भए अहिलेसम्म आफ्नो पसल हुने थिएन होला। त्यसकारण इच्छाशक्ति र धैर्य भयो भने कुनै काममा असफल भइँदैन,’ उनले सफलताको सूत्र बताए।
सूर्य आफ्नो पसललाई अझै विस्तार गर्ने लक्ष्यमा छन्। ‘हिजो हजारको आँकडाबाट पसल सुरु ग¥र्यौं। आज लाख आँकडाको पसल राखेको छौं। भाग्यले साथ दिए भोलि करोड लगानीको पसल राख्छौं,’ उनले भने।