काठमाडौं। क्यापिटलनेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचार।
गिरी बन्धु टी स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय २४ माघमा सर्वोच्च अदालतले बदर गरेको छ। संवैधानिक इजलासले १३ वैशाख २०७८ मा केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व देखिएको भन्दै बदर गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित भएको छ। संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त विधेयक २४ माघमा बहुमतले पारित भएको हो।
सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जना रिहा भएका छन्। चौधरीलाई बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना आरोपमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माघ १८ मा पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतको आदेशपछि तीनै जनालाई माघ २४ मा प्रहरीले बोलाएका बेला उपस्थित हुने सर्तमा रिहाइ गरिएको हो।
वर्णवास म्युजियम होटलको पहिलो पाहुना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर क्रिस्टिना विटोरिया एगर बनेकी छन्। उनी माघ २३ मा काठमाडौं उत्रिएकी थिइन््। इटालियन फेसन डिजाइनर क्रिस्टिनाले नेपाल आएसँगै वर्णवास म्युजियम होटलमा गरिएको स्वागत एवं सत्कारलाई आफ्नो इन्स्टाग्राममा पोस्ट्याउँदै धन्यवाद दिएकी छन्।
काठमाडौं महानगरले सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्न १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ। एउटा सेटमा २ वटा बिन हुनेछन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि छुट्याइएको छ। यी सेट वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने मुख्य मान्छेको जिम्मामा राखिनेछ।
हुलाक सेवाअन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज भएका छन्। माघ २५ को मन्त्रिपरिषद् बैठकले हुलाक सेवा विभागको संगठन तथा व्यवस्थापन संरचना (ओएन्डएम) स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले ‘एक पालिका, एक हुलाक’ कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो।
कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुर नगर विकास समिति स्वामित्वको ७ बिघा सार्वजनिक जग्गा नक्कली कागजात बनाई व्यक्तिका नाममा ल्याउने २४९ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २२८ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अघिल्लो साता २ हजार ६७.०१ बिन्दुमा रहेको नेप्से परिसूचकमा यो साता आइतबार पहिलो दिन केही घटे पनि पछिल्लो चार दिन लगातार बढ्दा समग्रमा २९ अंकको वृद्वि देखिएको छ। सेयर बजारमा यो साता कुल १४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता कुल २३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो।
कोसी प्रदेश सरकार र पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ। दुई पक्षबीच संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त पहल गर्ने, आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण बनाउने, आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार, आन्दोलनकारीमाथि लगाइएका मुद्दा प्रदेश सरकारले फिर्ता लिने सम्झौता भएको छ।
जथाभावी फोहोर फ्याँक्नेमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरले गएको ६ महिनामा २४ लाख ६३ हजार जरिमानाबापत राजस्व संलन गरेको छ। वीरगञ्ज महानगरले २०७९ पुस १७ देखि जरिमाना सुरु गरी जथाभावी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी हालसम्म ९ सयबाट जरिमाना उठाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धानले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद अनियमिततामा बहालवाला मन्त्री र पूर्वमन्त्रीसँग बयान लिएको छ। स्वास्थ्यमन्त्री रहेका मोहनबहादुर बस्नेत र कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री रहेका बेला कानुनी प्रक्रिया विपरीत अस्वाभाविक मूल्यमा उपकरण खरिद गरेको विषयमा उनीहरुसँग बयान लिएको हो।
नियामक नेपाल राष्ट्र बैंकले एनआइसी एसिया बैंकमा विशेष सुपरिवेक्षण पठाएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सुधीरनाथ पाण्डेले राजीनामा दिएका छन्। राष्ट्र बैंकको सुपरिवेक्षणबाट पहिलो चरणमा पाण्डेको संलग्नताबाट गलत अभ्यास भएको सूचना पाएपछि डिसिइओ पाण्डेले राजीनामा दिएको बताइएको छ।
सिन्धुपाल्चोकस्थित १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ७ किलोमिटर सुरुङमा पानी पठाइएको छ। परीक्षणको चरणमा पुगेको आयोजनामा माघ २३ देखि पानी पठाइएको हो। आयोजनाको बाँध, सुरुङ र पावर हाउसको काम सकिएपछि उत्पादन तयारीका क्रममा आयोजनाको सबै संरचनामा ‘वेट टेस्टिङ’ सुरु भइसकेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्त नहुँदा प्राथमिक निष्कासन (आइपिओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्र अनुमति प्रक्रिया रोकिएको छ। गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन। यसले पछिल्लो एक महिनायता आइपिओ, एफपिओ अनुमति रोकिएको हो।
नेपालभित्र थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत दर्ताबिनै सञ्चालनमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ले यस्तो तथ्यांक देखाएको हो। सर्वेक्षणमा थोक तथा खुद्रा व्यापारमा संलग्न ११ लाख ३० हजार ६ सय ४५ मध्ये ४ लाख ३ हजार ९६४ महिला रहेको उल्लेख छ।