काठमाडौं। विद्यार्थी जीवनमा धेरै साथीहरु भेटिन्छन् तर, तीमध्ये स्कुलमा भेटिएका साथी एकदमै नजिक र प्रिय लाग्छन्। कोही पढाइ सकेसँगै छुटेर जान्छन् त कोही साथमै रहन्छन्। स्वीकृति न्यौपाने र दक्षता भण्डारी यस्तै स्कुलेदेखिका साथी हुन्। उनीहरु अहिले व्यवसायको एउटै यात्रामा छन्।
स्कुल पढ्दा बनेको मित्रताले उनीहरुलाई उद्यमी बनाएको छ। अहिले हस्तकलाको व्यवसायमा सहकार्य गरेर न्यौपाने र भण्डारी अगाडि बढिरहेका छन्। विद्यार्थी जीवनमै लुमिएर नेपाल नामक व्यवसाय सञ्चालनमा ल्याएर उनीहरुले नेपाली हस्तकलालाई प्रवर्द्धन गरेका छन्, जुन सबैका लागि उदाहरणीय बनिरहेको छ।
प्लस टु अध्ययनकै क्रममा एउटा अवसर जुराएर दक्षतालाई स्वीकृतिले ह्यान्डमेड ल्याम्प उपहार दिइन्। उक्त उपहार दक्षतालाई औधी राम्रो लाग्यो र त्यसबारे सोधीखोजी गरिन्। सो उपहार नेपालमै हस्तनिर्मित सामग्री भएको थाहा पाएपछि उनमा यस्ता सामग्री आफैंले उत्पादन गर्नुपर्ने धारणा पलायो।
त्यसपछि दक्षताले स्वीकृतिलाई यसबारे सोधिन् र सँगै व्यावसायिक रुपमा अगाडि बढ्ने प्रस्ताव राखिन्। अन्ततः दुवैको विचार मिल्यो र बन्यो ‘लुमिएर नेपाल’।
लुमिएर नेपालले नेपाली संस्कृति झल्कने विभिन्न किसिमका हस्तकलाका सामान उत्पादन गर्दै आएको छ। दुई साथीले सन् २०२१ मा लुमिएर नेपाललाई आधिकारिक रुपमा दर्ता गरेर व्यावसायिक यात्रा थालनी गरेका हुन्।
उद्यम थालेको लामो समय भइसकेको छैन। यद्यपि, करिब तीन वर्षमा उनीहरुले हस्तकलाका सामग्री निर्माण र उत्पादनमा बेग्लै पहिचना बनाएका छन्। मध्यम वर्गमा हुर्किएका दुवै जना आफ्नो खर्च आफैं जुटाउन सके परिवारका लागि ठूलो सहुलियत हुने ठान्थे। यही विचारले उनीहरुलाई अध्ययनसहित व्यवसाय अगाडि बढाउन थप ऊर्जा मिल्यो।
हिजोका दिनमा आफ्नो खर्च मात्रै जुटाउने सोच बनाएका उनीहरुले अहिले आफ्नो व्यवसायमार्फत परिवारलाई समेत सहयोग गरिरहेका छन्। ‘व्यवसायको सुरुआती समय हामीसामु थुप्रै कठिनाइ थिए। लगानीका लागि पैसा थिएन भने अरुले विश्वास गरेर लगानी गरिदिने अवस्था पनि थिएन,’ दक्षता भन्छिन्, ‘यही अवस्थामा सुरुमा ५ सय रुपैयाँको सामान किनेर ल्याम्प बनाई १ हजारमा बिक्री गर्न सफल भयौं।’
५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय यति छिटो यो अवस्थामा आउला भन्ने र लोकप्रिय भइएला भन्ने नसोचेको उनी सुनाउँछिन्। सबै उमेर समूहका मानिसको रोजाइमा रहेको लुमिएर नेपालले हरेक व्यक्तिको रोजाइलाई ध्यान दिँदै मागअनुसारको उत्पादन गर्दै आएको छ।
