काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ। जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। उनले ३३ बल खेल्ने क्रममा १ छक्का र ३ चौका हानिन्। यस्तै, सीता रानामगरले अविजित ३६ रन बनाइन्। उनले ३८ बल खेल्दै १ छक्का र १ चौका प्रहार गरिन्।
कविता कुँवरले ४ रन जोडिन्। बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक–एक विकेट लिए। मलेसियाको सेलांगुुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्।
हङकङले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ९३ रन बनाएको हो। हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्। उनले ३१ बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन्। यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाए।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले २–२ तथा कविता जोशी र सीता रानामगरले १–१ विकेट लिए। नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा छन्।