काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझावअनुसार संवाद परिषद्लाई थप सक्रिय पार्नुपर्नेमा जोड दिएका छन्।
आज नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं नुवाकोट महोत्सव उद्घाटन अवसरमा सहभागी अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायी तथा उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी छ। यसका लागि हामीले दिएको सुझावअनुसार प्रधानमन्त्रीज्यूले संवाद परिषद्लाई सक्रिय बनाउनुभएको छ। यसलाई थप सक्रिय बनाउन आवश्यक छ।’
स्थानीय मेला महोत्सवले अर्थतन्त्र र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताउँदै उनले यसलाई महासंघ विशेष महत्त्वका विभिन्न स्थान आयोजना गरेको जानकारी दिए।
‘मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धनमा, स्थानीय स्तरका व्यावसायिक गतिविधि बढाउन, स्थानीय वस्तु तथा सेवाको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। मेला महोत्सव महासंघका आफ्ना कार्यक्रम हुन्। महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भने।
अध्यक्ष ढकालले श्रीलंकामा देखिएको आर्थिक समस्यामा रहेर सरकार र अन्य नियामक निकायले लिएका नीति नियमका कारण अर्थतन्त्रलाई संकुचित गरेको उल्लेख गरे।
‘अहिले अर्थतन्त्रका सबै बाह्य सूचक ठीक छन्। विप्रेषण अहिलेसम्मकै धेरै आएको छ। वैदेशिक मुद्राको सञ्चिति पनि उत्तिकै बढेको छ। यति हुँदाहुँदै पनि उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताको मनोबन बढ्न सकेको छैन। त्यसैले निजी क्षेत्रको सुझाव र प्रधानमन्त्रीको अगुवाइमा सक्रिय संवाद परिषद्लाई थप सक्रिय बनाउँदै अर्थतन्त्रलाई गति दिन आवश्यक छ’, उनले भने।
धार्मिक, ऐतिहासिक कला–संस्कृतिको संवर्द्धन, दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन नारासहित आजबाट सुरु भएको सातौं नुवाकोट महोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे।