गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ बमोजिम परराष्ट्र मन्त्रालय (मन्त्रीस्तर)को निर्णबाट माघ १७ मा युनाइटेड नेपाली डायस्पोरा संगठन दर्ता भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र चर्को विवाद भएर तीन वटा समानान्तर समिति बनिरहेका बेला युनाइटेड नेपाली डायस्पोरा संगठन दर्ता भएपछि अर्को तरंग फैलिएको छ। एनआरएनएका पूर्वउपाध्यक्षसमेत भइसकेका अमेरिका बस्ने गैरआवासीय नेपाली सोनाम लामाको अध्यक्षतामा नयाँ संस्था दर्ता भएपछि विश्वभर चासोको रुपमा लिइएको छ। संस्थाको सचिवमा तेन्जिङ अकाव, कोषाध्यक्षमा कुशल केसी र सदस्यमा इर्साद एहमद, डम्बर घले, राजु थापा र दिपेश खत्री रहेका छन्। गैरआवासीय नेपालीलाई फेरि अर्को संस्था किन आवश्यक पर्यो भन्ने विषयमा क्यापिटल नेपालका संवाददाता सुवास योञ्जनले अध्यक्ष लामालाई सोधेका ५ प्रश्नः
तपाईंले दर्ता गर्नुभएको संस्था एनआरएनएको समानान्तर हो कि छुट्टै हो? किन यो आवश्यक पर्यो?
यो विशुद्ध गैरआवासीय नेपालीहरुको साझा संस्था हो। तर, हाल विद्यमान एनआरएनएको समानान्तर संस्था भने होइन। हुन त, पुरानो संस्थामा धेरैको योगदान छ। त्यहाँ धेरै राजनीति हावी भयो र संस्थाको उद्देश्यअनुसार कुनै काम हुन सकेन। विस्तारै पूर्वअध्यक्ष र बूढाहरुको कब्जामा त्यो संस्था पर्दै गएपछि सधैं शक्तिमा रहनका लागि एनआरएनएलाई उनीहरुले विवादमा पारिरहे। हामी विदेश बस्नेले नेपालमा गएर राजनीति गर्ने हैन, त्यहाँ लगानी भित्र्याउने र प्रविधि भित्रयाउने हो। तर, अहिले ठीक उल्टो भएको छ। गैरआवासीय नेपालीको मर्म र भावनाविरुद्ध हालको संस्था गएपछि नयाँ निर्माण गर्न बाध्य भएका हौं। एउटा मात्र हुँदा प्रतिस्पर्धा नहुने र मनोपली हुँदै सिन्डिकेट हुने भएपछि नयाँ बनाएका हौं। नयाँ संस्था समानान्तर हैन। यसको छुट्टै लोगो र विधान रहेको छ। हामी सोहीअनुसार अगाडि बढ्नेछौं। जति धेरै संस्था बने, उति नै नेपालका लागि राम्रो हुने हो। हामी यो संस्थामार्फत विश्वभर रहेका नेपालीलाई नेपालमा लगानी गर्न र पुँजी ल्याउन प्रोत्साहन गर्छौं। अहिले विदेशमा रहेका नेपालीले धेरै राम्रो प्रगति गरिराख्नुभएको छ। उहाँहरुलाई नेपालप्रतिको माया झल्काउँदै लगानी ल्याएर रोजगारी वृद्धिमा मुलुकलाई योगदान पुर्याउने मुख्य उद्देश्य रहेको छ।
पूर्वअध्यक्ष शेष घलेको समर्थनमा तपाईंले संस्था दर्ता गर्नुभएको हल्ला छ। तपाईंलाई साथ दिने को–को छन्? यो संस्थामा कति सदस्य छन्?
यो संस्थामा पूर्वअध्यक्ष शेष घले, देवमान हिराचनको मात्र हैन, धेरै पूर्वअध्यक्षहरुको समर्थन छ। उहाँहरु मात्र हैन, अरु पूर्वअध्यक्षहरु र पदाधिकारी पनि यो संस्थाको सदस्य बन्न पाउँछन्। कोही कसैलाई सदस्य बन्नबाट रोक लगाइएको छैन। यो विशुद्ध गैरआवासीय नेपालीको संस्था भएकाले यहाँ कसैको समर्थन र विरोधभन्दा पनि हाल २८ देशका ८२ जना सदस्य रहेका छन्। अहिले भएको संस्थाले खास काम गर्न नसकेको र राजनीति सिन्डिकेटमा चलेका कारण धेरै जना त्यहाँबाट निस्किन चाहेका छन्। नयाँ संस्थाको खोजीमा लागिरहेका बेला यो दर्ता भएको छ।
यसअघिका संस्थाका पदाधिकारीलाई लागेको आरोप नयाँ संस्थाका सदस्यलाई सकेसम्म लाग्न नदिने हाम्रो अठोट र पहल रहनेछ। नयाँ सोच र उद्देश्यका साथ संस्था अगाडि बढाएर मुलुकलाई थोरै भए पनि आर्थिक समृद्धिको संवाहकको रुपमा अगाडि बढाउने सपना बोकेका छौं।
यहाँ जोकोही पनि बाध्यकारी नभएर स्वैच्छिक रुपमा सदस्य बनेका छन्। यहाँ कुनै व्यक्तिको साथ र समर्थनभन्दा सिंगो गैरआवासीय नेपालीको साथ संस्थालाई रहेको छ। सबैको साथ, समर्थन र भावना उजागर गर्दै विश्वभर रहेका नेपालीलाई एकजुट बनाएर गैरआवासीयको शिर उँचो हुने खाले गतिविधि गर्नेछौं। यो संस्थामा बढी युवाहरुलाई जिम्मेवारी दिइएको छ। यो संस्था दर्ता प्रक्रिया अगाडी बढाएको धेरै भैसकेको छ। तर, परराष्ट्र मन्त्रालयले ढिलाइ गर्दा समस्या भएको थियो। पछि हामी अदालत गएर मुद्दा जितेर आएपछि परारष्ट्रमन्त्री एनपी साउदले तत्कालै काम अगाडि बढाइदिनुभएको कारण छिट्टै दर्ता प्रमाणपत्र पाउन सफल भएका छौं।
एनआरएनएमा सदस्य योग्यताको पनि बेलाबेला विवाद हुने गरेको छ। तपाईंहरुको नयाँ संस्थामा कस्ता–कस्ता व्यक्ति सदस्य हुन्छन्। वास्तविक एनआरएनए को हुन्?
