काठमाडौं। नेपाल राष्ट्र बैंकले आधा जर्दन वाणिज्य बैंकहरूसँग ‘क्यापिटल प्लान’ मागेको छ। चालू वर्षको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष (सिसिएआर) मा दबाब भएका बैंकहरूलाई क्यापिटल प्लानसहित केन्द्रीय बैंकले हाजिर हुन पत्राचार गर्न लागेको हो।
राष्ट्र बैंकले आगामी असारमा ‘काउन्टर साइक्लिकल बफर’ का रुपमा थप शून्य दशमलव ५ प्रतिशत बिन्दुले प्राथमिक पुँजीकोष कायम गर्न निर्देशन दिइसकेको छ। असार मसान्तमा ९ प्रतिशत कायम गर्नुपर्नेमा अहिले न्यूनतम ८ दशमलव ५ प्रतिशत सिसिएआर चाहिने भए पनि आगामी असारमा यो ९ प्रतिशत पुग्नुपर्छ।
चालू वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पुँजीकोष ९.६५ प्रतिशत कायम छ। उक्त अवधिमा कुमारी बैंक र प्रभु बैंकको सिसिएआर सीमाभन्दा तल छ। कुमारी बैंकको पहिलो त्रैमासमै ८ दशमलव २१ प्रतिशत सिसिएआर थियो भने दोस्रो त्रैमासमा थप घटेर ८ दशमलव ०३ प्रतिशत पुगेको छ।
यता, पहिलो त्रैमासमा ८ दशमलव ९२ प्रतिशत सिसिएआर कायम गरेको प्रभु बैंकले दोस्रो त्रैमासमा ८ दशमलव १२ प्रतिशत सिसिएआर कायम छ। यीबाहेक ९ प्रतिशत तल सिसिएआर कायम भएका माछापुच्छ्रे, नबिल र हिमालयन बैंकलाई समेत राष्ट्र बैंकले सूक्ष्म निगरानीमा राखेको छ।
चालू वर्षको पुस मसान्तसम्म माछापुच्छ«े बैंकको ८ दशमलव ६६ प्रतिशत, नबिल बैंकको ८ दशमलव ९३ प्रतिशत र हिमालयन बैंकको ८ दशमलव ७० प्रतिशत सिसिएआर कायम छ। साथै, ९ प्रतिशत हाराहारी रहेको एनआइसी एसिया र सिटिजन्स बैंकलाई पनि राष्ट्र बैंकले व्यावसायिक रणनीति संयमित भएर बनाउन र सोहीअनुसार बिजनेस गर्न सुझाएको छ।
चालू वर्षको दोस्रो त्रैमासमा एनआइसी एसियाको ९ दशमलव ०४ र सिटिजन्स बैंकको ९ दशमलव ०६ प्रतिशत प्राथमिक पुँजी कोष कायम छ।
बैंकहरूले दैनिक रुपमै तोकिएको पुँजीकोष कायम गरेर व्यवसाय गर्नुपर्छ भने मासिक रुपमा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्छ। मासिक रुपमा रिपोर्टिङ भए पनि राष्ट्र बैंकले कुनै दिन तोकिएको पुँजीको ‘ब्रेक’ गरेको स्थिति भेटिए लाभांश वितरणमा रोक लगाउने गर्छ भने पुँजीकोष घट्दै गए अन्य सुपरिवेक्षकीय कारबाही गर्दछ।
यस्ता कारबाहीमा व्यावसायिक कारोबारमा बन्देजदेखि व्यवस्थापन नियन्त्रण लिनेसम्म हुने गर्छ। अहिले ९ प्रतिशतभन्दा तल र सोही हाराहारी हुने बैंकहरूलाई क्यापिटल प्लान मागिएको राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले बताए। ‘अहिले ९ प्रतिशत हाराहारी वा सोभन्दा तल सिसिएआर भएका बैंकहरूलाई के–कसरी पुँजी पुर्याउँछौ? व्यावसायिक रणनीति के हो? क्यापिटल प्लान माग्ने तयारी गरेका छौं,’ राष्ट्र बैंकका ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘दोस्रो त्रैमासको तथ्यांक भर्खर आएको छ। सिसिएआर सीमा तल नै भएका बैंकहरूलाई यही बोलाएर प्लान मागेका छौं भने केहीलाई पत्राचारै गरेर माग्छौं।’
बैंकहरूले राष्ट्र बैंकमा क्यापिटल प्लान पेस गर्दा खर्च घटाउने, निक्षेप बढाउने, भएको ऋण अन्य बैंकलाई बिक्री गर्ने, गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने, कर्जा असुली योजनालगायत पेस गर्नुपर्नेछ।
चालू वर्षमा ८ दशमलव ५ प्रतिशत तल सिसिएआर कायम गरेका प्रभु र कुमारी बैंक लाभांश रोक्का कारबाहीको भागिदार भइसकेका छन्। बाँकी नबिल, हिमालयन र माछापुच्छ्रे बैंकलाई पनि ९ प्रतिशतमाथि सिसिएआर कायम गर्न ताकेता लगाउँदै क्यापिटल प्लान मागेको हो।
यी बैंकको प्राथमिक पुँजीकोष जुनसुकै बेला तोकिएको सीमाभन्दा तल झर्ने अवस्था छ। यसले गर्दा यी बैंकहरूले बुझाएको क्यापिटल प्लानअनुसार काम भए÷नभएको हेरेर पुनः ताकेता लगाइने ती अधिकारीले जानकारी दिए। ‘पुसमा ९ प्रतिशत तल सिसिएआर भएका बैंकहरूले बिजनेस गर्न सक्दैनन्। उनीहरूले अन्य बैंकलाई लोन स्वाप गरेर सेल गर्न मात्रै सक्छन्। क्यापिटल प्लानअनुसार अर्को त्रैमाससम्म काम गरेको हुनुपर्छ, अन्यथा सुपरिवेक्षकीय कारबाहीमा पर्छन्,’ उनले भने।
बैंकहरूले राष्ट्र बैंकमा क्यापिटल प्लान पेस गर्दा खर्च घटाउने, निक्षेप बढाउने, भएको ऋण अन्य बैंकलाई बिक्री गर्ने, गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने, कर्जा असुली योजनालगायत पेस गर्नुपर्नेछ। सिसिएआर ९ प्रतिशत तल भएका बैंकहरूले आफूसँग भएको ऋण अन्य बैंकलाई बिक्री गर्दा त्यसको प्रोभिजन रिर्भस हुने हुँदा पुँजी बढ्छ।
बैंकहरूले व्यवसाय विस्तारसँगै पुँजीको आकार पनि बढाउँदै जानुपर्छ। जति परिमाणको व्यवसाय विस्तार गर्दै जाने हो, सोहीअनुसारको जोखिम व्यवस्थापन गर्ने गरी पुँजी वृद्धि हुनुपर्छ। त्यसो नगर्दा बैंकिङ प्रणालीमै समस्या निम्तिने जोखिम आउन सक्छ।
राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांकअनुसार चालू वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै प्राथमिक पुँजी स्ट्यान्र्ड चार्टर्ड बैंकको १३ दशमलव २६ प्रतिशत छ। साथै, उक्त अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १० दशमलव ६४ प्रतिशत, एभरेष्ट बैंकको १० दशमलव ६१ प्रतिशत, प्राइम कर्मसियल बैंकको १०. दशमलव ५९ प्रतिशत, सानिमा बैंकको ९ दशमलव ९६ प्रतिशत, नेपाल बैंकको १० दशमलव ४३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १० दशमलव ३७ प्रतिशत र नेपाल एसबिआई बैंकको ९ दशमलव ६१ प्रतिशत सिसिएआर कायम छ।
चालू वर्षको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंकको ९ दशमलव ६६ प्रतिशत, सिद्धार्थ बैंकको ९ दशमलव ५१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९ दशमलव ८५ प्रतिशत र कृषि विकास बैंकको ११ दशमलव ४५ प्रतिशत प्राथमिक पुँजी कायम छ।