उनीहरुले उत्पादित सामग्रीलाई अनलाइनमार्फत बिक्री वितरण गर्दै आएका छन्। विशेषतः सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्रामलगायत माध्यमबाट आफ्नो व्यवसायलाई बजारीकरण गरिरहेका छन्। धेरैले सामाजिक सञ्जालको महत्त्वअनुसार त्यसलाई सदुयोग गर्न नसकेको अवस्थामा उनीहरुले चालेको यो कदम आफैंमा अनुकरणीय लाग्छ। उनीहरुले विदेशबाट माग आएमा कुरिएर गरेर विदेशसम्म आफ्नो सामाग्री पठाउने गरेका छन्।
अनलाइनमार्फत गरिएको यो व्यवसायमा सबैभन्दा धेरै बिक्री टिकटकबाट हुने गरेको थियो। तर, हाल टिकटक बन्दपछि व्यवसायमा केही धक्का लागेको भण्डारी बताउँछिन्।
आफ्नो घर सजाउने, नजिकका मानिसलाई उपहार दिने मन सबैमा हुन्छ। आधुनिकको नाममा स्वदेशी र पुरातात्त्विक झल्किने चीज नासिँदै गएको अवस्थामा सजावटका लागि होस् वा उपहारका लागि हस्तनिर्मित सामान नै पहिलो विकल्प हुन सक्छ। मानिसमा यस्ता सामाग्री राख्ने या अरुलाई दिने मन भए पनि आर्थिक अवस्थाका कारण सबैले सोचेअनुरुप गर्न सक्दैनन्। यही अवस्थालाई लक्षित गरेर भण्डारी र न्यौपानेले थोरैदेखि धेरै मूल्यसम्मका सामाग्री उत्पादन गरिरहेका छन्।
उद्यम थालेको लामो समय भइसकेको छैन। यद्यपि, करिब तीन वर्षमा उनीहरुले हस्तकलाका सामग्री निर्माण र उत्पादनमा बेग्लै पहिचना बनाएका छन्। मध्यम वर्गमा हुर्किएका दुवै जना आफ्नो खर्च आफैं जुटाउन सके परिवारका लागि ठूलो सहुलियत हुने ठान्थे। यही विचारले उनीहरुलाई अध्ययनसहित व्यवसाय अगाडि बढाउन थप ऊर्जा मिल्यो।
लुमिएर नेपाललमा कम्तीमा ५५० देखि बढीमा ८ हजार १ सय मूल्यसम्मका सामग्री पाइन्छन्। उनीहरुले अर्डरअनुसार पनि विभिन्न सामग्री बनाउने गछैन्। उनीहरुले आफ्ना सामग्री बिक्री वितरणका लागि स्टोर पनि सञ्चालनमा ल्याएका छन्। यो स्टोरमा हातले बुनेका एल्बम, लकेट, ब्रासलेट, क्रिस्टल, क्रिसमस ट्री, गिफ्ट बक्स, डेकुरेट लाइटलगायत विभिन्न सामान बिक्रीका लागि राखिएका छन्।
हातले बनाएका यस्ता सामान बजारमा छ्यापछ्याप्ती पाइए पनि लुमिएर नेपालका सामाग्री भिन्नै देखिन्छन्। यसैले पनि मानिसको रोजाइमा लुमिएर नेपालका सामग्री परिरहेका छन्।
अर्डरअनुसारका सामान निर्माण गरेर उनीहरुले नेपालभर निःशुल्क पुर्याउने गरेका छन्। विशेषगरी एल्बम, ब्रासलेट, लकेटलगायत सामग्री अर्डर बढी आउने गरेको भण्डारी सुनाउँछिन्। स्नातक अध्ययनरत उनी उद्यमी भएर काम गर्न पाउँदा खुसी छन्।
‘हामीले हाल ९ जनालाई काम दिइरहेका छौं। यिनमा अधिकांश विद्यार्थी नै छन्,’ भण्डारी भन्छिन्, ‘यो व्यवसाय विद्यार्थीका लागि सिक्दै, पढ्दै गर्ने महत्त्वपूर्ण प्लेटफर्म पनि बनेको छ।’
भण्डारीले लुमिएर नेपालबाट हस्तकलाप्रति चासो राख्ने व्यक्तिलाई सामग्री बनाउन निःशुल्क तालिम दिँदै आएको बताइन्। नेपाली हस्तकला सामग्री बनाउँदै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सोच उनीहरुको छ।