अहिले संस्थाको मर्म विपरीत धेरैलाई सदस्य बनाइएको छ, एनआरएनएमा। हुन त, विदेशमा रहेकाहरु संगठित हुनु भनेको नराम्रो होइन। तर, संस्थाको मर्म र भावना विपरीत अहिलेको संस्थामा सदस्य बनेका छन्। हामीले सुरुदेखि नै आवाज उठाउँदै आएका थियौं– विदेश बस्ने सबै गैरआवासीय हुन सक्दैनन। तर, त्यो बेला आफ्नो भोट सुरक्षित गर्न विदेशमा १८३ दिन बस्ने गैरआवासीय नेपाली हुन् भन्ने परिभाषा स्थापित गरिएको छ। यो गलत थियो। त्यो परिभाषाअनुसार अध्ययन र रोजगारीका लागि निश्चित अवधिमा विदेश गएकासमेत सदस्य बनेका छन्। तर, हाम्रो माग रोजगारी र अध्ययनमा जानेहरु एनआरएनए हुन सक्दैनन् भन्ने थियो। अहिले हाम्रो संस्थामा स्थायी बसोबासका लागि विदेशमा अनुमति पाएका सदस्य मात्रै छन्। विदेश बस्ने अनुमति पाएका मात्रै एनआरएनए हुन् भन्ने हाम्रो संस्थाको बुझाइ छ। हाल एनआरएनएमा विवाद देखिएको मूल कारण पनि यही नै हो।
एनआरएनएले विदेशबाट लगानी ल्याउनेभन्दा नेपालमै भएको लगानी परिचालन गरेर नाम मात्र गैरआवासीय राखे भन्ने आरोप लागिरहेको छ। यो संस्थामा रहेकाले पनि यहीको पुँजी परिचालन गर्छन् कि साँच्चिकै विदेशबाट लगानी ल्याउँछन्? त्यसको मोडल के हुन्छ?
हो। हाम्रो फरक मत पनि यसैमा हो। हाल रहेका संस्थाका पदाधिकारी वा सल्लाहकार, जो जसले भए पनि अहिले विदेशबाट लगानी थोरै मात्र ल्याएको देखिन्छ। अलिकति लगानी ल्याएर धेरै कमाउने सोच हाम्रोमा छैन। मैले जति लगानी नेपालमा गरेको छु, त्यो विदेशमा कमाएकै पैसाले गरेको छु। नेपालमा थोरै भए पनि रोजगारी बढाएर सरकारलाई कर तिरिरहेको छु। यो संस्थामा आबद्ध हुनेहरुले पनि सामूहिक रुपमा होस् वा बेग्लै। लगानी गर्न सक्छन्। विदेशमा कमाएको केही रकम नेपालमा लगानी गर्ने र बढ्दो प्रविधिलाई फैलाउने मुख्य उद्देश्य रहेको छ। त्यसैले यसअघिका संस्थाका पदाधिकारीलाई लागेको आरोप नयाँ संस्थाका सदस्यलाई सकेसम्म लाग्न नदिने हाम्रो अठोट र पहल रहनेछ। नयाँ सोच र उद्देश्यका साथ संस्था अगाडि बढाएर मुलुकलाई थोरै भए पनि आर्थिक समृद्धिको संवाहकको रुपमा अगाडि बढाउने सपना बोकेका छौं।
समानान्तरसहित हाल रहेका एनआरएनएभन्दा तपाईंहरुको संस्था कसरी पृथक हुन्छ? तपाईंहरुको संस्थाको निर्वाचनमा राजनीतिक भागबन्डा हुँदैन?
हाम्रो संस्था राजनीतिक हस्तक्षेपमुक्त हुन्छ। राजनीतिक र व्यक्तिगत स्वार्थ त्यागेर मुलुकको हितमा लागेर लगानी ल्याउन मुख्य ध्यान केन्द्रित हुनेछौं। यो संस्थामा सदस्यको कार्यकाल तीन–तीन वर्षको हुनेछ। देशलाई अहिले विदेशी लगानी आवश्यक परेको छ। सरकारले पनि लगानी सम्मेलन आयोजना तयारी गरिरहेको छ। त्यो बेला पनि हामीबाहेक अन्य लगानीकर्तालाई नेपाल ल्याउन विशेष पहल हुनेछ।